शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेनी–जोमसोम सडक : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

बुधबार, ०५ असोज २०७९, १४ : २६
बुधबार, ०५ असोज २०७९

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो । 

सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ रूप्से छहरा, काभ्रेभीर र बाँदरजुङगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको सो सडक हुँदै खाद्यान्न ढुवानीको व्यवसाय गर्दै आएका राज शर्माले बताए । यहाँ सामान्य वर्षा हुँदासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिराे खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने बेनीबाट खाद्यान्नका सामान मुस्ताङ लैजाने तथा नियमित जसो सो सडकमा ओहोरदोहोर गरिरहने चालक तीर्थ विकले जानकारी दिए ।

वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले  यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोंच छिचोलेर उर्लिंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरो रहेको बेनी–जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त छ । 

यो सडक २०६२÷६३ सालमा तत्कालीन शाही नेपाली सेनाले ट्र्याक खोलेपछि सञ्चालनमा आएको हो । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ ।

बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत चार वर्षदेखि स्तरोन्नति र गत वर्षदेखि कालोपत्रको काम सुरु भएको छ । तर, प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिरोको कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको दानाका श्याम विकले बताए ।

भीरकाटे र बादरजुङे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो  । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको छ । 

यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभाका निवर्तमान सदस्य प्रेमप्रसाद तुलाचनले बताए । उनका अनुसार २०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भएपनि संवेदनशील भूगोल र परम्परागत प्रविधिको प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ ।

कूल ७६ किलोमिटरको बेनी–जोमसोम सडकमा चार प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको भए पनि निर्माण कम्पनीले कार्यक्षेत्रमा उल्लेख्य मात्रामा उपकरण र जनशक्ति परिचालन गर्न नसकेको गुनासो सुनिँदै आएको छ । न्यून कामदार र उपकरण प्रयोग गरेर ठेकेदार कम्पनीले सडक स्तरोन्नति कार्यमा हेलचक्र्याइँ गरिरहेको गुनासो बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्र नेपालीका अनुसार जलेश्वर, राहुघाट, बैसरी, नौनीबगर, जलथले, रुप्से र काभ्रेभिरको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको हो । 

“कुन ठाउँमा कति बेला पहिरो खस्छ थाहै हुँदैन”, उनले भने, “खसेको पहिरो पन्छाउँदै सवारीसाधनलाई गन्तव्यमा पठाउँदै गरिएको छ ।” राहुघाटमा पहिरो खसेर सडक साँघुरिने र हिलोमा फस्ने समस्या छ । बैसरीमा सडक माथिबाट केही दिनयता निरन्तर पहिरो झरिरहेको छ । पहिरो खस्न रोकिएको समयमा सवारीसाधन पार गराउने गरिएको छ । 

अन्नपूर्ण गाउँपालिकाको नौनीबगर, जलथले, रुप्से र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा पनि पहिरोको समस्या छ । भिरालो र कमजोर भूगोल भएको म्याग्दी खण्डमा विस्तार गरिएको सडक भत्किएर हिलाम्मे बनेको छ । कालोपत्र गर्ने तयार भएको सडक पनि पहिरोले साघुरिएको छ । कतिपय ठाउँमा ट्रक र ठूला बस एकतर्फी मात्र आवतजावत गर्न सक्छन् ।

बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक विभाग र ठकेदार कम्पनीका डोजरलगायत उपकरणलाई तयारी अवस्थामा राखेर पहिरो पन्छ्याउने र यातायात सञ्चालन गर्ने गरिएको जानकारी दिए ।
म्याग्दीको रुप्सेबाट मुस्ताङको घाँसासम्मको खण्डमा धेरै पहिरोको समस्या देखिएको उनको भनाइ छ । दुई वर्षअघिको बाढीले रुप्से र घाँसाको खहरे खोलामा निर्माणाधीन पुलको जगनै बगाएको थियो । कागबेनीमा दिवङ्गत पितृलाई सोह्र श्राद्धमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजनको चाप बढ्न थालेको छ । 

यसैगरी मुस्ताङ भ्रमणको याम पनि सुरु भएको छ । सडकको समस्याले मुस्ताङमा उत्पादन भएको स्याउ र आलुलगायत कृषि उपज निकासीमा समस्या भएको छ । बाढी पहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप