तराई सिँचाइ र सहरी प्रसारण प्रणाली सुधारका लागि जापानले १४ अर्ब ऋण दिने
नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब रु. २ अर्ब) अनुदान सहायता र सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन १५९.०१ करोड (करिब रु १४.२ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्बन्धी दुई छुट्टाछुट्टै सम्झौतामा आज हस्ताक्षर सम्पन्न भएको छ ।
अनुदान सहायता मुख्यतया पूर्वी तराई क्षेत्रमा भरपर्दो र निरन्तर सिँचाइ सुविधाका लागि चन्द्र नहर सिँचाइ प्रणालीको मर्मत सम्भार एवम् सुधारका लागि प्रयोग गरिनेछ । त्यसैगरी, वार्षिक ०.०१ प्रतिशत ब्याजदर, ३० वर्षको भुक्तानी अवधि र १० वर्षको ग्रेस अवधि रहेको सहुलियतपूर्ण ऋण काठमाडौँ र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घटाउन र वितरण प्रणालीको विश्वसनीयता बढाउनका लागि प्रयोग गरिनेछ ।
नेपाल सरकारका तर्फबाट अर्थ सचिव कृष्णहरि पुस्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गरेका हुन् । अनुदान तथा ऋण सम्झौतामा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरी प्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका थिए ।
अर्थ सचिवले आफ्नो मन्तव्यमा यी दुई आयोजनाको कार्यान्वयनबाट नेपालमा सिँचाइ सुविधाको सुधार गर्न तथा विद्युत् आपूर्तिको विश्वसनीयता बढाउन र प्रसारण चुहावट कम गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए । उनले नेपालको सामाजिक-आर्थिक एवम् मानव संसाधन विकासमा जापान सरकारबाट प्राप्त भइरहेको निरन्तर सहयोगको प्रशंसा गर्दै दुई देशबीचको लामो र सुमधुर सम्बन्ध तथा विकास साझेदारी अझ नयाँ उचाइमा पुग्ने विश्वास समेत व्यक्त गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन
-
विपदको कहरः ललितपुरको बिजुली नियमित गर्न टोली परिचालन
-
अमेरिकामा ममता काफ्ले बेपत्ता प्रकरण : के गर्दैछ प्रहरी ?
-
बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित
-
नक्कली तोरीको तेलमा खाना पकाउँदै त हुनुहुन्न, कसरी चिन्ने ?
-
चाडपर्व लक्षित बजार अनुगमनः दुई सातामा १२८ व्यावसायिक फर्ममा अनुगमन