आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

सिधै किन्दा महँगो पर्‍यो, अब हिउँदमा विडिङमार्फत विद्युत् किन्छौँ :  कुलमान

बुधबार, ०५ असोज २०७९, १३ : ११
बुधबार, ०५ असोज २०७९

काठमाडौं । भारतबाट आयात गर्ने विद्युत‍्को मूल्य बढी पर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले अर्को बाटो रोजेको छ । प्रतिस्पर्धात्मक प्रक्रियाबाट विद्युत् खरिद गर्दा सस्तो पर्ने देखिएपछि प्राधिकरणले विडिङमार्फत विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।

नेपालको लागि हिउँद महिनामा आवश्यक पर्ने विद्युत् भारतबाट प्रत्यक्ष रूपमा खरिद गर्दा महँगो पर्ने भएपछि विडिङ मार्फत आयात गर्न लागिएको हो । नेपाललाई पुसदेखि ५ महिनाको लागि आवश्यक पर्ने विद्युत् प्रतिस्पर्धात्मक माध्यमबाट खरिद गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘विगतका दिनमा हामीले बी–टू–बी (बिजनेस टू बिजनेस) प्रक्रियाबाट खरिद गर्ने गरेका थियौँ, यसरी खरिद गर्दा यसपालि महँगो पर्ने देखियो, त्यसैले प्रतिस्पर्धात्मक प्रक्रियाबाट विद्युत् आयात गर्ने प्रक्रिया अघि बढाएका छौँ,’ कार्यकारी निर्देशक घिसिङले रातोपाटीसँग भने ।

नेपालमा वर्षाको समयमा विद्युत् उत्पादन बढी भए पनि हिउँदको समयमा कम विद्युत् उत्पादन हुने गरेको छ । विद्युत् उत्पादन कम हुने हिउँदको समयमा नै नेपालमा विद्युत्को माग बढी हुने गर्छ । यसै कारण प्राधिकरणले हिउँदमा भारतबाट विद्युत् खरिद गर्ने गरेको छ वर्षाको समयमा भारतमा विद्युत् निर्यात गर्ने गरेको छ । 

प्राधिकरणले खुलाएको विडिङमा भारतीय विद्युत् व्यापार गर्नेहरूले भाग लिन पाउने छन् । यसरी प्रतिस्पर्धाको माध्यमबाट विद्युत् खरिद गर्दा कति मूल्यसम्ममा पाइन्छ भन्ने यकिन भने भएको छैन । प्राधिकरणले गत वर्ष सबैभन्दा सस्तो भनेको प्रतियुनिट ४ रुपैयाँ १६पैसा भारुमा विद्युत् खरिद गरेको थियो भने महँगोमा ३६ रुपैयाँसम्म परेको थियो ।

विद्युत् माग बढी हुने समयमा नेपालमा विद्युत्को उपलब्धतालाई आधार बनाएर आयातको टेण्डर खुल्ला गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । उनका अनुसार पुस महिनादेखि प्राधिकरणले भारतबाट विद्युत् खरिद गर्नेछ ।

‘पुसदेखि ३ महिनासम्ममा हामीले २ सय मेगावाट विद्युत् खरिद गर्ने हो, त्यसपछि चैत र वैशाख महिनामा ३ सय मेगावाट विद्युत् खरिद गरिन्छ, अहिले यसैको लागि विडिङ खुल्ला भएको हो, सस्तो दर प्रस्ताव गर्नेसँग हामीले विद्युत् खरिद गर्छौँ,’ कार्यकारी निर्देशक घिसिङले थपे ।

प्राधिकरणले नेपालमा बढी भएको विद्युत् भारत निकासी गर्न पनि थालेको छ । प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत् बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत् बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ । 

हरेक महिना विद्युत् निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु) नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘चालु आवमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौँ, मङ्सिरको पहिलो हप्तासम्म विद्युत् निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौँ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

थप १०० मेगावाट निर्यात प्रस्ताव

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत्  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । 

प्राधिकरणले केही दिनअघि ४ जलविद्युत्गृहबाट उत्पादित विद्युत‍्लाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो । यसअघि प्राधिकरणले ४ जलविद्युत आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत् निर्यात अनुमतिका लागि प्रस्ताव पेस गरेको थियो । थप ४ जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत् निर्यातका लागि प्रस्ताव पेस गरेको हो । 

निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युतगृहबाट उत्पादित १००.९ मेगावाट विद्युत् निर्यातको प्रस्ताव गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला,  २२.१ मेगावाटको चिलिमेको विद्युत् गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेस गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप