शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राजु श्रीवास्तव : सङ्घर्षका दिनमा अटो चालक बने, यात्रीले नै दिलाएका थिए उद्योगमा पहिलो काम

बुधबार, ०५ असोज २०७९, १२ : १९
बुधबार, ०५ असोज २०७९

चर्चित हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । अगस्ट १० मा जिम गर्ने क्रममा राजुलाई हृदयाघात भएको थियो, त्यसपछि उनलाई दिल्लीको एम्समा भर्ना गरिएको थियो । उपचारको क्रममा राजुको अवस्था स्थिर भएपनि पछि झन् बिग्रियो । एक महिनाभन्दा बढी भेन्टिलेटरमा बसेका हास्य कलाकारको आज (बुधबार) निधन भएको छ ।

राजु श्रीवास्तव भारतका सबैभन्दा लोकप्रिय र मनपर्ने हास्य कलाकार मध्ये एक थिए । कहिले रियालिटी शोमा उत्कृष्ट प्रस्तुति दिएर जनतालाई काउकुती लगाइदिए त कहिले फिल्ममार्फत् मनोरञ्जन दिए । राजु सफल सेलिब्रेटी भए तर उनको सुरुवाती करियर निकै उतार–चढावयुक्त रह्यो ।

कानपुरको एक मध्यमवर्गीय परिवारमा जन्मिएदेखि सफलतासम्म, राजुको जीवनबारे केही जानकारी लिऔँ ।

मध्यम वर्गीय राजु सानैदेखि हास्य कलामा माहिर थिए

राजु श्रीवास्तव कानपुरको एक मध्यमवर्गीय परिवारमा जन्मेका थिए । बाल्यकालमा, उनको नाम सत्य प्रकाश थियो, जुन पछि गएर राजु श्रीवास्तव बन्यो । उनका बुबा रमेश चन्द्र श्रीवास्तव सरकारी कर्मचारी थिए र शौकको रूपमा कविता लेख्ने गर्दथे । बिदाको समयमा उनका बुबा कवि सम्मेलनमा भाग लिने गर्दथे । उनका पितालाई बलाई काकाको नामले चिनिन्थ्यो ।

मानिसहरूलाई मनोरञ्जन दिने सीप राजुले बुबाबाट पाएका थिए । सानैदेखि राजुले घरमा आएका पाहुनाको अगाडि नक्कल गर्ने गर्थे र विद्यालयमा शिक्षकको नक्कल गरेर मानिसहरूलाई धेरै हँसाउने गर्थे । धेरै शिक्षकले उनलाई ‘यस्तो के गरेको’ भनेर सजाय दिने गर्थे तर एक जना शिक्षकले उनलाई हौसला दिएर कमेडीमा करियर बनाउन सल्लाह दिए ।

मानिसहरूले राजुलाई स्थानीय क्रिकेट खेलहरूमा कमेन्ट्री गर्न सल्लाह दिए । यससँगै उनले आत्मविश्वासका साथ जनतासामु आफ्नो सीप प्रस्तुत गर्न थाले । उनी बाल्यकालदेखि नै कमेडियन बन्न चाहन्थे तर वास्तवमा उनको प्रेरणा अमिताभ बच्चन नै थिए । बिग बीको फिल्म दिवार हेरेपछि राजुले अभिनेता बन्ने निर्णय गरे ।

कमेडियन बन्ने सपना बोकेर मुम्बई आएका थिए

राजु बाल्यकालदेखि नै अभिनय र कमेडीमा आफ्नो स्थान बनाउन चाहन्थे, जसको लागि उनी सन् १९८२ मा लखनउ छोडेर सपनाको शहर, मुम्बई गए । त्यहाँ बस्न घर थिएन, खानलाई पैसा थिएन । घरबाट पठाएको पैसा कम हुन थालेपछि राजु अटो चालक बने । राजु आफ्ना ग्राहकलाई पनि हसाउँथे । मुम्बईमा राजुले करिब ४–५ वर्ष संघर्ष गर्नुपरेको थियो ।

यात्रीले नै दिलाएका थिइ कमेडीमा पहिलो ब्रेक

एक दिन एक यात्रीले राजुको शैलीबाट प्रभावित भएर उनलाई स्टेज प्रस्तुति दिन आग्रह गरे । राजु राजी भए र प्रस्तुति दिए, यसका लागि उनलाई ५० रुपैयाँ दिइयो । त्यसपछि राजुले लगातार स्टेज शो गर्न थाले ।

अमिताभ बच्चन जस्तो देखिँदा पहिचान पाए

राजु श्रीवास्तव स्टेज शो गर्दा अमिताभ बच्चनको नक्कल गर्थे । यहीँबाट मानिसहरूले उनको लुकलाई अमिताभ बच्चनसँग तुलना गर्न थाले ।

स्टेज शो गर्दा उद्योगका मान्छेसँग चिनजान बढ्दै गयो, त्यसपछि फिल्ममा स–साना भूमिका पाउन थाले । राजु पहिलो पटक सन् १९८८ मा फिल्म तेजाबमा देखा परे । त्यसपछि उनले करिब १९ चलचित्रमा अभिनय गरे ।

कसरी सुरु भयो हास्य कलाकार बन्ने यात्रा

राजु श्रीवास्तव पहिलो पटक १९९४ को शो टी टाइम मनोरञ्जनमा देखिए । त्यसपछि उनले द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जको पहिलो सिजनमा भाग लिए । यस शोमा राजुले तेस्रो स्थान हासिल गरे जसले उनलाई देशैभर चिनाएको थियो । यसपछि राजु कमेडी का महा मुकाबला, कमेडी सर्कस, देख भाई देख, लाफ इन्डिया लाफ, कमेडी नाइट विथ कपिल, द कपिल शर्मा शो र ग्याङ्ग्स अफ हसीपुर जस्ता शोको हिस्सा भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप