पन्जाबका मुख्यमन्त्री रक्सीले धुत भएकाले विदेशमा विमानबाट झारिएको विपक्षीको आरोप
पन्जाबका विपक्षी नेता प्रताप सिंह बाजवाले मुख्यमन्त्री भगवन्त मान जर्मनीमा विमानबाट ओरालिएको कारणबारे छानबिन गर्न केन्द्र सरकारसँग माग गरेका छन् । मुख्यमन्त्री भगवन्त मान सेप्टेम्बर ११ देखि १८ सम्म जर्मनीको भ्रमणमा थिए ।
उनी आइतबार राति देश फर्किएका छन् । तर उनी फर्कनुअघि यता देशमा उनको विषयमा विवाद सुरु भइसकेको थियो । फ्र्याङ्कफर्टबाट दिल्ली आउन लागेको विमानबाट उनलाई ओरालिएको केही सञ्चारमाध्यमको दाबी छ । जसले गर्दा उनी आइतबार अर्को उडान फर्किउनु परेको तिनले बताएका छन् ।
तर, पञ्जाब सरकार सम्बद्ध अधिकारीले भने यी दाबीहरूलाई खारेज गर्दै भगवन्त मानको स्वास्थ्य बिग्रिएपछि अर्को दिनको विमान लिएको बताएका छन् । वायुसेवा सञ्चालक कम्पनी लुफ्थान्साले विमान परिवर्तनका कारण उडान ढिला भएको बताएको छ । लुफ्थान्साले ट्विट गर्दै भनेको छ ,‘ हाम्रो फ्रान्कफर्टबाट दिल्लीको उडान समयमा उडेन । यसमा ईन्बाउन्ड फ्लाईट र विमान परिवर्तन मुख्य कारण ढिलो थियो ।’
विपक्षीको विरोध
शिरोमणि अकाली दलले यस विषयमा भगवन्त मान र अरविन्द केजरीवालसँग स्पष्टीकरण मागेका छन् । कांग्रेस नेता बाजवाले केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियालाई पत्र लेखेर यस विषयमा छानबिन गर्न माग गरेका छन् ।
बाजवाले लेखेका छन् ,‘ सोसल मिडियामा आएको चर्चा अनुसार भगवन्त मानलाई सेप्टेम्बर १७ मा फ्राङ्कफर्ट एयरपोर्टमा लुफ्थान्साको विमानबाट ‘डिबोर्ड’ गरिएको थियो । उनी हवाई यात्राको लागि अयोग्य रहेकाले त्यस्तो कदम चालिएको बताइन्छ । यदि यो सत्य हो भने भगवन्त जुन पदमा छन्, त्यसको गरिमा विरुद्ध हो । यसैले यस विषयमा छानबिन हुनुपर्छ ।’
पञ्जाबको विपक्षी शिरोमणि अकाली दलका अध्यक्ष सुखबीर सिंह बादलले ट्वीट गर्दै लेखेका छन् ,‘ पञ्जाबका मुख्यमन्त्री भगवन्त सिंह मानको बारेमा चिन्ताजनक रिपोर्ट बाहिर आएको छ । उनी चढेकै विमान रहेका अन्य यात्रुका अनुसार मानले हिड्न समेत नसक्ने गरी मदिरा पिएका कारण लुफ्थान्साले उनलाई ओरालिदिएको थियो । यो घटनाले विश्वभरका पञ्जाबहरूलाई बदनाम र अपमानित बनाएको छ ।’
दिल्ली कांग्रेसले पनि यस विषयमा ट्वीट गर्दै पंजाबका मुख्यमन्त्रीलाई नशाका कारण विमानबाट निकालिएको आरोप लगाएको छ । आम आदमी पार्टीका प्रवक्ता मलविन्दर सिंह काङले पत्रकार सम्मेलन गरेर यी आरोप निराधार र झूटा भएको बताएका छन् ।
भगवन्त मानविरुद्ध विगतमा पनि रक्सी पिएको आरोप लाग्ने गथ्र्यो । सन् २०१६ मा आम आदमी पार्टीका पूर्व नेता हरिन्दर सिंहले लोकसभा अध्यक्ष सुमित्रा महाजनलाई आफ्नो सीट परिवर्तन गर्न अनुरोध गरेका थिए । छेउमा बस्ने मानले मदिरा सेवन गरेर संसद बैठकमा उपस्थित हुने गरेको उनले आरोप लगाएका थिए । उनले सभामुखलाई लेखेको पत्रमा ‘मदिराको गन्ध आएकाले आफू भगवन्त मानको छेउमा बस्न नसक्ने’ भनेका थिए ।
रक्सी त्याग्ने घोषणा
जनवरी २०१९ मा बरनालामा आयोजित ¥यालीमा भगवन्त मानले रक्सी त्याग्ने घोषणा गरेका थिए । ¥यालीमा भागवन्त मानले भनेका थिए ,‘ विपक्षीले मैले दिनरात रक्सी पिउने गरेको आरोप लगाउँछन् । हो, म पहिले अलिअलि पिउँथे । तर अब म त्यो पनि छाड्ने सार्वजनिक घोषणा गर्दैछु । ममाथि अब कसैले पनि आरोप लगाउन सक्दैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसवादी दललाई सहकार्यका लागि हृदयेश त्रिपाठीको आह्वान, वार्ता समिति पनि गठन
-
नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्छ : प्रचण्ड
-
मृत्युदण्ड पर्खिरहेका ३७ जनालाई बाइडेनले दिए राहत
-
सातदोबाटोमा जीवनराम भन्दा पहिला प्रहरी पुगेपछि अध्यक्ष पद हत्याउने योजनामा धक्का
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुला गर्न कार्यदल गठन
-
सर्वसाधारणका लागि खुल्यो चुरियामाई सुरुङमार्ग (तस्बिरहरु)