‘द कश्मीर फाईल्स’, ‘आरआरआर’हरुलाई पन्छाउँदै गुजराती फिल्म ‘चेलो शो’ ओस्कारमा
भारतले गुजराती भाषी फिल्म ‘चेलो शो (द लास्ट शो)’लाई सन् २०२३ को ओस्कार अवार्डको ‘उत्कृष्ट विदेशी फिचर फिल्म’ विधाको लागि पठाउने भएको छ । पान नलिनद्वारा लिखित तथा निर्देशित यस फिल्मले फिल्म हेर्न हुरुक्कै हुने भारतको ग्रामिण भेगको एक जवान केटाको कथा भन्छ ।
फिल्मले सिंगल स्क्रिन सिनेमा संस्कृतिलाई राम्रोसँग देखाइएको छ । ११० मिनेटको फिल्म चेलो शोको छनौटले ती सबै फिल्म–विश्लेषकलाई चकित पारेको छ, जसले आरआरआर वा द कश्मीर फाइलमध्ये एक ओस्कारका लागि मनोनित हुने अनुमान गरिरहेका थिए । भारतीय फिल्म महासंघले आज नै भारतबाट ‘चेलो शो’लाई ओस्कार २०२३ का लागि पठाउने आधिकारिक घोषणा गरेको हो । चलचित्र चेल्लो शोका निर्देशक पान नलिनले सामाजिक सञ्जालमा ट्वीट गर्दै खुशी व्यक्त गरेका छन् ।
फिल्मको छायांकन मार्च २०२० मा सम्पन्न भएको थियो र छायांकन सकिएलगत्तै भारतभर लकडाउन भएको थियो । फिल्मको पोस्ट–प्रोडक्सनको काम कोरोना महामारीका समयमै सकिएको थियो । फिल्मको प्रिमियर १० जुन २०२१ मा २० औं ट्रिबेका फिल्म फेस्टिभलमा भएका थियो । त्योसँगै फिल्म विदेशी फेस्टिबलमा प्रदर्शन हुने पहिलो गुजराती फिल्म बनेको थियो ।
भारतबाट औपचारिक छनौटको लागि एसएस राजामौलीको आरआरआर, विवेक अग्निहोत्रीको फिल्म द कश्मीर फाइल्स, फहाद फाजिलको फिल्म मलायनकुञ्जु र साउथ अभिनेता नानीको फिल्म श्याम सिंह रोयलगायत धेरै ठूला फिल्महरू दौडमा थिए । तर, निर्णायक मण्डलले ओस्कारको आधिकारिक नामांकनका लागि ‘चेल्लो शो’ छनोट ग¥यो ।