बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जुम्लामा सुपथ मूल्य पसल सञ्चालन

मङ्गलबार, ०४ असोज २०७९, १९ : ३७
मङ्गलबार, ०४ असोज २०७९

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले असोज १ गतेदेखि सुपथ खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ । दसैंका लागि प्रतिकिलो रु सात कम गरी खाद्यान्न वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख निर्मल विष्टले जानकारी दिए ।

नयाँ दररेटमा आगामी कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने  छ । उनले भने, “आइतबार मात्रै सहुलियत पसलबाट चार सय नागरिकले चामल लिएका छन् । खाद्यान्नमा छुट पाएपछि यहाँका नागरिकलाई राहत पुगेको छ । छ प्रकारका चामल र तीन प्रकारको दालमा छुट दिएका छौँ ।” 

प्रमुख विष्टका अनुसार सहुलियत पसल सञ्चालनका लागि एक  हजार दुई सय क्विन्टल चामल स्वीकृत भएको छ । बासमती चामल, अरुवा मोटो चामल, अरुवा मध्यम चामल, सोना मन्सुली चामल, स्टिम जिरा मसिनो चामल र मकवानपुर चामल तथा मासको दाल, अरहरको दाल र मुसुरोको दालमा छुट दिइएको छ । 

नजिकिँदै गरेको दसैँमा जुम्लामा खाद्यान्न अभाव नहुने भएको छ । चालु आवमा जुम्लाका लागि छ हजार क्विन्टल चामल स्वीकृत भएको छ । हालसम्म एक हजार २० क्विन्टल चामल ढुवानी भइसकेको विष्टले जानकारी दिए । दसैँ तिहारका लागि मात्रै नौ सय ७० क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप