बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘मेक्सिकोमा सेप्टेम्बर १९ भन्नासाथ भूकम्प जाने दिन भन्ने हुँदैछ’

मङ्गलबार, ०४ असोज २०७९, १८ : १२
मङ्गलबार, ०४ असोज २०७९

मेक्सिकोमा सोमबार ७.६ रेक्टर शक्तिशाली भूकम्प गयो । हालसम्म एक जनाको मृत्यु भएको यस प्रकोपले देशमा डरको माहौल सिर्जना गरेको छ । सोमबारको भूकम्प सन् १९८५ र सन् २०१७ मा भूकम्प आएकै दिन आएकाले मानिसहरु थप आतंकित बनेका थिए  । 

सोमबार स्थानीय समय दिउँसो १ बजे भूकम्प मिचोआक्यान र कोलिमाको सिमा लाई केन्द्रबिन्दू बनाएर गएको थियो । युएसजीएसका अनुसार जमिनभन्दा १५ किमीको गहिराईबाट आएको भूकम्पले त्यति धेरै क्षति गराएको भने छैन ।
भूकम्पले राजधानी सहरमा ठूलो क्षति नभएको सहरका मेयर क्लाउडिया शेइनबोमले बताए ।  तथापि मान्जिनिलो क्षेत्रमा एक जना व्यक्तिको मृत्यु भएको सरकारले बताएको छ । भूकम्प गएको दिनको संयोगले धेरैलाई अचम्मित बनाएको छ । सन् १९८५ र २०१७ सेप्टेम्बर १९ मा मेक्सिकोलाई ठूलो भूकम्पले धक्का दिएको थियो । 
मेक्सिकोका केही मानिसहरुले सेप्टेम्बर १९ को दिनले अब डर लिएर आउने बताउन थालेका छन् । 

सन् २०१७ सेप्टेम्बर १९ मा गएको ७.० रेक्टर स्केलको भूकम्पमा ३५० को मृत्यु भएको थियो भने सन् १९८५ को त्यो भन्दा बढी घातक थियो । ८.० रेक्टर स्केलको उक्त भूकम्पमा झण्डै ५००० को ज्यान गएको थियो । 
‘यो त श्रापित दिनजस्तो भयो ,’ मेक्सिकोकी ३४ वर्षिय ग्राफिक डिजाईनर ईसा मोन्टेसले भनिन् । 

मेक्सिकोको सबैभन्दा प्रतिष्ठितमध्ये एक शैक्षिक संस्थान नेसनल अटोनोमस युनिर्भसिटी अफ मेक्सिकोले तीन भूकम्प एकै दिन आउनु संयोग मात्र भएको बताएको छ । 
‘१९ सप्टेम्बर भन्ने दिनमै केही त्यस्तो छ, जसले यसलाई डराउनुपर्ने दिन बनाइदिएको छ,’ चोहटेमोक क्षेत्रका व्यवसायी एनेस्टो लान्जेटाले भने । 

सोमबार मेक्सिको सिटीमा मध्यान्हमा अघिल्ला भूकम्पको सम्झनामा आपतकालिन ड्रिल(पूर्वाभ्यास) गरिएको थियो । त्यसको एक घण्टामै भूकम्प आउन लागेको पूर्वसूचना स्वरुप साईरन बजेको थियो । 
भूकम्पका कारण देशका धेरै स्थानमा घरहरुमा क्षति पुगेको छ भने कयौं स्थानमा विद्युत प्रसारण अवरुद्ध भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप