शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल चिकित्सक संघको राष्ट्रिय सम्मेलनमा सात विषयमाथि छलफल

मङ्गलबार, ०४ असोज २०७९, १६ : ३३
मङ्गलबार, ०४ असोज २०७९

नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेर सुरु गरेका हुन् । संघले ‘महामारीपछिको चुनौती, उपलब्धि र अवसर’ विषयमा केन्द्रित रहेर सम्मेलनको आयोजना गरेको हो ।

बबरमहलस्थित कार्की व्यांकेटमा आयोजित सम्मेलनमा विभिन्न सात विषयमा छलफल हुनेछ । सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो दिन बुधवार चार वटा विषयमा छलफल हुनेछ । सम्मेलनको पहिलो दिन संघको ‘पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि’, ‘सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर’ र ‘चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा’ विषयमा छलफल हुनेछ ।

यस्तै बुधवार, ‘महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरू’, ‘खोप, औषधि र उपकरणहरूको उचित भण्डारण, ढुवानी र वितरण’, ‘नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना’ र ‘चिकित्सा शिक्षामा असर र अवसर’ विषयमा छलफल हुनेछ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन सम्मेलनमा हुने छलफल निकै महत्त्वपूर्ण हुने बताए । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश संभाजीराव पाण्डवले कोभिड महामारीको अन्त्य भइनसकेकाले अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए । 

संघका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्यको नीति निर्माण तहमा योगदान पुर्याउन सम्मेलनको आयोजना गरिएको जानकारी दिए । सम्मेलनमा आयोजक समितिका अध्यक्ष डा अन्जनीकुमार झाले समसामयिक र नेपालको विद्यमान परिस्थितिसँग सुहाउँदिलो विषयहरू सम्मेलनमा छलफलका लागि छनोट गरिएको बताए । 

दोस्रो सम्मेलनमा देशभरबाट पाँच सयभन्दा बढीको सहभागिता रहेको छ । जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन सुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रूपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप