आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

डेढ वर्षदेखि ‘ह्युमपाइप’ मै बास

मङ्गलबार, ०४ असोज २०७९, १५ : २७
मङ्गलबार, ०४ असोज २०७९

गणतन्त्र र संघीयतासहितको व्यवस्था गरेर जारी भएको नेपालको संविधान कार्यान्वयन भएको ७ वर्ष पुगेको छ । यसको उपलक्ष्यमा सोमबार राज्यले हर्षबढाइँ गरेर खुल्लामञ्चमा गणतन्त्र दिवस मनायो । तर, मोरङ पथरीशनिश्चरे–५ का लगभग ५० वर्षीय उल्टा ऋषिदेवलाई न त गणतन्त्रले छोयो, न उनको जीवनयापन नै सहज छ ।

संविधानले गाँस, बास र कपासलगायत मौलिक अधिकार सुनिश्चित गरेको छ । तर उल्टा ऋषिदेवको गाँसको टुङ्गो छैन, कपासको जोहो छैन, बास भने सडकको किनारामा फालिएको ह्युमपाइप मै छ । उनी यसैमा रात कटाउँछन् ।

उनी सुनवर्षी–२ स्थित सुगा बजारको सडक किनारको ह्युमपाइपलाई नै घर बनाउँदै आएका छन् । होम पाइपभित्र केही कपडाको पोका छन् । पाइपको छेउमा खाना पकाउने तीनवटा ढुङ्गाको चुल्हो छ । भाँडावर्तनको नाममा एउटा कराइ र सिल्भरको जग, एक थान सिल्भरको थाल र स्टिलको कचौरा तथा केही प्लाष्टिकका बोतल छन् ।

उनी दैनिक दिउँसो माग्न जान्छन्, बटुलेर ल्याएको चिज पकाएर खान्छन् र रात ह्युमपाइपमै बिताउँछन् । तर, अहिले उनी हाइड्रोसिल भएर थलिएका छन् । माग्न जान पनि सक्दैनन् र उपचारका लागि जानुपर्छ भन्ने आँट पनि उनीसँग छैन ।

स्थानीय सञ्चारकर्मी वीरेन्द्रकुमार साहका अनुसार उनको परिवारका कोही पनि सदस्य छैनन् । उनी विगत एक हप्तादेखि बिरामी परेका छन् । २० अगाडि उनकी श्रीमती मंगली ऋषिदेवले उनलाई छोडेर हिँडिन् । उनको घर पहिले पथरीशनिश्चरे ५–को मुसहरी टोलमा थियो ।

अर्काको जग्गामा घर बनाएर बसेका उनी र उनको भाइसहितको परिवारलाई त्यहाँबाट हट्न जग्गाधनीले भनेपछि भाइ भदैया ऋषिदेवले घरका सरसामान सबै लिएर गए । कहिलेकाहीँ भाइको घरमा, कहिले कता बस्दै आएका उनी डेढ वर्ष अगाडिदेखि भने ह्युमपाइपलाई स्थायी बासस्थान बनाएर बसेका छन् ।

उनका भाइको ४÷५ महिना अगाडि क्यान्सरको कारण मृत्यु भयो । उनको उपचारका लागि आफूले सहयोग गरे पनि बचाउन नसकेको सञ्चारकर्मी वीरेन्द्रकुमार साहले बताए । अहिले उल्टा ऋषिदेव पनि उपचार अभावले छट्पटाइरहेका छन् । उनको उद्धारका लागि सहयोग गर्न साहले अपिल गरेका छन् ।

तस्बिर सौजन्य : वीरेन्द्रकुमार साह

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप