बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यमान अवस्थामा परिवर्तन आवश्यक

मङ्गलबार, ०४ असोज २०७९, १४ : ४५
मङ्गलबार, ०४ असोज २०७९

नेपाल प्राकृतिक रुपमा सम्पन्न, मनमोहक तथा सबै चिजबस्तुले भरिभराउ छ । विडम्वना नेपालको यो सुन्दरता, मौलिकता तथा प्राकृतिक श्रोतसाधनको संरक्षण, उपयोग र परिचालन गर्न नसक्दा अर्काको देशमा मजदुरी गर्नका लागि नेपालीहरु लाइन लागेका छन् । आफ्नै देशको माटोमा सुन फलाउने आँट र साहस पो कहिल्यै पलाउने होला ? हाम्रा शासकहरु आफनो देशको विकासका लागि सबै मानिसहरुलाई संगै लिएर कहिले अघि बढ्ने होलान् ?

नेपाली युवाहरु विदेशको तातो मरुभूमिमा जोखिमपूर्ण श्रम गर्दा जीवन समाप्त गर्ने खेलहरु कसरी समाप्त होला ? नेपालमा शिक्षा, स्वास्थ्य रोजगार जस्ता आधारभूत अधिकारहरुको सुनिश्चितता कहिले हुन सक्ला ? सानोतिनो विरामीका लागि छिमेकी मुलुक भारत जानुपर्ने अवस्थामा कसरी सुधार आउला ?

नेपालमा स्वास्थ्य क्षेत्रमा सरकारको ठूलो लगानी छ तर त्यहाँ न त आवश्यक स्वास्थ्य विशेषज्ञहरु छन्, न त यन्त्रउपकरणहरु नै । सामान्य उपचारका लागि पनि छिमेकी मुलुक भारत जानुपर्ने वा राजधानी काठमाडौं धाउनुपर्ने अवस्थामा कुनै परिवर्तन आएको छैन । हामी नेपालको समृद्धिको कुरा सुनिरहेका छौ तर त्यसका लागि कुनै योजना र ब्यवस्थापनको सुरुवात कही कतै पनि भेटिदैन । नेपालका युवाहरु विदेशमा नगई दुई छाक टार्न नसक्ने अवस्थामा पुगेका छन् ।

देशभन्दा बाहिर गएर जोखिमपूर्ण श्रम गर्दा अनेक थरीको यातनापूर्ण काममा संलग्न युवा जनशक्ति रहरले बाहिरिएको होइन, देशभित्र श्रम गर्नका लागि आवश्यक श्रम बजारको अभावमा उनीहरु विदेशिने गरेका छन् । र, आवश्यक ज्ञान, सीप र क्षमताको अभावमा युवाहरुले जोखिमपूर्ण श्रम गर्दागर्दै जीवन गुमाउन वा अंगभंग भएर स्वदेश फर्किनुपर्ने बाध्यता भोगिरहेका छन् । यो पीडादायी अवस्थाको अन्त्य कहिले र कसरी हुन सक्छ ? चिन्ताको विषय बन्दै गैरहेको छ ।

अस्पतालमा डाक्टर बस्ने भए, आफ्नै देशमा काम गरेर खान पाइने भए, गरीबहरुका लागि कार्यक्रम हुने भए, औषधी उधारोमा पाउने भए नेपालमा गरीब मानिस नै हुने थिएनन् । मानिसहरुको जीवन त यहाँ जनावरहरुको भन्दा पनि सस्तो छ । कोही खान नपाएर मरोस्, कोही औषधी नपाएर मरोस्, कोही काम र अवसर नपाएर मरोस्, केही पनि फरक पर्दैन ।

केही नेताहरुले जागिर पाएकै छन्, सरकारी कर्मचारीहरुले कमाएकै छन् । देशका काम गर्ने उमेरका युवाहरु विदेश पलायन भएर दैनिक जीवनयापनका लागि पैसा पठाइरहेका छन् र हाम्रो देश चलिरहेको छ । विदेशमा गएर जीवन गुमाएका युवाहरुको के मूल्य छ र यो देशमा ?

गरिबी निवारण मन्त्रालय, गरिबी निवारण कोषले काम गर्न थालेको धेरै वर्ष भयो, खै त गरिबी घटेको ? यहाँ त गरीबका नाममा गरिने कार्यक्रम पनि गरीबकहाँ पुग्दैनन् । अनि कसरी हुन्छ यो देशमा विकास ?  दैनिकजसो भ्रष्टाचार गरेको आरोपमा अख्तियारले समातेको समात्यै छ तर भ्रष्टाचार सकिएको छैन । जहाँ गए पनि पैसा नलिई काम हँुदैन । कस्तो शासन ब्यवस्था आयो यो देशमा ? लोकतन्त्र गणतन्त्र के के आएको छ भन्छन् तर खै हामी जस्ता गरीबको जीवनमा त्यसले कही कतै पनि छुन सकेको छैन ।

कामका लागि खाडी वा भारत नपसी सुख्खै छैन । गाउँघरमै कामकाजका लागि उद्योग, कलकारखाना खोल्ने काम कसैले गर्दैन । रोजगारीको अभावमा देशको युवा जनशक्ति सबै विदेशमा छन् । घरमा विरामी भएका अभिभावकहरुको उपचार गर्ने र मरेपछि मलामी जाने मान्छेहरु छैनन् । भएका खेत खलियान बाभैm हुन थालेका छन । उत्पादन हुन छोडेको छ । कसरी हुन्छ मानिसहरुको जीवनमा परिवर्तन ?

विदेशमा गएर बहुत राम्रो कमाई हुन्छ भन्ठान्नेहरुका लागि यो एउटा असल पाठ बनिदिए हुन्थ्यो । विरानो देशमा गएर जोखिमपूर्ण श्रम गरेर बाँच्दाको कठिनाई र पीडा गर्नेहरुलाई थाहा हुन्छ । मानिसहरु ठान्छन्, विदेशमा गएर बहुत आनन्दका साथ कमाएका छन् भनेर । आफ्नो जीवन जोखिममा राखेर काम गर्नुपर्छ, त्यसमा पनि धेरैजसो स्थानमा न त उपचार गर्छन्, न त इन्स्योरेन्सको ब्यवस्था गरिएको हुन्छ । धेरै थोरै नेपालीहरुले मात्रै यस्तो सुविधा पाउँछन्, धेरैजसो नेपाली श्रमिकहरुलाई यसको वारेमा थाहै हुँदैन ।

महिनामा तीन चारजनाको शव नेपाल पठाउनु पर्दाको पीडा भुक्तभोगीलाई थाहा हुन्छ, मरेको मानिसलाई आफनो देश पठाउनका लागि समेत महिनौ दिन विभिन्न झण्झट ब्यहोर्नुपर्छ, कतिपयलाई नेपाल पठाउन समेत गाह्रो हुन्छ, अनि घरमा कमाउन गएको छोरा, ज्वाई, भाई, श्रीमानको शब आउँदा परिवारले भोग्नुपर्ने पीडा अनुभूत गर्न गाह्रो छ ।

ऋण काढेर विदेश पुगेको छोरोले कमाउला र पारिवारको जीवन सहज होला भनेर पर्खेका जेष्ठ नागरिक विदेशबाट शब आउँदाको पीडा कसरी महसुस गर्न सकिन्छ र ? नेपाली युवाहरु, जसले विदेशमा श्रम र पसिना बगाइरहेका छन्, त्यस्तै काम र श्रम नेपालमै गर्न पाए नेपाल कति सुन्दर र समृद्ध देश बन्थ्यो होला ।

होइन हो, नेपालमा पनि विकासका प्रयास नभएका त होइनन् नि । हामी यहाँबाट आठ घण्टाको पैदल दूरी नाप्दै जिल्ला सदरमुकाम गएको हिजो अस्ति जस्तै लाग्छ, अहिले त बाटोघाटो धेरै ठाउँमा सुरु भएको छ । एक डेढ घण्टा हिँडेर जताबाट पनि रोडमा पुगी गाडी चढेर आवतजावत गर्न सकिन्छ ।

कामको सुरुवात त भएको छ तर नेपालमा इमान्दारीपूर्वक काम भने हुँदैन । काम दिगो पनि हुन सकेको छैन । बाटो छ तर पानी पर्न थालेपछि धेरै मार्गमा गाडी बन्द हुन्छन् । पहाड फुटालेर निकालिएका नागबेली वाटोमा वर्षातमा गाडी नै चल्दैनन् । अरु समयमा धुलो नै धुलो उडेर बेहाल हुन्छ ।

काम गर्ने सरकारी कर्मचारी र काम गर्ने ठेकेदारहरुको इमान्दारीता खोजी आवश्यक छ । हरेक वर्ष ठेक्कापट्टा हुन्छ तर काम भने वर्षात सुरु हुने बेलामा मात्रै हुन्छ । अनि काम गर्न थाल्यो, कामका लागि छुट्याइएको रकम ठेकेदार र प्राविधिक कर्मचारीहरुको मिलोमतोमा नक्कली काम देखाउने र वर्षात्ले बगाएको, पहिरो गएको जस्ता नक्कली विश्लेषणका आधारमा योजनाको फरफारक गर्ने चलन रोक्नै नसक्ने हो सरकारले ?

बाटोको सामान्य ट्रयाक खोल्नासाथ गाडी चलाउने र जबरजस्ती क्षमता भन्दा बढी यात्रु बोक्ने प्रवृत्तिले दुर्घटनामा धेरैले अकालमा ज्यान गुमाइरहेका छन् । यस्तो कुरामा सरकार,  प्रशासन नागरिकप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने होइन र ?

हुन त यात्रु पनि कस्ता छौं भने सीट छैन भन्दा भन्दै पनि जवरजस्ती बस्न खोज्छौ ।  सवारी मालिक, चालकको लोभ र यात्रुहरुको हतारोले निम्त्याउने दुर्घटनाले अकालमा ज्यान गुमाइरहेका नेपालीहरुको जीवन सुरक्षित कसले गरिदिने होला ? हाम्रो चेत कहिले खुल्ने होला खै ?

अनौठो वातावरण बन्दै गएको छ नेपालमा । यहीँ बसेर काम गरी खाने जाँगर कसैसंग बाँकी छैन कि जस्तो लाग्छ । विदेशमा गएर जोखिमपूर्ण श्रम गरी आउने पैसाले धानचामल, नूनतेल खाने, राम्रो लुगा लगाउने, एक डेढ कठ्ठा जमिन तराईमा जोड्ने र सहरको वासस्थान छोडेर तराईको घाममा पलायन हुने जाँगर धेरैमा छैन ।

दुःख गरेर कमाएको पैसाले उद्यम गर्ने, काम गर्ने, रोजगारी सिर्जना गर्ने र आफै मालिक हुने कुरामा नेपालीहरुको कहीँकतै पनि ध्यान गएको पाइँदैन । यस्तो अवस्थामा कसरी बन्छ हो नेपाल ? कसरी हुन्छ समृद्ध देश अनि सुखी नागरिक ?

गाउँमा विवाह गरेर विदेश जाने र पाँच सात वर्ष उतै काममा हराउने प्रवृत्तिले विवाहित महिलाहरु आफ्नो घर छोडेर अर्कैसंग जाने क्रम बढीरहेको छ । केटाकेटी तथा महिलाको हेरचाहमा घरमा छोडिएका ज्येष्ठ नागरिकहरुको बिचल्ली भैरहेको छ । कतिपय महिलाहरु यौन हिंसाका शिकार बनेका छन् । गर्भपतनका कैयौ घटना बढिरहेका छन् ।

यस्तो वातावरणले परिवारमा अनुशासन भंग हुने, नैतिक जीवन समाप्त हुने र सामुदायिक जीवन कष्टपूर्ण बन्दै गैरहेको स्थिति छ । विदेशमा जाने युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र नेपालमै काम गरेर खान सक्ने वातावरण निर्माणमा अब राज्य, समुदाय सबै गम्भीर बन्नु जरुरी छ ।

कतिको घरमा बाख्रा, कुखुरा, गाई भैंसी पालेर राम्रै आम्दानी भैरहेको र घरखर्च राम्रैसंग चलिरहेको छ । नेपालीहरुले गाउँघरतिर बेसार, अदुवा, लसुन, कागती, सुन्तला, पिडालु, भटमास, केराउ, चना आदिको उत्पादन र विक्री तथा वस्तुहरुको साटासाटवाट मज्जाले ब्यवहार चलाएको सुन्दा मनमा आनन्द लाग्छ । केटाकेटीहरु साँझ विहान घरको काममा सघाउने, दिउँसो विद्यालय जाने रुटीन नै हुन्छ । सरसापट, अर्मपर्मले काममा सहयोग गर्ने संस्कार अहिले पनि गाउँमा विद्यमान छ ।

तर अहिले युवाहरु प्लस टु पास गर्ने वित्तिकै घरवाट बाहिर कामको खोजीमा जाने प्रचलन बढ्दै गएपछि युवा जनशक्तिको अभाव बढ्दै गएको छ । कतिपय खेतीयोग्य जमिन बाँझो हँुदै गएको छ । जन्ती, मलामी जस्ता कार्यमा महिला, वालवालिका तथा प्रौढहरुको संख्या बढ्दै गएको छ । घरमा केटाकेटी र जेष्ठ नागरिकको पीडा झन बल्झिएको छ । हेरचाह गर्ने मानिस घरमा छैनन् ।

बाहिरवाट आउने रकम उत्पादनमूलक क्षेत्रमा लगाउने कुराको सहजीकरण गर्न कसैले पहल गरेको देखिदैन । खाली घरजग्गा जोड्ने र गाउँवाट विस्थापित भएर सहरमा भीड लाग्ने अवस्थाले गाउँमा निकै नकारात्मक प्रभाव सिर्जना गरेको छ । गाउँको खेतीयोग्य जमिन बाँझो हुदै जाने र सहरमा एक टुक्रा जग्गामा वर्षौ कमाएको रकम खर्च गरी जीवनमा एउटा घर बनाउने प्रवृत्तिले कहीँकतै पनि उत्पादनमुलक काम अघि बढ्न सकेको छैन । देशको अर्थतन्त्रमा रेमिट्याण्स देखिएपनि त्यसले उत्पादनमूलक, रोजगारमूलक काम अघि बढ्न नसक्दा खासै फाइदा दिइरहेको छैन ।

यहाँ भएका उद्योग बन्द छन् । घरेलु उद्योगहरु समेत एकपछि अर्को बन्द हँुदै गएका छन् । उपभोक्ताहरुले बाहिर उत्पादन भएका सरसामाग्रीहरुको उपयोग बढ्दै गएकोछ । आवश्यकता भन्दा पनि अरुलाई देखेर सरसामाग्री खरीद गर्ने प्रवृत्ति बढ्दो छ । देखासिकीमा बाँचेका हामी नेपालीको आम्दानी भन्दा चार गुणा बढी फजुल खर्च गर्ने बानीको विकासले हरेक वर्ष ऋणमाथि ऋण थपिने अवस्थामा कुनै परिवर्तन आएको छैन ।

शिक्षा र स्वास्थ्य अत्यन्त खर्चिलो बन्दै गैरहेको छ । बजारमा खाद्यान्न तथा लत्ताकपडाको मूल्यवृद्धिले खर्च घट्ने स्थिति नै छैन । यात्रा खर्च निरन्तर बढिरहेको छ । घरमा उतदित दूध र अण्डा बजारमा बेचेर चाउचाउ र विस्कुट किनेर ल्याउने प्रवृत्तिले वालवालिकामा कुपोषण बढ्दै गएको छ ।

घरमा सागसब्जीको उत्पादन गर्ने, हरियो सागपात खाने, गाउँमै उत्पादन हुने गेडागुडी नियमित खाने प्रचलन निरन्तर हराउँदै गएको छ । वालवालिकाहरुलाई नियमित रुपमा सरसफाईमा ध्यान दिन नसक्दा उनीहरु विरामी भैरहेका छन् । जेष्ठ नागरिकको हेल्थ चेकजाँच गर्ने मानिस नै नहुदा जीवन कष्टपूर्ण हुँदै गएको छ । महिलाहरुलाई गर्भवती र सुत्केरी हँुदा समेत काममा निरन्तर लागिरहनुपर्ने बाध्यताले उनीहरुको स्वास्थ्य अवस्था निरन्तर गाह्रो हँुदै गएको छ ।

युवाहरुको विदेशमा गएर काम गर्ने रहरभन्दा बढी बाध्यता भएको उनीहरुले बताउदै आएका छन । घर खर्च चलाउन नसक्नु, नेपालका रोजगारीका अवसरहरु प्राप्त नहुनु, कृषिमा काम गरेर गुजारा चलाउन गाह्रो हुनु, कृषिलाई सम्मानित पेशाका रुपमा अघि बढाउन नसक्नु, श्रम गरी खाने वर्ग अपमानित हुनु जस्ता धेरै समस्याले युवालाई नेपाल भन्दा बाहिर गएर काम गर्नु बाध्यता बन्दै आईरहेको छ । राज्यले यहीँ स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारको प्रत्याभूति दिने कुरामा विशेष कार्यक्रम बनाई कार्यान्वयन आजको आवश्यकता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चम्फासिंह भण्डारी
चम्फासिंह भण्डारी
लेखकबाट थप