मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ठेगान नभएको उपेन्द्रको बोली : संविधानको बिहान स्वागत, साँझ विरोध !

मङ्गलबार, ०४ असोज २०७९, २० : ००
मङ्गलबार, ०४ असोज २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव कहिलेकाहीँ बिहान एउटा गर्छन्, साँझ परेपछि १८० डिग्री घुमेर अर्कै कुरा गर्छन् । यो बानीले उनी बेलाबेला विवादमा पनि तानिने गरेका छन् । 

मंगलबार संविधान दिवसको अवसरमा पनि उनले दुईटा परस्पर विरोधी अभिव्यक्ति दिएका छन् । बिहान आफ्नो आधिकारिक फेसबुक पेजबाट संविधान दिवसको उपलक्ष्यमा शुभकामना दिएका थिए । मधेसमा अन्य दलले कालो दिवस मनाइरहँदा संविधान दिवसको उपलक्ष्यमा शुभकामना दिएपछि उनको आलोचना सुरु भएको थियो ।

आलोचना बढ्न थालेपछि अध्यक्ष यादवले बिहान दिएको शुभकामना मन्तव्य हटाएर साँझ संविधान संशोधन तथा पुनर्लेखनको कुरा उल्लेख गरे । अनि उल्टै उनले मिडियाले भ्रम छरेको दाबी गर्दै आफ्नो आधिकारिक भनाई यही नै रहेको बताए । 

​त्यसअघि उनले बिहान फेसबुकमार्फत दिएको शुभकामनालाई डिलिटसमेत गरेका थिए । तर, उनले डिलिट गरेको पोस्टको स्क्रिनसटमा भने उनले शुभकामना दिएको स्पष्ट देखिन्छ । अध्यक्ष यादवले संविधान दिवसको दिन बिहान शुभकामना दिँदै यस्तो लेखेका थिए–

‘संविधान भनेको मौलिक सिद्धान्तहरू वा स्थापित पूर्वाधारहरूको समुच्चय हो । संविधानले हरेक नागरिकलाई आफ्नो राष्ट्रियतासँग एकताबद्ध गराउन मद्दत गर्नुपर्छ । त्यस्तो नभएको संविधानलाई जनताको हितका लागि संशोधन गरिरहनु पनि जरुरी हुन्छ । 

त्यसै गरी हरेक नागरिकले पनि संविधानको सम्मान गर्दै देशप्रतिको आफ्नो जिम्मेवारी मर्यादित ढङ्गले निर्वाह गर्नुपर्छ भन्दै सम्पूर्ण नेपालीहरूलाई संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

बिहान दिएको अभिव्यक्तिलाई हटाएर उनले त्यही साँझ आफ्नो फेसबुकमा यस्तो लेखेका थिए–

‘नेपालको संविधानले मधेसी, दलित, जनजाति, थारु लगायतका अल्पसङ्ख्यक तथा सीमान्तकृत वर्गको अधिकारलाई सम्बोधन नगरेको, तत्कालीन अवस्थामा बलजफती बन्दुकको बलमा संविधान जारी गरिएको सर्वविदितै छ ।

देशको सबै जातजाति, सामाजिक समूह, वर्ग र समुदायलाई सम्मानका साथ समान अधिकार र अवसरमा पहुँचको प्रत्याभूति गराउन संविधानमा आवश्यक संशोधन गरी सच्याउने, सुधार्ने, परिमार्जन गर्ने तथा आवश्यकता अनुसार पुनर्लेखन गर्नु पर्दछ ।’

उनले यसअघि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा प्रकरण पनि यस्तै गरेका थिए । मुख्यमन्त्री राउतलाई राजीनामा दिन भनेको कुरा राति सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका थिए । तर भोलिपल्ट नै आफूले राजीनामा नमागेको भन्दै कुरा फेरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप