सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

म्याग्दीमा आठ मतदानस्थल थपिए

मङ्गलबार, ०४ असोज २०७९, १३ : ०४
मङ्गलबार, ०४ असोज २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ वटा मतदानस्थल थपिएका छन् । जिल्लास्थित निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र जनप्रतिनिधिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थल थप गरेको हो । 

भौगोलिक रुपमा विकट, अपायक भएका र मतदाता सङ्ख्या बढी भएका ठाउँमा मतदानस्थल र केन्द्र थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले थपिएकासहित म्याग्दीमा ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र कायम भएको जानकारी दिए । 

गत स्थानीय तह चुनावमा ७४ मतदान स्थलमा एक सय १४ केन्द्र थिए । धवलागिरि, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा दुई÷दुईवटा मतदानस्थल थपिएका हुन् । धवलागिरि गाउँपालिका–४ बगरको कैलाश आधारभूत र वडा नं ७ धारापानीको चन्द्रकुन्ता किसानी माविमा मतदानस्थल कायम भएको छ । 

मङ्गला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जन जागृति मावि र वडा नं ५ सिर्कुमको किसानी आधारभूत विद्यालयमा पनि मतदानस्थल थपिएको छ । रघुगङ्गा गाउँपालिका–२ खौरेटाको राममन्दिर सामुदायिक स्वास्थ्य केन्द्र र वडा नं ३ पातल्नाको हिमालय आधारभूत विद्यालयमा मतदानस्थल थपिएको छ । 

अन्नपूर्ण गाउँपालिकाको केन्द्रमा रहेको पोखरेबगर आधारभूत विद्यालय र वडा नं ८ को काफलडाँडा आधारभूत विद्यालयमा पनि मतदानस्थल थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानस्थल थपिएपछि भौगोलिक रुपमा विकट क्षेत्रमा अवस्थित सिम्कोस, बगर, नाउराका बासिन्दालाई मतदानका लागि दुई देखि तीन दिन समय खर्चनुपर्ने समस्या हटेको छ । कैलाश आधारभूत मतदान केन्द्रमा एक सय ५७ जना मतदाता छन् । 

आसन्न चुनावका लागि ४२ हजार ५५ पुरुष, ४४ हजार ६४  महिला र एक तेस्रो लिङ्गी गरी कूल ८६ हजार एक सय २० मतदाता कायम भएका छन् । गत स्थानीय चुनावमा ८५ हजार तीन सय ७५ मतदाता रहेकामा ५६ हजार चार सय ५६ मत खसेको थियो । स्थानीय तह चुनावपछि थपिएकालाई जोड्दा, बसाइसराइँ गरेका र दिवङ्गत भएकाको नामावली अद्यावधिक गरेर मतदाता सङ्ख्या कायम गरिएको हो । स्थानीय तहको चुनावपछि सात सय ४५ मतदाता थपिएका हुन् । 

बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार छ सय ४८ मतदाता छन् । 

बेनी नगरपालिकामा २२ हजार एक सय ८५, अन्नपूर्णमा १२ हजार ०६८, धवलागिरिमा १० हजार आठ सय ३७, मालिकामा १३ हजार तीन सय ३४, मङ्गलामा १३ हजार चार सय ७७ र रघुगङ्गा गाउँपालिकामा १४ हजार दुई सय १९ मतदाता कायम भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप