शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चाडबाड नजिँकिदा यात्रु असुरक्षित, अझै कार्यान्वयन भएन बसमा दुई चालक राख्ने नियम

मङ्गलबार, ०४ असोज २०७९, १२ : ४७
मङ्गलबार, ०४ असोज २०७९

सरकारले लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा अनिवार्य दुई चालकको व्यवस्था गर्नुपर्ने नियम बनाए पनि सुदूरपश्चिममा अझैसम्म यो नियमलाई यातायात व्यवसायीले पालना गरेका छैनन् । सरकारले चार वर्षअघि दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यसहित व्यवस्था गरेको नियमको प्रदेशबाट लामो दूरीमा सञ्चालन हुने यातायात व्यवसायीले पालना नगरेका हुन् । 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को शंसोधन ऐन २०७५ को दफा १०४ अनुसार लामो बाटोमा यातायात सेवा सञ्चालन गर्दा दुई चालक अनिवार्य राख्नुपर्ने व्यवस्था छ । सो ऐनअनुसार प्रत्येक ६-६ घण्टामा सवारी चालक फेरिनु पर्ने हुन्छ । त्यसका लागि चालकको व्यवस्था सवारी धनीले नै गर्नुपर्ने हुन्छ ।

ऐनअनुसार हालसम्म सुदूरपश्चिमका लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा दुई चालकको व्यवस्थापन गरिएको पाइँदैन । चाडवाडमा नियमित चलाइरहेका सवारीसाधनबाहेक पनि अरु सवारी चलाउनुपर्ने हुन्छ । एउटै चालकलाई आराम कम हुने र त्यसले सवारी दुर्घटना बढाउने गरेको प्रहरीकै निस्कर्ष भए पनि दुई चालकका लागि प्रहरीले पनि कडाइ गरेको छैन । 

सवारीमा दुई चालकको व्यवस्था नहुँदा चाडवाडमा यात्रु असुरक्षित बनेका छन् । ‘एउटै चालकले लगातार सवारी हाँक्दा सवारी दुर्घटना हुने जोखिम उच्च हुन्छ,’ बाजुरोको स्वामिकार्तिक गाउँपालिकाका स्थानीय जगदिश धामीले भने, ‘कमसेकम चाडबाडको समयमा दुई सवारी चालकको व्यवस्था गर्न सके यात्रामा जोखिम कम हुने थियो ।’

सरकारले बनाएको नियम पालना गर्दा ट्राफिक प्रहरीले उदासिनता देखाएको उनले बताए । ‘नियम पालना गराउनकै लागि ट्राफिकलाई सडकमा राखिएको हुन्छ,’ उनले भने, ‘तर, दुई चालक खै भनेर अहिलेसम्म बसधनीलाई प्रश्न गरेको कहिल्यै सुनेको छैन, यो प्रहरीको लापरबाही हो ।’ प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पाल भने चाडबाडमा लामो दूरीमा चल्ने सवारीमा अनिवार्य दुई चालकको व्यवस्था गर्नका लागि व्यवसायीसँग छलफल भइरहेको बताउँछन् । 

अहिले काठमाडौंका लागि मात्रै दुई चालकको व्यवस्था गरिएको छ,’ पालले भने, ‘तर चाडबाडका लागि भएपनि सुदूरपश्चिमका पहाडी जिल्लामा चल्ने सवारीमा पनि दुई चालक राख्न हामीले यातायात व्यवसायीलाई भनेका छौं । व्यवसायी पनि यस विषयमा सकारात्मक छन् ।’

चाडबाडमा एउटै गाडी धेरै चल्ने हुँदा एउटै चालकले आराम गर्ने समय नपाएकै कारण धेरै सवारी दुर्घटना हुने गरेको प्रवक्ता पाल बताउँछन् । ‘सबै दुर्घटनाको हकमा त्यसो नहोला,’ पालले भने, ‘तर, विगतको अवस्था हेर्दा चाडवाडमा हुने ठुला सवारी दुर्घटनामा चालको कमजोरी बढी देखिने गरेको छ, त्यसको प्रमुख कारण धपडी बढी हुने र आराम कम हुने देखिन्छ, यस पटक हामी त्यसका कडाई गर्ने छौं ।’

न्यू सुदूरपश्चिम यातायात प्रा.लि.का अध्यक्ष पदम सापकोटाले पनि लामो दूरीमा वैकल्पिक चालक राख्ने बारेमा छलफल भएको बताए । बझाङ, बाजुरा, अछाम, बैतडी र दार्चुलामा सञ्चालन हुने यातायातमा वैकल्पिक चालक राख्ने विषयमा हामी व्यवसायीबीच पनि सहमति भएको छ,’ सापकोटाले भने, ‘त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा छलफल गर्ने छौं ।’ 

गत वर्ष दसैँ  तिहारको अवधिमा मात्र सुदूरपश्चिममा ८१ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । सो दुर्घटनामा परि १८ जनाको मृत्यु भएको थियो भने ११३ जना घाइते भएका थिए । 

यातायात नियमअनुसार २५० किलो मिटरभन्दा बढी दूरी भएको क्षेत्रलाई लामो दूरीको रुट मानिने गरिन्छ । २५० किलो मिटरभन्दा लामो दूरी पार गर्न ६ घण्टाभन्दा बढी समय लाग्ने हुँदा ती रुटमा सञ्चालन हुने सार्वजनिक बसमा दुई चालक अनिवार्य गरिनु पर्दछ ।

भोलिदेखि बसमा अग्रिम टिकट बुकिङ खुला
सुदूरपश्चिमका पहाडी सात जिल्लाका लागि सवारीको टिकट बुकिङ भोलिदेखि खुला हुने भएको छ । प्रदेशमा सञ्चालनमा रहेका यातायात  व्यवसायी समितिहरुले प्रदेशका सात जिल्लामा यात्रा गर्ने यात्रुका लागि भोलिदेखि टिकट बुकिङ खुल्ला गर्न लागेका हुन ।

दसैँको दुई दिन अघि सम्मका लागि बसको टिकट बुकिङ गर्न सक्ने गरी ५ असोजदेखि बस टिकट खुला गरिएको जनाइएको छ । अग्रिम टिकट बुकिङ गर्दा यात्रुको चापअनुसार अतिरिक्त बसको व्यवस्थापन गर्न सजिलो हुने न्यू सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए । ‘अग्रिम टिकट बुकिङ गर्दा कुन दिन कुन रुटमा यात्रुको चाप बढी हुन्छ भन्ने प्रष्ट हुन्छ,’ अध्यक्ष सापकोटाले भने, ‘त्यसैअनुसार अतिरिक्त बस परिचालन गर्न सहज हुने गर्दछ ।’

अग्रिम टिकट बुकिङ धनगढीबाट सञ्चालन हुने सबै बसमा लागु हुनेछ । धनगढी बसपार्कको साझा काउन्टरबाट अग्रिम टिकट बुकिङ हुने अध्यक्ष सापकोटाले बताए । ‘टिकट बुकिङ सबै समितिको समन्वयमा हुनेछ,’ सापकोटा भन्छन्, ‘अतिरिक्त बसको परिचालन त्यसै अनुसार गरिनेछ ।’

कैलाली कञ्चनपुरबाहेक सुदूरपश्चिमका ७ जिल्लाका लागि अग्रिम टिकट बुकिङ गर्न सकिने उनले बताए । सुदूरपश्चिमबाट पूर्वी रुटमा सञ्चालन हुने सवारीको हकमा भने १ असोजदेखि नै टिकट बुकिङ खुला गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप