जागिरेहरु विश्व बैंकको यो रिपोर्टसँग किन डराउनुपर्छ ?
के मन्दीको संकेत तीव्र भएको छ ? पछिल्लो केही समयदेखि मन्दीबारे व्यक्त गरिएको आशंकाले अहिले ठोस स्वरूप लिइरहेको देखिन्छ । विश्व अर्थतन्त्र मन्दीमा पर्ने भविष्यवाणी गर्ने दिग्गज अर्थशास्त्रीहरूको सूची लामो हुँदै गएको छ र अहिले विश्व बैंकको एक प्रतिवेदनले हलचल मच्चाइरहेको छ ।
प्रतिवेदनका अनुसार विश्वभरका केन्द्रीय बैंकहरूले व्याजदरमा तीव्र वृद्धिका कारण सन् २०२३ मा विश्व अर्थतन्त्र मन्दीमा पर्न सक्छ । मन्दीको डरले जागिरेहरुलाई थप डर पैदा गरेको छ किनभने कोभिड–१९ को समयको कामबाट निकालिएको सम्झना उनीहरुको मनबाट अझै मेटिएको छैन ।
आर्थिक प्याकेजको नाममा अत्यधिक खर्च, चीनमा कोविड प्रतिबन्धले आपूर्ति श्रृंखलामा क्षति र युक्रेनमा रुसको आक्रमणले पेट्रोल, डिजेल र खाद्यान्नको मूल्य दशकौंको चरम बिन्दुमा पुर्याएको छ । त्यसैले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भदेखि बैंक अफ इङ्गल्याण्डसम्म, जापानी केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने तयारी गरेका छन् । चीनको केन्द्रीय बैंकले ब्याजदर बढाउने तयारी नगरेपनि ब्याजदर घटाउन भने रोकेको छ ।
ब्याजदर बढाउँदा कम्पनी र आम उपभोक्ता दुवैका लागि ऋण महँगो हुन्छ । त्यसैले कम्पनीहरूले आफ्नो विस्तार रोकिदिन्छन् र आम उपभोक्ताले आफ्नो खर्च घटाउन थाल्छन् । जसका कारण माग घट्न थाल्छ र आर्थिक गतिविधि सुस्त हुन्छ ।
यसले अर्थतन्त्र मन्दीमा फस्ने जोखिम बढाउँछ । आर्थिक गतिविधिमा सुस्तताको सबैभन्दा ठूलो र तत्काल प्रभाव रोजगारीमा परेको छ ।
रोजगारीमा गएकालाई के डर ?
विश्व अर्थतन्त्र अहिले यस्तै अवस्था तर्फ उन्मुख छ । त्यसैले मन्दीका कारण रोजगारी गुम्ने डरले जागिरेहरुलाई त्रसित बनाएको छ ।
गत हप्ता, विश्व बैंकले एक प्रतिवेदन जारी गर्यो, जसका अनुसार विश्वव्यापी अर्थतन्त्र रिकभरी पछिको सबैभन्दा ठूलो गिरावटको साक्षी रहेको छ । यो सन् १९७० यताकै सबैभन्दा खराब गिरावट हो ।
प्रतिवेदनले एक अध्ययनलाई उद्धृत गर्दै विश्वका तीन ठूला अर्थतन्त्र अमेरिका, चीन र युरोपेली अर्थतन्त्रमा तीव्र गिरावट आएको उल्लेख गरेको छ ।
यस्तो अवस्थामा विश्वव्यापी अर्थतन्त्रलाई सानो चोटले पनि मन्दीतर्फ धकेल्न सक्ने पनि प्रतिवेदनमा भनिएको छ ।
बीबीसीको रिपोर्ट अनुसार विश्वको अग्रणी डेलिभरी कम्पनी फेडएक्सले आफ्नो प्याकेज डेलिभरीमा ठूलो कमी आउन सक्ने लगानीकर्तालाई बताएको छ । एसिया र युरोपमा अवस्था झन् खराब हुने अनुमान गरिएको छ । यसले उसको व्यवसाय सञ्चालनमा ठूलो प्रभाव पार्नेछ ।
कम्पनीलाई करोडौं डलर नोक्सान हुने डरले बिहीबार कम्पनीको शेयर २० प्रतिशतले घटेको छ । फेडएक्स मात्र नभई अमेजन, डोएचे पोस्ट र रोयल मेल जस्ता डेलिभरी कम्पनीहरूको सेयर पनि घटेको छ ।
फेडएक्सले माग घटेका कारण कम्पनीले आफ्नो सेवा कटौती गर्न सक्ने जनाएको छ । उसले दर्जनौं कार्यालय बन्द गर्ने योजना पनि बनाएको छ जसका कारण सयौं कर्मचारीको जागिर तरवारको धारमा छ ।
जागिर तरवारको धारमा
यही त्यो डर हो जसले यतिबेला विश्वभरका जागिरेलाई सताइरहेको छ । आईएलओको प्रतिवेदन अनुसार कोभिडको पहिलो वर्षमा विश्वभर २५ करोडभन्दा बढीले पूर्णकालिक रोजगारी गुमाएका छन् ।
विश्व अर्थतन्त्रको वर्तमान अवस्थाले फेरि एक पटक जागिरेलाई खतरामा पार्न थालेको छ । गत महिना, प्राइसवाटर्सहाउसकूपर्स (पीडब्ल्यूसी) को रिपोर्टले संसारभरका ५० प्रतिशत कम्पनीहरूले आफ्ना कर्मचारीमा कटौतीको तयारी गरिरहेको बताएको छ ।
पीडब्ल्यूसीद्वारा सर्वेक्षण गरिएका आधा भन्दा बढी कम्पनीहरूले आफ्ना कर्मचारीको संख्या घटाउन लागेका छन् । ४६ प्रतिशत कम्पनीले साइनिङ बोनस घटाइरहेका छन् । ४४ प्रतिशत कम्पनीले जागिरको प्रस्ताव फिर्ता लिएका छन् ।
यस वर्षको जुलाईसम्ममा अमेरिकामा ३२ हजार प्राविधिकको जागिर गुमेको थियो । जुन कम्पनीका कर्मचारीको जागिर गयो त्यसमा माइक्रोसफ्ट र मेटाजस्ता दिग्गज टेक कम्पनी समावेश छन् । भोलिको समयमा थप प्राविधिकको जागिर जान सक्ने अनुमान गरिएको छ ।
घातक परिणामको डर
कोभिडपछि बढेको माग र युक्रेन–रुस युद्धबाट ऊर्जा, इन्धन र खाद्यवस्तुको बढ्दो मूल्यले मुद्रास्फीतिलाई नयाँ उचाई दिएको छ । यो बढ्दो मुद्रास्फीति अधिकांश अर्थतन्त्रहरूको घाँटीको पासो बनेको छ र विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएर यसलाई घटाउने प्रयास गरिरहेका छन् ।
केन्द्रीय बैंकहरूले ब्याजदर बढाएमा आर्थिक गतिविधि सुस्त हुने निश्चित छ । यसले मन्दीको जोखिम बढाउँछ ।
पछिल्लो विश्वव्यापी मन्दी सन् २००८ मा इन्भेस्टमेन्ट बैंक लेहम्यान ब्रदर्सको पतनबाट सुरु भएको थियो र लगभग दुई वर्षसम्म यसको असर देखिएको थियो । यो अमेरिकी बजारको सब–प्राइम क्राइसिसको परिणाम थियो ।
तर यदि विश्वको अर्थतन्त्र फेरि मन्दीको चपेटामा पर्यो भने त्यो निकै घातक साबित हुनेछ किनभने कोभिडपछिको आर्थिक पुनरुत्थानले अझै पूर्ण गति लिन सकेको छैन । यसले पहिलेको भन्दा धेरै उथलपुथल मच्चाउनेछ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म