शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री किसान श्रेष्ठ भन्छन्– आफ्नो पारिश्रमिक फेरि पनि सामाजिक कार्यमै खर्चिन्छु

मङ्गलबार, ०४ असोज २०७९, ११ : १४
मङ्गलबार, ०४ असोज २०७९

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले आफू संघीय सांसदमा विजयी भएमा सांसदका रुपमा आफूले प्राप्त गर्ने सेवा–सुविधा बापतको रकम आफ्नै निर्वाचन क्षेत्रका जनताका लागि खर्च गर्ने प्रतिवद्धता जनाएका छन् ।

२०७४ को निर्वाचनमा तनहुँबाट निर्वाचित उनले यो कार्यकालको पारिश्रमिक तथा सेवासुविधा बापतको रकम पनि सामाजिक क्षेत्रमा खर्चेका छन् । २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ वा चुनाव जितेका श्रेष्ठले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए ।

श्रेष्ठले संघीय सांसदको रुपमा ५ वर्षमा सुविधा स्वरुप पाएको करिव ३१ लाख रुपैयाँ तनहुँका मठ, मन्दिर, गुम्बा, चर्च, खानेपानी, सामुदायिक विद्यालय, आमा समूह, युवा क्लब, पत्रकार महासंघ, आदिवासी जनजातिको महोत्सव, विपन्न परिवारको उपचारमा खर्चेका हुन् ।

चुनाव प्रचारकै क्रममा उनले आफू विजयी भएमा सांसदका रुपमा प्राप्त गर्ने रकम तनहुँका जनताका लागि खर्च गर्ने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धता अनुसार श्रेष्ठको सचिवालयले २०७४ फागुनदेखि २०७९ भदौसम्मको पारिश्रमिक स्वरुप पाएको रकमको हिसाबसमेत सार्वजनिक गरेको छ ।

श्रेष्ठले ६८ वटा संघ संस्थाहरुलाई १० हजारदेखि १ लाख सम्म आर्थिक सहयोग गरेका छन् । पूर्व श्रममन्त्री समेत रहेका श्रेष्ठ यो पटक बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा छन् । उनले आसन्न निर्वाचनमा आफू विजयी भएमा आगामी कार्यकालमा पनि आफूले आफ्नै निर्वाचन क्षेत्रमा सेवासुविधा बापतको रकम खर्च गर्ने प्रतिबद्धता जनाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप