पेशाका रुपमा पहिरन: फेसन डिजाइनिङमा सुनौलो भविष्य

प्रबल र संयुक्त जस्ता नेपालीहरुको सफलताले कयौंलाई प्रेरणा

person explore access_timeअसोज ४, २०७९ chat_bubble_outline0

हामी स्कुल पढ्दा सरले सोध्नु हुन्थ्यो, ‘तिमीहरु भविष्यमा के बन्छौ ?’ प्राय:को जवाफ आउँथ्यो, डाक्टर, इन्जिनियर, पाइलट । कलेज पुगेपछि स्कुले जीवनका ती प्रश्नहरु पुन: मनमनै सोचें । र, मैले आफैलाई प्रश्न गरें । यदि म डाक्टर, इन्जिनियर, पाइलट बनिनँ भने के म असफल हो त ? के यी पेशा भन्दा अरु विकल्प छैनन् होला त ?


म जीवनको पहिलो खुड्किलोमा शिक्षक बनें । तर, पनि बालापनको छाप मस्तिष्कमा ताजै रहन्थ्यो । मनमा नयाँ–नयाँ पेशा र क्षेत्रमा केही गर्न पाए भन्ने खेलिरहन्थ्यो । मैले ११ वर्ष शिक्षण पेशामा बिताएँ । यति लामो समय शिक्षण पेशामा बिताईसकेपछि केही फरक काम गर्ने लिएँ । आफ्नो अलग पहिचान बनाउन मन लाग्यो । र, म सर्टिङ सुटिङको दुनियाँमा प्रवेश गरें । वास्तवमा फेसन डिजाइनिङको क्षेत्र विशाल रहेछ ।



फेसन डिजाइनिङलाई एउटा राम्रो पेशाका रुपमा लिन सकिन्छ । तर, यस बारेमा स्कुल, कलेजमा त्यति सारो जनचेतना जगाएको पाइदैन । कलेजमा फेसन डिजाइनिङसम्बन्धि पढाई त हुन्छ । तर, त्यतिले मात्र पर्याप्त छैन । यसलाई महत्वका साथ हेर्नुपऱ्यो । स्कुल, कलेज स्तरमा प्रभावकारी ढंगमा अध्ययन अध्यापन हुन र यसको महत्व झल्काउन जरुरी छ । सिटिइभिटीले गृहिणीहरुलाई तालिम दिन्छ । तर, यसै पेशामा लागेकाहरुलाई तालिम दिनुपर्छ ।



लुगा लगाउन जान्नु पनि एउटा कला हो । कुनै ब्राण्ड भन्दा पनि आफूसँग भएको लुगा मिलाएर लगाउन जान्नु कला हो । त्यसलाई हामी फेसन भन्छौं । फेसनसँग माानिसको सुन्दरता जोडिएको हुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हेरौं न । उनी जवाहरलाल नेहरुपछि फेसनेबल नेताका रुपमा चिनिन्छन् । नेहरुले लगाएको कोटको डिजाइन विश्वभर परिचित छ । अहिले मोदी कोट र कुर्ताले त्यसै गरी बेग्लै छाप छोडेको छ । जता पुगेपनि मोदीलाई त्यहाँको फेसन गर्नैपर्छ । मोदी फेसनका सौखिन छन् । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा समेत उनको फेसनको प्रसंशक हुन् । ‘मोदी जे लगाउँछन्, ओबामा त्यही लगाउन चाहन्छन्’ टाइम्स अफ इन्डिया ले एकपटक लेखेको थियो ।

सन् २०१५ मा चीन भ्रमणमा क्रममा सेनाको मूर्तिसँग मोदीले तस्विर खिचे । मोदीको त्यो म्याट्रिक्स स्टाइल सर्वाधिक चर्चाको विषय बन्यो । चीनमा उनले सैनिकको मूर्तिसँग मात्र तस्विर खिचाएनन् । आफ्ना समकक्षी लि क्वानसँग सेल्फी खिचाए । उक्त तस्विर वासिङ्टन पोस्टले रोचक ढंगले प्रस्तुत गरेर छाप्यो । भारतीय प्रधानमन्त्री चीनसँगको मित्रता सुमधुर बनाउन मोदीले सेल्फीको समेत प्रयोग गरेको वासिङ्टन पोस्टको आशय थियो ।

 ‘चिनिया समकक्षीसँगको सुन्दर सेल्फी कति शक्तिशाली हुन्छ, त्यसबारे भारतीय प्रधानमन्त्री जानकार छन् ।’ वासिङ्टन पोस्टले लेखेको थियो । मोदीले चिनियाँ समकक्षीसँग लिएको सेल्फी चिनियाँ सामाजिक सञ्जालमा वीभोमा मात्रै ३१ करोडभन्दा बढी लाइक्स पाएको थियो ।

दक्षिण एसियामै फेसनमा नेपालीहरू अगाडि रहेको तथ्याङ्कले देखाउँछ । फेसनविज्ञहरूले पनि यो कुरालाई स्वीकारेका छन् । नेपालमा फेसन द्रुतगतिमा परिवर्तन भएको देखिन्छ । उहिले–उहिले च्यातिएका लुगा टालटुल पारिन्थ्यो भने अहिले च्यातिकै लुगा लगाउने फेसन छ । काउ ब्वाईका लागि बलियो कपडा बनाउने चक्करमा डिजाइन गरेको जिन्स अहिले फेसनमा संसारभर छाएको छ ।

अझ रोचक त के छ भने, केरा, जुट, पस्मिना, ढाका, सुती ऊनी, पोलिस्टरका कपडा नेपालमा चलनचल्तीमा छन् । लुभुमा ८८ भन्दा बढी उद्योग छन्, जसमा करिब १ हजार ४ सय भन्दा बढीले रोजगारी पाएका छन् । यहाँबाट उत्पादित कपडा ठमेलमा बेचिन्छ । अमेरिका र फ्रान्समा पनि निर्यात हुन्छ । लुभुबाटै ढाकाको काम सुरु भएको हो ।

यस्तै पाल्पाली ढाका, गाजा, अल्लो र सिस्नोजस्ता प्राकृतिक रेसाका कपडा नेपालमा पाइन्छन् । हाते तानमा लुभुमा हाकुपटासी बनाइन्छ । अहिले कुपन्डोलमा घरैपिच्छे बुटिक भेटिन्छन् । विभिन्न देशमा निर्यात पनि हुन्छन् । फेसन उद्योगमा ठूलो सम्भाबना छ भन्ने यसले प्रष्ट देखाउँछ । लुगामा हामी आत्मनिर्भर बन्न सक्छौं भन्ने कुराको प्रमाण यो पनि हो ।

पाल्पाली ढाका, गाजा र सिस्नोजस्ता प्राकृतिक रेसाका कपडा नेपालमा पाइन्छन् । फेशन डिजाइनर राजेश धाख्वाका अनुसार उतिबेला बजारमा कच्चा पदार्थ पाउन कठिन थियो । कपडा ड्राई गर्न गुणस्तरीय फेब्रिक अभाव हुन्थ्यो । नेपाली कपडामा मात्र निर्भर हुन गाह्रो भएपछि उनले भारतबाट आयातीत सुती कपडामा डिजाइन गर्न थाले । भारतीय सिल्क र कटन महंगिएपछि चीनबाट कपडा आयात थालेको उनको भनाइ छ ।

कपडा उद्योग संघका अनुसार नेपालमा वर्षेनि करिब ८० अर्ब रुपैंयाँको कपडा आयात हुन्छ । प्राय: चीन र भारतबाट यी कपडा ल्याइन्छ । ७ करोड मिटर कपडा देशमै उत्पादन हुन्छ । त्यसको झन्डै दोब्बर १३ करोड मिटर बिदेशबाट भित्रिन्छ । संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानका अनुसार करिब साढे ३ खर्ब रुपैंयाँ कपडाजन्य वस्तुमा खर्च हुन्छ । सबैलाई आवश्यक कपडा नेपालमै उत्पादन गर्न सकिन्छ ।

फेसनमा सुनौलो भविष्य

नेपाली युवाहरुले फेसन डिजाइनिङका क्षेत्रमा क्रान्ति नै गरेका छन् । केही उदाहरणीय युवाहरु आम मानिसका लागि प्रेरणाको स्रोत बनेका छन् । थुप्रै नामहरुमध्ये प्रबल गुरुङलाई हामी लिन सक्छौं ।

अमेरिकामा कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनको फेसनको ब्यापक चर्चा भयो । फेसनको बाइबल भनिने प्रतिष्ठित भग  म्यागजिनले उनको तस्विरसहित कभर स्टोरी छाप्यो । सपथ ग्रहण समारोह होस् या ह्वाइट हाउस प्रवेशमा, ह्यारिसको पहिरन फेसन स्टेटमेन्ट नै बन्यो । उनले लगाएको कोटको संसारभर चर्चा हुन्छ । अझ त्यो चर्चा नेपाली फेसन डिजाइनरमाझ बढी छ । ह्यारिसले न्यूयोर्कस्थित नेपाली फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन लगाएर सपथ ग्रहण पछाडिका समारोहमा भाग लिएकी थिइन् ।

ह्यारिसले भर्चुअल सपथ ग्रहण समारोहमा प्रबलले डिजाइन गरेको उल क्रिप ह्यान्ड टेलर्ड कोट लगाएकी थिइन् । ‘यो मेरा लागि सम्मानको कुरा हो,’ प्रबलले त्यो बेला इन्स्टाग्राममा लेखेका थिए, ‘यो मेरा लागि अमेरिकी सपनाको एउटा ठूलो अध्याय हो ।’

यति मात्र होइन, लिंकन मेमोरियलमा आयोजना गरिएको ‘सेलेव्रिटिङ अमेरिका’ नामक कन्सर्टमा ह्यारिसले काठमाडौंमा बनेको कस्मिरी स्कार्फ पहिरेकी थिइन् । यो स्कार्फलाई नेपाली फेसन डिजाइनिङ कम्पनी तारा ओरेन्टियलले डिजाइन गरेको थियो । तारा ओरेन्टियलले आफ्नो इन्स्टाग्राम पेजमा आफ्ना लागि यो क्षण गर्विलो भएको उल्लेख गरेको थियो । यसअघि प्रबल गुरुङको डिजाइनमा फस्टलेडी मिसेल ओबामा लगायत थुप्रै नामी व्यक्तिहरु सजिइसकेका छन् ।

यस्तै लन्डनमा बेहुली बुटिक सञ्चालन गरिरहेकी डिजाइनर संयुक्ता श्रेष्ठ फेसन डिजाइनरका लागि आइडल हुन् । बेलायतका ११ ब्राइडल फेसन डिजाइनरलाई पछि पार्दै ‘वेडिङ बुटिक अफ दि इयर, २०२० एवार्ड’ हात पारेपछि उनको चर्चा झन् चुलियो । बेलायतमा रहेका दुलहीहरूबाटै छनौटमा परिने यो एवार्ड पाउनु चानचुने कुरो पक्कै थिएन । ग्राहकहरूले उनलाई विश्वास गरी, उनको कामलाई रुचाई नोमिनेसन गरेर भोटिङमार्फत् अवार्ड पाएपछि उनी चर्चित बनिन् ।

लन्डन कलेज अफ फेसनबाट फेसन डिजाइनिङमा ग्राजुएट संयुक्ताले डिजाइन गरेका पहिरनहरू विश्व चर्चित सेलिब्रेटीहरूले लगाइसकेका छन् । चर्चित गायिका लरा राइट, फिथ हार्मोनीदेखि भिक्टोरिया सेक्रेटकी सुपर मोडल क्यान्डिस स्वानिपोएल संयुक्ताका डिजाइनमा सजिएका छन् । थुपै्र देशमा फेसन शो मा भाग लिईसकेकी उनको डिजाइन लन्डनको फेसन म्युजियममा समेत राखिएको छ । जहाँ एलेक्जेन्डर म्याकक्विन, भीभीएन वेस्ट वुडलगायतका विश्वप्रख्यात डिजाइनरका डिजाइन छन् ।

यति मात्र होइन, संयुक्ताको डिजाइनले बेलायतको वेल्स, उत्तरी आयरल्यान्ड तथा गणतन्त्र आयरल्यान्डका लक्जरियस बुटिकहरूमा बजार जमाएको छ । सस्टेनेबल लक्जरी डिजाइनरका रूपमा समेत परिचित उनका फेब्रिकहरूमा केमिकल प्रयोग हुँदैन, जसले ती वातावरणमैत्री हुन्छन् ।

प्रबल र संयुक्त जस्ता नेपालीहरुको सफलताले कैंयौलाई प्रेरणा दिएको छ । जीवनमा केही जोश र हौसला प्रदान गरेको छ । फरक र राम्रो कामले नाम, दाम र पहिचान दिदो रहेछ भन्ने कुरा सिकाएको छ । फेसन उद्योगमा सम्भाबना छ भनेर मिडियाले जनचेतनामुलक सामग्री पस्किने हो भने आम मानिसमाझ त्यसले सकारात्मक छाप छोड्छ ।

फेसन डिजाइनर बनेर नेपालीहरु संसारभर प्रख्यात हुने संख्या बढ्नेमा कुनै शंका छैन । त्यसबारे सरोकारवालाले छलफल, अन्तक्रिया र लगानी बढाउने कार्यक्रमको आयोजना गर्न जरुरी देखिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।