स्कुलकै नाम गोलखाडी !
आफ्ना छोराछोरी परीक्षामा फेल भएपछि गाउँतिर भन्ने चलन छ ‘यो त गोलखाडी गएछ’ । गाउँमा बिग्रेका, कुलतमा फसेका वा असामाजिक खालका मानिसलाई पनि ‘गोलखाडी गयो’ भन्ने चलन छ । ‘गोलखाडी’ नकारात्मक अर्थ लाग्ने चलनचल्तीको एउटा शब्द हो ।
यही शब्दबाट धनकुटाको साँगुरीगढी गाउँपालिका–७ मा विद्यालयको नाम राखिएको छ । विद्यालयको नाम छ, ‘गोलखाडी माध्यमिक विद्यालय’ ।
पहिलो पटक विद्यालयको नाम नै गोलखाडी सुन्दा विद्यालयका प्रधानाध्यापक हरिलाल साह पनि अचम्मित भए । ‘यो नाम त अचम्मकै छ, मान्छेले पहिले सुन्दा नै हाँस्छन्,’ उनी भन्छन्, ‘मलाई पनि असहज लाग्छ ।’
विद्यार्थीले काहीँ प्रस्तुति दिन जानु पर्यो र विद्यालयको नाम भन्नुपर्यो भने ‘गोलखाडी माध्यमिक विद्यालय’ । विद्यार्थीको प्रमाणपत्रमा गोलखाडी विद्यालय नै लेखिने भयो । विद्यार्थी फेल भए भने अरूले खिसिट्युरी गरेर भन्छन्, ‘स्कुलकै नाम गोलखाडी छ विद्यार्थी के पास हुन्थ्यो ?’
२०१८ सालमा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको गोलखाडी स्कुलमा २०६१/०६२ सालेदेखि कक्षा ९ र १० सम्म अध्यापन भइरहेको छ । विद्यालयमा हाल २३७ जना विद्यार्थी छन् ।
त्यहाँका विद्यार्थी पछिल्लो पटकको एसईईमा २८ जना सहभागी भएका थिए । त्यसमध्ये एक जना विद्यार्थीले सबैभन्दा बढी भनेको ‘सि प्लस’ ग्रेड ल्याएका थिए ।
स्थापना कालदेखि नै यसको नाम गोलखाडी रहन गएको साह बताउँछन् । ‘पहिले महाभारा गाविसको गोलखाडी गाउँ भनिन्थ्यो । अहिले पनि गोलखाडी गाउँ छँदैछ । त्यही गाउँको नामबाट गोलखाडी विद्यालय भयो । विद्यालय मात्रै होइन त्यहाँको एउटा सामुदायिक सिकाई केन्द्रको नाम पनि गोलखाडी सामुदायिक सिकाई केन्द्र नै रहेको छ,’ साह भन्छन्, ‘बुढापाकाको भनाइ अनुसार पहिले यहाँ गोल (कोइला) पोल्ने मानिसहरूको बसोबास थियो । त्यही गोल पोल्ने मानिसको बसोबासका कारण गाउँको नाम गोलखाडी भनिन थालियो । गाउँकै नाम गोलखाडी भएको कारण स्कुलको नाम पनि गोलखाडी नै राखियो ।’
‘जहाँ पनि हाँस्छन् मानिसहरू । अप्ठ्यारो लागेको छ । बोल्दा पनि भन्दा पनि आफैलाई कस्तो कस्तो लाग्छ । यो कुरा शिक्षकले मात्रै गरेर हुँदैन । सबैभन्दा पहिले त विद्यालय व्यवस्थापन समितिले गर्नुपर्छ । जनप्रतिनिधिसँग कुरा भएको छैन,’ प्रअ साहले भने, ‘व्यवस्थापन समितिको सबै कुरा तयारी भएपछि पालिका, जिल्ला र केन्द्रमा जानुपर्ने अवस्था छ ।’
उनका अनुसार केही समय पहिले स्कुलको नाम परिवर्तन गर्नेबारे छलफल भएको थियो । ‘स्कुलको नाम परिवर्तन गरौँ भनेर छलफल भएको थियो । तर, त्यहीँको मानिसले ठाउँको नाम पहिलेदेखि नै राखेको हो भनेपछि परिवर्तन भएन,’ उनी भन्छन् । साह ०५५ सालदेखि सोही विद्यालयको प्रधानाध्यापकको रूपमा कार्यरत छन् ।
साह मात्रै होइन सोही विद्यालयका सहायक प्रधानाध्यापक वीरबहादुर राईको घर नै साँगुरीगढीको ८ नम्बर वडा हो । उनी सो विद्यालयमा २०५४ सालदेखि अध्यापन गराइरहेका छन् । ‘चारपाँच वर्ष अगाडिदेखि स्कुलको नाम परिवर्तन गर्ने भन्ने विषयमा कुराकानी चाहिँ भइरहेको छ । त्यसको अगुवाइ हामीले नै गरिरहेका छौँ,’ राई भन्छन्, ‘स्कुलको नाम चाहिँ परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ । गोलखाडी भन्ने शब्द नै खेर गएको, काम नलाग्ने भन्ने अर्थ लाग्छ । त्यसो हुँदा हाम्रा विद्यार्थी भाइबहिनीको प्रमाणपत्रमै गोलखाडी नाम राख्नु त्यति राम्रो होइन ।’
उनले अरूले विद्यालयको नाम सुन्दा नै अनौठो मान्ने गरेको बताए । ‘कसरी हुन्छ स्थानीयको पहलमा नै यो परिवर्तन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । गाउँको नाम पिता पुर्खाले राखे होला, गाउँकै नाम सच्याउनु पर्छ भनेर म भन्दिनँ । तर, विद्यालयको नाम चाहिँ परिवर्तन गराउनु पर्छ,’ उनी भन्छन् ।
यता, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले स्थानीय समुदायले पहल गरेको खण्डमा विद्यालयको नाम परिवर्तन गर्न पहल गर्ने बताए । ‘स्थानीय समुदायले पहल गरेको खण्डमा नाम परिवर्तन गर्न गाउँपालिकाले पहल गर्छ,’ उनले भने, ‘अहिलेसम्म त्यस्तो पहल भएको छैन ।’ उनलाई पनि गोलखाडी विद्यालयभन्दा नराम्रो लाग्ने गरेको सुनाए । ‘राम्रो नाम त होइन, यो नराम्रो हो, मान्छे पनि हाँस्छन्,’ उनी भन्छन्, ‘पहिलेदेखि चलिआएको भएर हो ।’
सो विद्यालयमा प्राविका ६, निमाविका ३ वटा स्थायी दरबन्दी, माविको राहत दरबन्दी ३ वटा, बाल विकास शिक्षक र कर्मचारी गरेर १५ जना शिक्षक तथा कर्मचारी रहेका छन् ।
विद्यालयको नाम नै गोलखाडी राखिनु उपर्युक्त नहुने र यो नाम सच्याउनु पर्ने बताउँछन् शिक्षा क्षेत्रका अगुवाहरू । वृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले नामले नै शिक्षण सिकाइमा असर नपरे पनि विद्यार्थीले सार्वजनिक ठाउँमा प्रतिनिधित्व गर्दा, प्रस्तुति दिँदा नामको कारण कमजोरी महसुस गर्न सक्ने बताए । ‘विद्यालयको व्यवस्थापन र शिक्षण सिकाई राम्रो हुँदा त ठिकै हो, तर नराम्रो हुँदै गयो खराब हुँदै गयो भने झन् त्यो नामको विषयमा विद्यार्थीले अपमान फिल गर्न सक्छन्,’ घिमिरेले भने, ‘सकेसम्म राम्रो नाम राख्दा उपर्युक्त हुन्छ ।’
सो विद्यालयमा दैनिक चार घण्टा भन्दा बढी समय हिँडेर पनि विद्यार्थी पढ्न आउने गरेका छन् । सो विद्यालयमा आधा भन्दा बढी विद्यार्थी एक घण्टा भन्दा टाढाको आसकोट, हुटिटेन, खोरलुम्फु, सिंहखोला, छिनामचोक लगायत गाउँबाट धाउने गरेको विद्यालयले जनाएको छ । खास गरी कक्षा ६ देखि १० सम्ममा विद्यार्थी टाढाबाट धाउने मध्ये सबैभन्दा बढी छन् ।
फोटो सौजन्यः ईश्वर थापा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता