सफलताको सूत्र

एक सय रुपैयाँमा रेडियोमा ‘आरजे’देखि एक करोडको कम्पनीको ‘कोफाउन्डर’सम्म

person explore access_timeअसोज ४, २०७९ chat_bubble_outline0

कोभिड–१९ को महामारीसँगै नेपालमा डिजिटल बजारले राम्रैसँग फड्को मार्‍यो । त्यही समयमा खुलेको एउटा अनलाइन प्लाटफर्म हो ‘भेट्टायो डटकम’ । ‘टु फाइन्ड समथिङ’ अर्थात् भेट्टायो भनेको अन डिमान्ड होम सर्भिस उपलब्ध गराउने जक्सन हो । 


रिपियर र मेन्टिनेन्ससँग १३ वटा सेवा प्रवाह गर्दै आएको छ भेट्टायोले,  जसमा ‘प्लम्विङ, क्लिनिङ, भेइकल क्लिनिङ, पेस्ट कन्ट्रोल, डिसइन्फेक्सन, ब्युटी पार्लर एट होम, भेट, लन्ड्री, पेन्टर, रिपियर र इलेक्ट्रिसियन सेवा रहेका छन् । जुन सुविधाहरू कम्पनीले गुगल एपमार्फत दिँदै आएको छ ।





सामान्यतः यी सेवा प्राप्त गर्न उपभोक्ताले यसै पनि सकस व्यहोर्नु परिरहेको हुन्छ । हाम्रो घरमा प्लम्बिङ होस् या विद्युत् सम्बन्धी समस्या समाधानका लागि ठुलो समस्या भोग्नुपर्छ । ‘यस्ता समस्याबाट विना झन्झट चाँडै सेवा प्राप्त होस् भनेर नै हामीले भेट्टायो सञ्चालनमा ल्याएका हौँ,’ संस्थाकी कोफाउन्डर अंशु शाक्य बताउँछिन् । 

उनी थप्छिन्,‘मौखिक रूपमा कसैलाई चिनेको छ भने पठाइ दिनु न वा,  घर नजिकैको हार्डवेर पसलमा गएर लौ न मान्छे पठाइदिनु पर्‍यो भन्नुपर्ने अवस्थालाई चिरेर सहजै सेवा लिन सक्ने सुविधाका लागि हामीले यो काम सुरु गरेका हौँ ।’ उनका अनुसार सर्भिस सेक्टर र उपभोक्ता बीचको दूरी कम गर्न कम्पनी सुरु गरिएको हो ।

झन्डै १ करोड लगानीमा सुरु भएको र स्टार्टअप कम्पनीका रूपमा अघि बढ्दै गरेको यसै भेट्टायो कम्पनीकी को–फाउन्डर अंशु शाक्यका साथमा अन्य लगानीकर्ता पनि छन् । तर, एक महिला उद्यमी त्यसमा पनि डिजिटल बजारमा उनको प्रवेश धेरैका लागि चासोको विषय बन्ने गरेको छ । 

जीवनमा प्राप्त उपलब्धि र अवस्थामा भनेको निरन्तर गरिएको संघर्षको फल ठान्छिन् उनी । पोखरामा स्नातक सकेर बाँकी पढाइ पूरा गर्न काठमाडौँ आएकी थिइन् अंशु । यद्यपि उनी सानैबाटै परिश्रम गर्नुपर्छ, आफ्नै खुट्टामा उभिएर बाँच्न सक्नुपर्छ भनेर १७ वर्षे किशोर अवस्थामा रेडियोबाट जागिरे यात्रा थालेकी थिइन् । 

सामान्य परिवारमा हुर्किएकी अंशु पुराना दिन सम्झँदै भन्छिन्,‘सञ्चार क्षेत्र मेरा लागि आकर्षणको विषय थियो । त्यसैले पार्ट टाइम आरजे बनेर रेडियोमा जागिर सुरु गरेँ ।’

त्यो समय अंशु जम्मा १ सय रुपैयाँमा कार्यक्रम चलाउँथिन् । खुसी साट्दै भन्छिन्, ‘हिजो १ सय रुपैयाँमा काम गरेकी मान्छे आज एउटा कम्पनीको को–फाउन्डरसम्म बनेर काम गरिरहेकी छु ।’ 

मिस पोखराको क्राउन जितेसँगै उनले त्यसपछि धेरै अवसर पाइन् । कार्यक्रमको उद्घोषणमा अंशुको माग सर्वाधिक हुन्थ्यो । सँगसँगै उनले पोखरामै रहेर हस्पिटालिटी क्षेत्रमा संस्थामा मार्केटिङ हेड भएर पनि काम गर्ने मौका पाइन् । यसले अंशुमा निखार आउँदै गयो ।

अंशु एक हिसाबले एउटा कम्पनीको लगानीकर्ता हुन् । उनलाई धेरैले सफल महिला त्यसमा पनि स्टार्टअप उद्यमीका रूपमा चिन्छन् । ‘जीवनमा धेरै उतार चढाव आए । दुःख र सुखका अनेकौँ पल सहँदै यहाँ सम्मको यात्रा तय गरेकी छु । अहिले लाग्छ, सफलता भनेको एउटा फेज रहेछ, अवधि रहेछ ।’

सफलतालाई जसरी परिभाषित गर्‍यो, त्यस्तै हुने उनको तर्क छ । भन्छिन्, ‘हरेक मान्छे आफ्नै ठाउँमा सफल हुन्छ । सफल छोरी, बुहारी वा सफल छोरा जो पनि हुन सक्छ । सफलता भनेको जीवनको एउटा फेज हो, अवस्था हो ।’ आज भेट्टायोको को–फाउन्डर सम्मको यात्रा तय गरेकी छु, यो नै मेरो सफलता हो, भोलि अरू कहीँ हुन सक्छु । र, त्यो यो भन्दा पनि ठुलो सफलता हुनेछ ।’

अंशुको बाल्यकाल

विद्यालय तहको शिक्षाबारे अंशु भन्छिन्, ‘म एक मध्यम स्तरकी विद्यार्थी थिएँ । अहिले लाग्छ, ‘ट्यालेन्ट’ भएर भन्दा पनि हार्डवर्कले जीवनमा ‘म्याटर’ गर्दो रहेछ । त्यसैले म परिश्रममा विश्वास गरेर यहाँसम्म आइपुग्न सकेकी हुँ जस्तो लाग्छ ।’

विद्यालय तहमा पढ्दा उनी कोहीसँग खुलेर बोल्न सक्दिन थिइन् । पब्लिकसँग आफ्ना कुरा राख्न डराउँथिन् ।  तर, एसएलसी सकिनासाथ तीन महिनाको पब्लिक स्पिकिङ तालिम लिएर उनी पब्लिक स्पिकर नै बनिन् । अंशुले त्यहाँबाट आफूमा मात्र सुधार ल्याइनन्, मिस नेवा पोखरामा सहभागी हुँदै त्यसको क्राउनसमेत आफ्नो पोल्टामा पारिन् । परिवारलाई समेत खुसी दिइन् ।  

ती दिन सम्झिँदै अंशु भन्छिन्, ‘मैले मेरो डरलाई नै आफ्नो स्ट्रेन्थ बनाएँ । अथक मेहनतले नै त्यो ताज मेरो बनाएकी थिएँ, परिवारलाई खुसी दिन सकेकी थिएँ । आफ्नो कमजोरीलाई नै अवसरका रूपमा बदल्दै सफलता हात पारेकी थिएँ ।’

मिस पोखराको क्राउन जितेसँगै उनले त्यसपछि धेरै अवसर पाइन् । कार्यक्रमको उद्घोषणमा अंशुको माग सर्वाधिक हुन्थ्यो । सँगसँगै उनले पोखरामै रहेर हस्पिटालिटी क्षेत्रमा संस्थामा मार्केटिङ हेड भएर पनि काम गर्ने मौका पाइन् । यसले अंशुमा निखार आउँदै गयो ।

प्लस टु पढ्दै गर्दा बिहेको त्यो अफर

पोखरा जस्तो सहरमा हुर्किए पनि नेपाली समाज र सोचले अंशुको परिवार पनि गाँजिएको थियो । छोरी भनेको विवाह गरेर अर्काको घरमा त जाने हो, चुलोचौको गरेरै जीवन बिताउने हो भन्ने पुरातन सोचले समाज गाँजिएको थियो । तथापि उनका बुबा आमाले शिक्षा होस् वा अन्य विषयमा छोरा र छोरी भनेर कहिल्यै विभेद गरेनन् । 

तर, छर–छिमेक र आफन्तले भने अनायास अंशुको विवाहको प्रस्ताव ल्याएका थिए । ‘हाम्रो समाज, छर–छिमेकको संस्कारका कारण छोरीहरू सधैँ अप्ठ्यारोमा परिने रहेछ । कक्षा ११ पढ्दै गर्दा बिहेको प्रस्ताव ल्याएर मलाई पनि अप्ठ्यारोमा पारियो’, उनी सम्झिन्छिन्,‘छोरीले पढेर के काम जस्ता तर्क सुन्नु पर्थ्यो । यद्यपि परिवारबाट साथ, सहयोग पाएर आज म यहाँ छु । बुबा–आमाको साथले साथले एक महिला उद्यमी बनेर गर्व गर्न पाएकी छु ।’

पोखरा छाडेर काठमाडौँ आगमन

एमबीए अध्ययनका लागि अंशु पोखरा छाडेर काठमाडौँ उक्लिइन् । अध्ययनसँगै पुनः कर्ममा फर्कनु थियो । केही कमाएर काठमाडौँ बसाइँ सहज बनाउनु थियो । 

पुराना दिन सम्झन्छिन् उनी, ‘काठमाडौँमा अएपछि धेरै कर्पोरेट सेक्टर र विभिन्न अफिसमा अन्तर्वार्ता दिएँ । एजुकेशनल इन्सिटिच्युटमा पनि जागिरका लागि निवदेन दिएँ । तर, धेरै ठाउँमा रिजेक्ट भएँ ।’ 

त्यही जागिर नपाएर भौतरिरहेका बेलाबाटै मनमा ईख बोकेर हिँडेकी थिएँ । एउटा सामान्य मान्छेलाई जागिर पाउन र जीवन चलाउन यो सहरमा कति कठिन रहेछ भनेर बुझेकी थिएँ । आफैँ उद्यमी बन्नुपर्छ र अरूलाई समेत रोजगारी दिनुपर्छ भन्ने सङ्कल्प थियो ।

कति पटक त उनी निराश पनि भइन् । किनकि काठमाडौंको यात्रा उनी एक्लैले तय गरेकी थिइन् । त्यसैले पनि परिवारले उनीमाथि ठुलो चिन्ता गर्थ्यो । अन्जान सहरमा एक्ली छोरी कसरी बसेकी छिन्, के गर्दैछिन् जस्ता कुराले परिवार पिरोलिरहेको हुन्थ्यो । 

‘आमा–बाबाले मेरो बारेमा प्रश्न गरिरहनु हुन्थ्यो । यता म जागिर नपाएर भौँतारिरहेका हुन्थेँ । तथापि हिम्मत नहारी आफूलाई प्रमाणित गर्न लागि परिरहेँ’, पुराना दिन सम्झेर उनी भावुक बन्छिन्,‘अन्तर्वार्तामा रिजेक्ट हुँदा कति पटक रोएकी छु । अब जीवनमा केही पनि गर्न सक्दिन होला ! जे सपना बोकेर काठमाडौँ आएकी छु, त्यो पूरा गर्नै सक्दिन होला भनेर निराश थिएँ । यी क्षण आजसम्म पनि मैले घरमा सुनाएकी छैन । उहाँहरूमा छोरीको चिन्ता झनै बढ्छ भनेर उल्टो मलाई तनाव हुन्थ्यो ।’

यी सबै हुँदा हुँदै पनि अंशुले कर्पोरेट क्षेत्रमा आफूलाई प्रमाणित गर्नु थियो । एमबीए पढेर सोही अनुसारका जिम्मेवारीमा रहेर आफ्नो लक्ष्य पछ्याउनु थियो । भन्छिन्, ‘जीविकोपार्जनकै लागि भनेर विभिन्न शैक्षिक संस्था र इ–कमर्ससम्बन्धि संस्थाहरूमा काम गरेँ । पढ्दै सिक्दै आफूलाई स्थापित गर्नु पर्छ भनेर लागिरहेँ ।’ 

अंशु थप्छिन्,‘त्यही जागिर नपाएर भौतरिरहेका बेलाबाटै मनमा ईख बोकेर हिँडेकी थिएँ । एउटा सामान्य मान्छेलाई जागिर पाउन र जीवन चलाउन यो सहरमा कति कठिन रहेछ भनेर बुझेकी थिएँ । आफैँ उद्यमी बन्नुपर्छ र अरूलाई समेत रोजगारी दिनुपर्छ भन्ने सङ्कल्प थियो ।’

जागिर छाडेपछि

काठमाडौँमा पढ्दै धेरै ठाउँमा उनले काम गरिन् । तर, बिच बिचमा बेरोजगार हुँदाको त्यो सकसले उनको मन बिझाइ रहेको थियो । ‘काठमाडौँका लागि नौलो,  कोही कसैसँग चिनजान नभएको, त्यसमा पनि एक्ली छोरी मान्छेका लागि सहर साँच्चै निर्दयी थियो । त्यसैले जागिर पाएका दिनदेखि आफ्नो तलबको स–सानो अंश बचत गरेर राखेकी थिएँ’, भेट्टायो सम्मको यात्राका बारेमा विस्तार लगाउँछिन् अंशु, ‘थुप्रै संस्था सँगको सहकार्यसँगै म पञ्चकन्या ग्रुपसँग जोडिएकी थिएँ । काम गर्दै जाँदा भेट्टायोको अवधारणाले मूर्त रूप लियो।’

आफ्नै कम्पनी सञ्चालनमा आएसँगै उनी खुसी छिन् । आज आफूसँगै अरूलाई काम दिन सकेकोमा उनी गर्व गर्छिन् । ‘आज भेट्टायोमा मात्रै ३ सय बढी प्रोभाइडर्स छन् । तिनलाई काम दिन पाएकोमा निकै गौरव अनुभूत हुन्छ’, व्यावसायिक यात्राका बारेमा अंशु थप्छिन्,‘एउटी महिला उद्यमीका लागि धेरै चुनौती छन् । घरपरिवार साथीभाइ सबैको साथ र सहयोग पनि उत्तिकै आवश्यक छ, र त्यो पाएर नै म यहाँ छु ।’ 

उनी सफलताको सूत्र शेयर गर्छिन्, ‘यहाँ असम्भव केही छैन । र, सम्भव बनाउन हामीमा धैर्यता चाहिन्छ, हार्डवर्क चाहिन्छ अनि सफलताले आफै पछ्याउँछ ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।