शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षाविदहरूको गुनासो : मन्त्रीहरूको गणेश बनेर घुम्नेहरूको मात्रै कुरा सुनियो

सोमबार, ०३ असोज २०७९, १९ : ५४
सोमबार, ०३ असोज २०७९

शिक्षा विद्हरुले शिक्षाले राष्ट्रियता र उत्पादनलाई जोड्न नसके मुलुकको समग्र शिक्षा प्रणाली नै विफल हुने बताएका छन् । सोमवार राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको विद्यालय तहको परीक्षाको नतिजा–वर्तमान अवस्था र भावी कार्यदिशा विषयक छलफल कार्यक्रममा बोल्दै शिक्षाविदहरूले यस्तो बताएका हुन् । 

उनीहरूले विद्यार्थीहरूलाई दिने शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको बताए । शिक्षाविदहरूले उच्च ग्रेडिङ ल्याएका विद्यार्थीहरू समेत अहिले विदेश जाने लाइनमा बस्ने गरेको बताए । शिक्षाविद् विद्यानाथ कोइरालाले निजी विद्यालयहरूले क्याम्पस तल आएको र सरकारले विद्यालयमाथि भन्ने दुईवटा बुझाई भएको कारण विद्यार्थीहरू समस्यामा परेको दाबी गरे । उनले विद्यार्थीहरूलाई सरकारले एसईई दिएर पश्चात् के विषय लिएर बढ्ने भन्ने स्पष्ट मार्ग निर्देशन गर्न नसकेको बताए । 

उनले भने,‘पछिल्लो समय निजी विद्यालयहरूले क्याम्पस तल आएको बुझ्नुभएको छ । सरकारले विद्यालय माथि गएको भन्ने बुझ्नुभएको छ । दुईवटा बुझाइले गर्दा अहिले विद्यार्थीहरू फसेका छन् । अहिले विद्यार्थीहरूले एसईई दिएर माथि गएर के विषय पढ्ने भन्ने यकिन गर्न सकेनौँ । अब युनिभर्सिटी प्रणाली लचिलो भएन भने विद्यालय माथि गएको अर्थ केही हुँदैन । निजी विद्यालयका साथीहरुले स्पष्ट पार्नुप¥यो विद्यालय माथि गएको हो वा क्याम्पस तल गएको हो । क्याम्पसहरूले विद्यार्थीहरूलाई यो विषय पढेन भने काम छैन भनेर भन्न पाइँदैन । त्यस्तो गर्दा विद्यार्थीहरुलाई अन्याय हुन्छ विद्यार्थीहरूले चाहेको विषय पढ्न पाउनुपर्छ । विद्यार्थीहरूको नतिजा शिक्षकहरूको कारणले नै नराम्रो आउने हो । विद्यार्थीलाई संघीय सरकार,प्रदेश र स्थानीय सरकारले पढाउने होइन शिक्षकले पठाउने हो । अब शिक्षक सुध्रने हो भने बन्ने हो नभए बन्दैन । शिक्षकहरूलाई ग्रेडिङ गर्नुपर्ने बेला भयो । अब्बल, दोयम, सिम र चार गरी शिक्षक आफैले आफैँलाई ग्रेडिङ गर्ने गरी गर्नुपर्छ ।’

त्यस्तै शिक्षाविद् मनप्रसाद वाग्लेले सरकारले शिक्षाविद्हरूले दिएको सुझाव तथा कुरा सुन्न छोडेको गुनासो गरे । उनले मन्त्रालयमा मन्त्रीहरूको गणेश बनेर घुम्नेहरूको मात्रै कुरा सुनेर कार्यान्वयन हुने गरेको बताए । वाग्लेले २०७३ साउन १ गतेको ग्रेडिङ प्रणालीको शिक्षा मन्त्रालयको निर्णयलाई मन्त्रालयले नै कुल्चिएर एसईई परीक्षा ध्वस्त बनाएको आरोप लगाए । उनले मुलुकभरका विद्यार्थीहरूलाई विद्यालय, क्याम्पस,तथा युनिभर्सिटीहरूमा विद्यार्थीहरूलाई सिकाउने भन्दा पनि पढाउने काम मात्रै हुँदा गुणस्तरीयता कम हुँदै गएको बताए । 

उनले भने,‘ अहिले बोल्ने मुड छैन । हामीले बोलेको कुरा कार्यान्वयन हुँदैन । यहाँ गणेशहरूले वरिपरि घुम्यो भने उसैका कुरा सुन्ने गर्छन् । सिङ्गो सरकार वा शिक्षा मन्त्रालय शिक्षाविद्हरूका कुरा सुन्न तयार छैन । वि.सं.२०७३ साउन १ गतेको ग्रेडिङ प्रणालीको मन्त्रालयको निर्णयलाई मन्त्रालयले नै निर्णयलाई कुल्चिएर देशको एसईई परीक्षा ध्वस्त बनाएको हो । त्यसलाई गाइडलाई गर्न ग्रेडिङ निर्देशिका आयो त्यो राम्रो छ । देशमा विद्यार्थीहरूलाई पठायौँ मात्रै सिकाउने काम भएन । हाम्रा विद्यार्थीले माथि गएर गरिखान सक्दैनन् । टेक्स्ट बुक घोकाएका छौँ । विद्यार्थीहरूको क्षमता थाहा पाउन सकेका छैनौँ । हाम्रो पाठ्यक्रमलाई फालेर टेस्ट बुकलाई फालेका छौँ । टेस्ट बुक सम्पूर्ण होइन । हाम्रो देशमा टेस्ट बुक नै अल इन अल हो । अहिले आइटम बैंकिङका कुरा आएका छन् । आइटम बैंकिङ पनि टेक्स्टबुकको कन्सेप्ट नहोस् ।’

त्यस्तै अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सरकारले शिक्षालाई देशको उत्पादन र अन्य चारित्रिक कुराहरूमा जोड्न नसके देशको समग्र शिक्षा प्रणाली फेलियर हुने बताए । उनले विद्यालय तह,क्याम्पस तहको नतिजालाई कुनै एउटा निकायले अनुसन्धान गर्नुपर्ने सुझाव दिए । भण्डारीले राष्ट्रको क्षमता मापन गर्ने राष्ट्रिय परीक्षा एसईईको नतिजाले शिक्षा क्षेत्रमा डर लाग्दो अवस्था देखिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप