मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

वासिङ्टन डिसीमा बृहत् दसैँ तिहार मेलाको आयोजना हुने

सोमबार, ०३ असोज २०७९, १९ : ०८
सोमबार, ०३ असोज २०७९

संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्यान्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी असोज ९ मा वासिङ्टन डिसीमा बृहत् दसैँ तिहार फेस्टिभलको आयोजना गरिने भएको छ ।

स्थानीय बुल रन पार्कमा आयोजना हुने उक्त बृहत् दसैँ तिहार फेस्टिबल अनेस्ट रियल स्टेटको प्रस्तुति तथा थ्री ई इन्टरटेनमेन्ट नामक संस्थाले व्यवस्थापन गर्ने बताइएको छ । मेलामा दसैँ बजार, नेपाली खानाका परिकार, नेवारी खाना, सेलरोटी, गहना पसल र अन्य विभिन्न सामानका स्टलको व्यवस्था रहनेछ । मेलामा दिउँसोको समय मङ्गलधुन, लाखे नाच, रथ प्रदर्शनीलगायतका सांस्कृतिक कार्यक्रम र तामाङ, नेवार, गुरुङ र अन्य जातजातिका पहिचान झल्किने प्रस्तुति हुने संयोजक राजश्री श्रेष्ठले जानकारी दिए । आयोजकका अनुसार दिवा समयका सबै प्रस्तुति अवलोकन गर्न र सहभागी बन्नका लागि निःशुल्क प्रवेशको व्यवस्था रहनेछ । 

त्यसैगरी साँझको समयमा प्रसिद्ध गायक एड्रियन प्रधान, निमा रुम्बा र अमेरिकामा रहेका स्थानीय नेपाली ब्यान्डका सदस्यले पनि साङ्गीतिक प्रस्तुति दिनेछन् । उक्त मेलामा नेपालको प्रसिद्ध प्रकाशन गृह फाइनप्रिन्टले नेपाली पुस्तक प्रदर्शन गर्नेछ । विभिन्न इच्छुक व्यावसायिक प्रतिष्ठानलाई आफ्नो सामानको स्टल राख्न आह्वान गरेकामा निकै उत्साहजनक प्रतिक्रिया पाएको श्रेष्ठले जानकारी दिए। 

आयोजकका अनुसार वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्यान्डमा रहेका नेपाली डायस्पोरा र अन्य सहरहरूमा रहेका नेपाली र नेपाली भाषी गरी झन्डै पाँच हजारको सहभागिता रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप