आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रत्यक्ष चुनाव लड्न अनिच्छुक एमालेका ४ नेता समानुपातिक सूचीमा अटाएनन्

सोमबार, ०३ असोज २०७९, २३ : १९
सोमबार, ०३ असोज २०७९

नेकपा एमालेले समानुपातिक निर्वाचनतर्फको उम्मेदवारको बन्दसूची बुझाउँदा प्रत्यक्षतर्फ चुनाव लड्न अनिच्छुक भएका चार नेता समेटिएनन् । समानुपातिक सूचीमा नअटाउनेहरुमा उपाध्यक्षहरु रामबहादुर थापा, ‘बादल’, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा  उपमहासचिव विष्णु रिमाल हुन् । ज्ञवाली, शाक्य र रिमाल यसअघि नै समानुपातिक सूचीमा परेकाले  यो पटक समानुपातिकमा स्थान नपाएका हुन् । त्यस्तै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ गत राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार भएकाले समानुपातिक सूचीमा पर्नबाट बञ्चित भएका हुन् । यी चारै नेताले प्रत्यक्ष चुनाव लड्न अनिच्छा देखाउँदै आएका छन् । 

 एमालेले उम्मेदवारको आधार र मापदण्ड बनाउँदा नै पहिला समानुपातिकमा बसेका, राष्ट्रिय सभामा रहेकाहरुलाई नदोहोर्याउने नीति बनाएको थियो । सोही नीति र मापदण्डका कारण पार्टीका १९ पदाधिकारीमध्ये कोहीपनि यो पटक समानुपातिक सूचीमा पर्न नसकेका हुन् ।

एमालेका १९ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओलीसहित १५ जना प्रत्यक्षतर्फको उम्मेदवार बन्ने लगभग निश्चित छ । तर, बाँकी चारजनामध्ये तीन उपाध्यक्ष र एक उपमहासचिवले भने न प्रत्यक्षतर्फ लड्ने भुगोल छ न समानुपातिकमै नाम समेटियो । जसका कारण उनीहरुबारे एमालेभित्रै चासो प्रकट भएको छ । 

रामबहादुर थापा माओवादी केन्द्रका नेता हुन् । उनी २०७४ पछि एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजन हुँदा एमालेतर्फ बसेका थिए । उनी तत्कालिन माओवादीबाट संविधान सभाको पहिलो निर्वाचनमा चितवन ३ को नेतृत्व गर्दै निर्वाचित भएका थिए । उक्त क्षेत्रबाट २०७४ को निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए । विगतमा प्रचण्ड र बादल एउटै पार्टीमा भएपनि हाल फरक पार्टीमा पुगेपछि थापाले प्रचण्डसँगै निर्वाचन लड्ने विकल्प भने बाँकी नै छ । तर उनले प्रत्यक्षमा प्रचण्डसँग लड्न अनिच्छा प्रकट गरेको बुझिएको छ । 

यस्तो हुँदा कि उनले अर्कै निर्वाचन क्षेत्र खोज्नुपर्ने हुन्छ कि संसदीय राजनीति नै छोडनुपर्ने अवस्था देखिएको छ । त्यस्तै दाङ ३ का युवराज ज्ञवाली पनि प्रत्यक्ष निर्वाचन नलड्ने मनस्थितिमा छन् । समानुपातिकमा नपर्ने पार्टीको मापदण्डले उनीपनि लगभग संसदीय राजनीतिबाट बाहिर पुगेका छन् । त्यस्तै बागमती प्रदेशको मुख्यमन्त्री समेत भैसकेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अब आफूले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा गरिसकेकी छन् । यस्तो हुँदा उनलाई प्रत्यक्षका लागि निर्वाचन क्षेत्र नै आवश्यक पर्ने भएन ।

विगतमा समानुपातिक सूचीमा रहेका उपमहासचिव विष्णु रिमालको हकमा पनि समस्या त्यस्तै छ । एमाले अध्यक्ष ओलीका विश्वासपात्र रहेका रिमालको घर नुवाकोट भएपनि उनी नुवाकोटको राजनीतिमा पछाडि छन् । ओलीको विश्वासपात्र भएकै कारण पार्टीको उपमहासचिव भएका रिमाल आगामी मंसिरमा हुने निर्वाचनबाट एमाले सरकार बनाउने हैसियतमा पुगे राजदूत वा कुनै महत्वपूर्ण पद पाउने आशमा देखिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप