बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ई–सिम वितरणलाई व्यापक बनाउँदै नेपाल टेलिकम, कस्तो मोबाइलमा प्रयोग गर्न सकिन्छ ?

सोमबार, ०३ असोज २०७९, १६ : ४९
सोमबार, ०३ असोज २०७९

नेपाल टेलिकमले निःशुल्क ई–सिम वितरणलाई व्यापक बनाउन लागेको छ । हाल सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई–सिम मंगलबारदेखि कम्पनीका ग्राहक सेवा केन्द्रहरु नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु, छाउनी र पुल्चोकबाट पनि वितरण गर्न लागिएको टेलिकमले जनाएको छ । 

कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रवर्द्धनात्मक परीक्षणको रुपमा ई–सिमको वितरण गरिरहेको र ई–सिम कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको जानकारी गराएको छ । 

कम्पनीका अनुसार मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने÷नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान टेलिकमले अनुरोध गरेको छ । 

यसका लागि आफ्नो मोबाइलबाट  एस्ट्रेह्याजकि ०६ क्याजकी गर्नुपर्छ । यसरी डायल गर्दा ईआईडी लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिने टेलिकमले स्पष्ट गरेको छ । 
 
त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डाटा प्लान देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ । 

फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने र नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप