बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बारा/पर्सा करिडोरमा अघोषित रुपमा दैनिक १६ घन्टासम्म लोडसेडिङ भएको उद्योगीहरुको गुनासो

सोमबार, ०३ असोज २०७९, १६ : २५
सोमबार, ०३ असोज २०७९

 बारा/पर्सा औद्योगिक करिडोरमा दैनिक अघोषित रुपमा १२ देखि १६ घन्टा लोडसेडिङ भएको उद्योगीहरुको गुनासो छ । दुई सातादेखि बिना जानकारी साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म पटकपटक विद्युत कटौती भएको उनीहरुले जनाएका छन् ।

शालिमार सिमेन्टका व्यवस्थापक गिरीधारी अग्रवालले लगातार १६ घन्टा लोडसेडिङ्ग हुँदा उत्पादन ५० प्रतिशतले घटेको जनाए । ‘बजारमा डिजल पनि सर्टेज छ, डिजलले चलाउनुप-यो भने पनि सम्भव छैन, ५० प्रतिशत उत्पादन लागत बढ्छ,’ अग्रवालले भने । विद्युतको तुलनामा डिजलबाट उत्पादन गर्दा प्रतिबोरा सिमेन्टमा ५० रुपैयाँ लागत बढ्ने उनको भनाइ छ ।

विद्युत प्राधिकरणले बिना जानकारी पटकपटक विद्युत कटौती गर्दा ठुला मेशिनको पार्टपुर्जा बिग्रने र सञ्चालनमा समेत समस्या भएको गणपति बनस्पति घिउ उद्योगले जनाएको छ । सो उद्योगका प्रशासकीय प्रमुख दिनेशचन्द्र गिरीले साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म दैनिकजसो पटकपटक अघोषित लोडसेडिङ हुने गरेको बताए । ‘विद्युत कटौतीको फिक्स समय छैन, २ सातादेखि औसतमा १० देखि १२ घन्टा, कहिलेकाहीँ त १६ घन्टासम्म लोडसेडिङ्ग भइरहेको छ ।’

बारा÷पर्सा औद्योगिक करिडोरमा ठुलासाना गरी ५ सयभन्दा धेरै निमार्णजन्य, खाद्य र तेलहन उद्योग छन् । रुस–युक्रेन युद्धका कारण पछिल्लो समय कोइलाको मूल्य बढेको छ । अर्कोतिर तेलहन उद्योगका लागि आवश्यक कच्चा पदार्थको मूल्यसमेत बढेकाले डिजलबाट उद्योग सञ्चालन गर्दा ५० प्रतिशतले उत्पादन लागत बढ्ने र त्यसको मार अन्ततः उपभोक्तामा पर्नेे उद्योगीहरुले जनाएका छन् ।

‘केही युनिट २४ सै घन्टा चलाउनुपर्ने हुन्छ, ती बाहेक अहिले सबै प्लान्ट बन्द छ,’ गणपति वनस्पति उद्योगका प्रशासकीय अधिकृत गिरीले भने । करिडोरको सबैभन्दा ठुलो उद्योग जगदम्बा स्टिल प्रशासनले पनि लगातारको लोडसेडिङका कारण रातभर उत्पादन बन्द गर्नुपरेको  जनाएको छ । ‘१/२ दिनदेखि विद्युत आपूर्तिमा सामान्य सुधार भएको छ तर लोडसेडिङ रोकिएको छैन,’ जगदम्बा स्टिल सिमराका प्रमुख अनुराग गुप्ताले भने ।

जगदम्बा स्टिल देशभरकै सबैभन्दा धेरै विद्युत खपत गर्ने उद्योग हो । यसले मासिक २८ करोड रुपैयाँ विद्युत महसुल बुझाउने गर्दछ । जगदम्बापछि अशोक स्टिलले ७ करोड, हुलास स्टिलले ३ करोड जगदम्बा ईन्टरप्राईजेजले १ करोड, शालिमार सिमेन्टसहित करिडोरका १ दर्जन बढी उद्योगले मासिक १ करोडभन्दा बढी विद्युत महसुल बुझाउने गर्दछन् ।

प्राधिकरणले उद्योगहरुलाई प्रतियुनिट अधिकतम् १० रुपैयाँमा विद्युत बेच्दै आएको छ । पछिल्लो समय लगातारको लोडसेडिङले उत्पादन खर्च बढेको भन्दै तेल तथा घिउ उद्योगले भने मूल्यवृद्वि समेत गरेका छन् । लोडसेडिङका कारण डिजलको प्रयोग गर्दा उत्पादनको मूल्य बढेको र ढुवानीमा भाडादर समेत वृद्धि भएकाले खर्चका आधारमा मूल्यवृद्वि गरिएको वनस्पति घिउ उद्योगका प्रशासक दिनेशचन्द्र गिरीले जनाए ।

शिवशक्ति घिउ उद्योगका सञ्चालक राजु गेडिया लोडसेडिङ समाधान नभए उद्योग बन्द गनुपर्ने स्थिति आइसकेको बताउँछन् । ‘पटकपटक ५÷५ मिनेट, १०÷१० मिनेटमा बिना जानकारी लोडसेडिङ हुन्छ, कसरी उद्योग चलाउने ?’ उनले भने ।

भारतबाट ल्याइने विद्युत पनि राति अवरुद्ध

बिहार सरकारले नेपाललाई दिँदै आएको ३ सय मेघावाट प्रसारण लाइन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुने गर्दछ । बिहार सरकारले दिनभर सोलारबाट विद्युत उत्पादन गरेर ३ सय मेघावाट विद्युत नेपाललाई दिने गर्दछ भने साँझ ६ बजेपछि पूर्ण रुपमा कटौती गर्ने गर्दछ ।

‘अहिले १२ घन्टा बिहार राज्य सरकारले बिजुली कटौती गरेको छ,’  विद्युत प्राधिकरणका एक अधिकारीले भने, ‘बिहार सरकारले दिने लाइन कटौती भएपछि अन्य जुनसुकै माध्यमबाट विद्युत ल्याए पनि वीरगञ्ज करिडोरमा पर्याप्त विद्युत दिन सकिँदैन ।’

प्राधिकरणले रक्सौलबाट ८० मेघावाट, बुटवल करिडोरका लागि रामनगरबाट ५० मेघावाट र बाँकी विद्युत कटैया प्रसारण लाइनबाट विराटनगर करिडोरमा जडान गरेको छ । ‘बिहार सरकारले दिनभर दिने विद्युतका कारण विराटनगर, बुटवल र वीरगञ्ज करिडोरमा उद्योगहरु आनन्दले चल्दछ तर, साँझ परेपछि बन्द हुन्छ,’ प्राधिकरण स्रोतले भन्यो ।

बिहार सरकारले भारु ६ रुपैयाँ १८ पैसा प्रतियुनिटमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बेच्ने गर्दछ । ‘वीरगञ्ज करिडोरमा बिहारबाट विद्युत ल्याउनैपर्छ, अरु कुनै स्रोत नै छैन, अन्तबाट सम्भव पनि छैन,’ प्राधिकरणका एक अधिकारीले भने ।

बारा/पर्सा औद्योगिक करिडोरका उद्योगले दैनिक २ सय मेघावाट विद्युत खपत गर्ने गर्दछन् भने थप एकसय मेघावाट विद्युत माग रहेको प्राधिकरणले जनाएको छ ।

लोडसेडिङ छैन : प्राधिकरण

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले उद्योगहरुमा कुनै प्रकारको लोडसेडिङ नभएको दाबी गरेका छन् । ‘नेपालमा उद्योगीहरु कम, व्यापारीहरु बढी छन् । उहाँहरु तिललाई पहाड बनाउन जान्नुहुन्छ, राजनीति धेरै गर्नुहुन्छ तर उद्योगमा अहिले लोडसेडिङको कुनै समस्या छैन,’ प्रवक्ता भट्टराईले भने, ‘रक्सौलबाट राति विद्युत कटौती भए पनि उद्योगहरुमा कटौती भएको छैन ।’

भट्टराईले राति बिजुली अत्यधिक खपत हुने समयबाहेक अन्य समयमा फुलफेजमा लाइन दिएको दाबी गरे । तर यता नेपाल उद्योग वाणिज्य महासंघका मधेस प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले उद्योगहरुमा देखिएको लोडसेडिङको समस्या तत्काल समाधान गर्न प्राधिकरणलाई आग्रह गरेका छन् । उनले प्राधिकरण घाटामा जाँदैमा त्यसको भार उद्योगीहरुले व्यहोर्न नसक्ने टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप