असिगडामा मोटरेबल पुलको शिलान्यास, त्रिदेशीय व्यापारको ढोका खुल्छ – मन्त्री बडू
दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माणको शिलान्यास गरिएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकाली नदीमाथि पुलको शिलान्यास गरिएको हो ।
नेपालतर्फ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पुलको सोमबार दिउँसो शिलान्यास गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । भारत सरकारको लगानीमा निर्माण हुने पुल शिलान्यास कार्यक्रममा भारतीय राजदूतावासका प्रतिनिधि, दार्चुलाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो । पुल शिलान्यास कार्यक्रमको अवसरमा महाकाली नदीको समेत पूजा गरिएको छ ।
नेपालतर्फ पुलको शिलान्यास गर्दै मन्त्री बडूले सुदूरपहाडमा पहिलोपटक नेपाल(भारत जोड्ने मोटर पुल बन्न लागेको बताए । यसअघि कञ्चनपुर, कैलालीमा पुल भएपनि पहाडी जिल्लामा दुई देश जोड्ने पक्की पुल बनेको थिएन । मन्त्री बडूले भने, ‘दार्चुलामा पुल बनेसँगै सुदूरपहाडको समृद्धिको ढोका खुल्छ ।’ दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला पनि भएकोले त्रिदेशीय (नेपाल–भारत–चीन) व्यापारको समेत ढोका खुल्ने उनको भनाइ छ ।
पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडिबुटी, धातु र कच्चापदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने उनले बताए । २०४८ सालदेखि नै पुल बनाउने चाहाना र पहल भएपनि अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा एमओयुमा हस्ताक्षर भएर प्रकृया अगाडि बढेको मन्त्री बडूले बताए । महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुला, बैतडी, बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने मन्त्री बडूको भनाई छ ।
यसअघि पटकपटक महाकालीमा नेपाल–भारत जोड्ने पक्की पुल निर्माणका लागि प्रकृया अघि बढेपनि निर्माण कार्य सुरु हुन सकेको थिएन । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पुल निर्माणको सर्भे भएर निर्माण कार्यको थालनी नहुदै टेण्डर रद्ध गरिएको थियो । त्यसपछि पनि पुल निर्माणको विषयमा पटकपटक दुई देशबीच छलफल भएपनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । पछिल्लो समय गत महिना मात्रै पुल निर्माणको टेन्डर कार्य सम्पन्न भएको छ ।
दार्चुलामा महाकाली नदीमाथि भारतसँग जोड्ने सात वटा झोलुंगे पुलहरू सञ्चालनमा रहेका छन् । दुई वटा पुलहरू निर्माणाधिन अवस्थामा रहेका छन् भने थप केही पुलहरू निर्माणका लागि पहल भइरहेको छ । तर मोटरेबल पुल नहुदा कनेक्टिभिटीमा कतिपय समस्याहरु कायमै रहेका छन् । मोटरेबल पुल नभएको कारणले गर्दाखेरि भारतसँगको कनेक्टिभिटीमा केही कमि महसुस भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान