शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैँमा नक्कली रक्सीको बिगबिगी

तस्करीको मदिराले बजार ओगट्यो
सोमबार, ०३ असोज २०७९, १७ : ०४
सोमबार, ०३ असोज २०७९

सरकारले व्यापार घाटा उच्च भएको भन्दै गत वैशाख दोस्रो सातादेखि १० वटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । यसरी प्रतिबन्धित हुने वस्तुहरूमा महँगो मूल्यका मदिरा पनि परेका थिए ।

सरकारको निर्णयपछि भन्सार बिन्दुमार्फत औपचारिक रूपमा मदिराको आयात भएको छैन । बजारमा यत्रतत्र सबै प्रकारका ब्राण्डका मदिरा उपलब्धता छ । सरकारी तथ्यांकमा महँगो मूल्यका मदिराको आयात देखिँदैन, तर बजारमा सबै ब्राण्डका महँगा मदिरा जति पनि पाइन्छ ।

मदिरा आयातकर्ता संघका महासचिव गौरव सारडाले बजारमा तस्करीको मदिरा छ्यापछ्याप्ती पाउन थालिएको बताए । भारतसँग खुला सिमानाको दुरुपयोग गर्दै तस्करीको मदिराले बजार ओगट्न लागेको उनको भनाई छ ।

संघका अनुसार विदेशी मुद्राको सञ्चिति जोगाउने लक्ष्यसहित महँगा मदिराको आयात रोक्ने सरकारी नीतिले चोरी पैठारी बढेको हो । सरकारले वैशाख १३ गतेदेखि प्रतिबन्ध लगाएको मदिराको आयात अझै खुलाएको छैन । यसले नेपालको राजश्व सङ्कलनमा समेत असर पर्न थालेको संघका महासचिव सारडाले बताए । 

‘वर्षमा करिब २ देखि ३ अर्ब रुपैयाँको मात्रै विदेशी मदिरा आयात हुन्छ, यति आयात बराबरको विदेशी मुद्रा रोकेर कति रोकिएला ? यसबाट त राज्यले आर्जन गर्ने राजश्व समेत प्रभावित बनेको छ,’ महासचिव सारडाले रातोपाटीसँग भने ।

सरकारले मदिरा आयात रोके पनि बजारमा पर्याप्त मात्रामा मदिरा पाइरहेको छ । यसबाट, राज्यले विदेशी मुद्रा जोगाउन औपचारिक माध्यमबाट आयात रोके पनि अनौपचारिक माध्यमबाट मदिरा आयात भइरहेको संघले जनाएको छ ।

‘अहिले बजारमा छ्यापछ्याप्ती विदेशी मदिरा छ, त्यो मदिरा भारतीय खुला सिमानाको दुरुपयोग गर्दै भित्रिइरहेको छ । यसबाट राज्यले करोडौँ राजश्व गुमाइरहेको छ,’ महासचिव सारडाले थपे ।

याक ब्रुअरीका सञ्चालक रवि केसीले बजारमा सरकारले प्रतिबन्ध लगाएको विदेशी ब्राण्डका मदिरा पर्याप्त मात्रामा पाइँदै आएको बताए । उनले नेपालीको महान चाड भनेर चिनिने दशैं र तिहारमा सबैभन्दा धेरै मदिरा खपत हुनेमा सरकारको प्रतिबन्धसँगै औपचारिक विक्री खुम्चिने र तस्करीको मदिराले बजार ओघट्ने बताए । यद्यपि, हाल मदिराको माग विगत ४÷५ वर्षयताकै न्यून स्तरमा रहेको उनको भनाइ छ । 

‘अहिले मदिराको बजारमा मन्दीको प्रभाव छ तर, अलिअलि माग पनि तस्करीको माध्यमबाट आइरहेको छ, मदिराले धानेको छ,’ केसीले भने ।

सरकारले भदौ १४ गतेदेखि लागू हुने गरेर राजपत्रमा सूचना प्रकाशन गर्दै प्रतिबन्धित १० मध्ये ६ वस्तुको आयात खोलेको छ । उक्त मितिबाट कुरकुरे, कुरमुरे, लेज, हिरा, रङ्गिन टेलिभिजन, खेलौना र तासजस्ता वस्तुको आयात प्रतिबन्ध खुलाएको हो । यी बाहेक अन्य वस्तुको आयात प्रतिबन्ध सरकारले असोज २८ गतेसम्मलाई लम्ब्याएको छ ।

‘ओल्ड दरबार’मा पानी मिसाएर डबल ब्ल्याक बनाउने गिरोह सक्रिय

यसैबीच, सरकारले आयात प्रतिबन्धको मौका छोपेर नेपालमै चर्चित विदेशी ब्राण्डका मदिरा बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । प्रहरीले भक्तपुरको दुवाकोटमा नक्कली ब्ल्याक लेबल, ज्याक डेनियल्स, डबल ब्ल्याक र रेड लेबल बनाउने कारखानामा छापा मारेको हो । यही वर्षको भदौ ९ गते दोलखा घर भएका भगवान् बस्नेतसहित दुई जनालाई प्रहरीले पक्राउ नै गरेको थियो । उनीहरूले महँगा विदेशी ब्राण्डका मदिरा बनाउँदै आएका थिए ।

पक्राउ परेका नक्कली मदिरा उत्पादकले ओल्ड दरबारमा पानी मिसार विदेशी ब्राण्डको मदिरा बनाउँदै आएका थिए । ‘सरकारले प्रतिबन्ध लगाएपछि एकातिर तस्करी मौलाएको छ भने अर्कोतिर नक्कली मदिराको बिगबिगी छ, यसबाट प्रतिष्ठित विदेशी ब्राण्डका मदिराको इमेज नै खराब बन्छ, जसले दीर्घकालीन रूपमा देशको अर्थतन्त्रलाई नै प्रभावित बनाउँछ,’ सारडाले भने ।

नेपाली मदिरालाई मिसाएर विदेशी मदिराको बोतलमा प्याक गरेर आरोपीहरुले नक्कली मदिरा बनाएर वितरण गर्ने गरेका थिए । ओल्ड दरबार (ब्ल्याक चिम्नी) दुई बोतल र एक बोतल ब्ल्याक लेबल मिसाएर उनीहरुले ४ बोतल डबल ब्ल्याक लेबल बनाउने गरेका थिए । डबल ब्ल्याक लेबल बनाउन आरोपीहरुले ‘रुद्रा’ नामको रंग पनि प्रयोग गर्ने गरेको काठमाडौं प्रहरीका एसएसपी भरत बोहोराले बताएका छन् ।

खासै आयात देखिँदैन औपचारिक माध्यममा

चालू आर्थिक वर्षको साउन महिनामा १ करोड ७० लाख रुपैयाँ बराबरको वाइन आयात भएको छ । यस्तै, १५ करोड ६४ लाख रुपैयाँ बराबरको ह्वीस्कीको कच्चा पदार्थ आयात भएको छ । भन्सार विभागका अनुसार ६ लाख रुपैयाँको जिन र ३ लाख रुपैयाँ बराबरको भोड्का आयात भएको छ ।

गत आर्थिक वर्षको साउनदेखि असोज महिनासम्ममा ५ करोड ४४ लाख रुपैयाँको वाइन आयात भएको थियो । ६ करोड ५५ लाख रुपैयाँको एक्सट्रा नेचुरल मदिरा आयात हुँदा २ करोड ९४ लाख रुपैयाँको मदिरा आयात भएको छ । विभागका अनुसार ५७ करोड २७ लाखको ह्वीस्की, ३६ लाखको जिन, २५ लाखको भोड्का र १ करोड ७ लाख रुपैयाँका अन्य प्रकारका मदिरा आयात भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप