बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान जोगाउन गणतन्त्र पक्षधर एकताबद्ध होऔं : मुख्यमन्त्री केसी

सोमबार, ०३ असोज २०७९, १४ : १७
सोमबार, ०३ असोज २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान कार्यान्वयन र रक्षाका लागि गणतन्त्र पक्षधरहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपालको संविधानमाथि दिन प्रतिदिन खतरा उत्पन्न भएको बताउँदै उनले गणतन्त्र र संविधान विरोधीहरुले दुई पटकसम्म संसद विघटन गरेर संविधान च्यात्ने प्रयास गरेको टिप्पणी गरे ।

लुम्बिनी प्रदेश सरकारद्वारा सोमबार बुटवलमा आयोजित संविधान दिवस २०७९ को कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधान विरोधी प्रवृत्तिलाई राज्यले समयमै चिन्नुपर्ने उल्लेख गरे । लुम्बिनी प्रदेश सरकारले आफ्नो कार्यकालमा नमूना कार्य गरेको बताउँदै उनले त्यसको प्रचार भने पर्याप्त हुन नसकेको बताए । उनले लुम्बिनी प्रदेशका गौरवका आयोजनाका काम जारी रहेको बताए ।

लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै मुख्यमन्त्री केसीले नेपालको संविधान २०७२ बलिदानबाट प्राप्त भएको भन्दै त्यसमा परिवर्तनकारी शक्तिको हक लाग्ने उल्लेख गरे । परिवर्तनकामी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले उनै शहीदहरुको बलिदानबाट संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गरे ।

कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु लगायत मन्त्रीहरु, प्रमुख सचिव, सचिव लगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप