शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

गैरीगाउँमा किराना पसलेको मृत्यु : हत्या कि भवितव्य ?

सोमबार, ०३ असोज २०७९, २३ : २०
सोमबार, ०३ असोज २०७९

दोलखा घर भएका ३० वर्षीय सुरज खड्का आइतबार मृत भेटिए । काठमाडौंको गैरीगाउँ स्थित ‘बाजेको सेकुवा’ अगाडि मुल सडकबाट तल खसेको अवस्थामा उनको शव फेला परेको थियो । दोलखाको तामाकोशी गाउँपालिका घर भएका सुरज किराना पसले हुन् । सिनामंगलस्थित सुकुम्बासी बस्तीमा उनको किराना पसल छ । मृत भेटिएका सुरजको टाउकोमा चोट देखिएको छ ।

शनिवार राति सबा १० बजे उनी तीनकुनेबाट गैरीगाउँतर्फ हिँडेको सिसिटिभी फुटेज भेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले रातोपाटीलाई बताए । उनले भने– ‘पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ, हामी विभिन्न कोणबाट अनुसन्धान गर्दैछौं ।’

‘हत्या वा भवितव्य’ भन्ने दुईवटा कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार अग्लो पर्खाल मुनि उनको शव भेटिएको हुनाले लडेर उनको मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ । पर्खालबाट कसैले धकेलेर वा कुटपिटबाट भाग्दा लडेर मृत्यु भएको हुनसक्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यस साँझ सुरजले मदिरा सेवन गरेर डेरातर्फ लागेको थाहा भएको छ । उनीसँग निकट रहेकी एकजना महिलासँग प्रहरीले सोधपुछ गरिरहेको छ । सुरजसँग निकट ‘केटी साथी’ ले उनलाई आर्थिक सहयोग गरिरहेको अनुसन्धानबाट थाहा भएको अधिकारीहरु बताउँछन् ।

घटनास्थलभन्दा पर दुई ठाउँमा रगत देखिको छ । सो रगत सुरजको थियो कि थिएन, भन्नेमा प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । शनिवार साँझ गैरीगाउँमा दुई समूहबीच झडप भएको थाहा भएको छ । सो झडप र सुरजको मृत्युको बीचमा अनुसन्धान अधिकृतहरूले कनेक्सन खोजिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप