मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

संविधानको मर्म र भावनालाई पालना गर्नु सबैको दायित्व : प्रदेश प्रमुख शर्मा

सोमबार, ०३ असोज २०७९, ०८ : ५५
सोमबार, ०३ असोज २०७९

 बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको मर्म र भावनालाई अक्षरश: पालना गर्दै कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताएका छन् । संविधान दिवस २०७९ को शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले संविधानको मर्म र भावनालाई अक्षरश पालना गर्नु सबैको दायित्व भएको बताए । 

आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरी संविधान जारी गरिएको उनले बताए ।

शर्माले  शुभकामना सन्देशमा नेपाली जनताको संघर्ष, त्याग र बलिदानपछि संविधान जारी भएको २०७२ असोज ३ लाई ऐतिहासिक दिवसको रुपमा स्मरण गरिरहेको उल्लेख गरे ।

‘नेपालको स्वतन्त्रता,सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै देशमा संघीय लोकतान्त्रिक  गणतन्त्रात्मक शासन प्रणाली मजबुत बनाउनका लागि संविधान जारी भएको सुखद् दिनका रुपमा ‘संविधान दिवस’ मनाउने गर्दछौं,’ उनको शुभकामना सन्देशमा भनिएको छ ।

शर्माले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट संविधान पारित भएकोमा गौरव बोध गरिएको बताए । उनले यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने नेपाल आमाका वीर सन्तानप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरे ।

उनले संविधानवादको सिद्धान्तलाई अंगिकार गरी संविधान कार्यान्वयनको सवालमा देखा परेका चुनौती सामना गर्न तत्पर रहनु आजको आवश्यकता भएको जोड दिदै यस दिवसले संविधानले परिकल्पना गरेको महान लक्ष्य प्राप्तिका लागि मन¸वचन र कर्मले समर्पित रहन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप