शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावको मुखमा लाइसेन्स नै लाइसेन्स

४५ दिनभित्र १४ अर्ब २५ करोड रुपैयाँ लगानीका कम्पनी थपिँदै
सोमबार, ०३ असोज २०७९, ०६ : ५३
सोमबार, ०३ असोज २०७९

चुनावको मिति नजिकिएसँगै सरकारले लाइसेन्स वितरणलाई प्राथमिकता दिएको छ । वित्तीय मध्यस्थता सेवा क्षेत्रभित्र पर्ने सेयर ब्रोकरदेखि नयाँ स्टक एक्सचेञ्ज र लघु बीमा कम्पनीको समेत लाइसेन्स वितरण यतिखेर सरकारको उच्च प्राथमिकतामा परेको छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले यसअघि नै ३५ दिने सूचना जारी गर्दै ७ वटा लघु बीमा कम्पनी सञ्चालनको अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन माग गरिसकेको छ । भलै ३५ दिने सूचनाको आज तेस्रो साता पूरा भइसक्दा समेत लघु बीमाका लागि एउटै आवेदन नपरेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । समितिले भदौ १० गते ३५ दिने सूचना मार्फत लघुबीमा लाइसेन्सको आवेदन माग गरेको थियो ।

आज मात्रै (असोज २ गते) पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले एउटा नयाँ स्टक एक्सचेन्ज, दुइटा कमोडिटी एक्सचेन्ज र जतिवटा माग हुन्छ त्यतिवटाको लाइसेन्स दिने गरी नयाँ धितोपत्र दलाल (ब्रोकर) लाइसेन्सको निवेदन खुल्ला गरेको छ । सेयर ब्रोकरको लाइसेन्सका लागि निवेदन दिने म्याद ३० दिन तोकिएको छ भने कमोडिटी एक्सचेन्ज र स्टक एक्सचेन्जको लागि निवेदन दिने म्याद ४५ दिन राखिएको छ ।

तोकिएको मापदण्ड, न्यूनतम चुक्ता पुँजीसहित इच्छुक लगानीकर्ताहरूले लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् । तर, चुनावकै मुखमा सरकारले यति धेरै लाइसेन्सका लागि किन आवेदन खुल्ला गर्‍यो ? प्रश्न उठेको छ ।

४५ दिनमा १४ अर्ब २५ करोडका कम्पनी आउँदै

लाइसेन्स वितरणको सार्वजनिक सूचना हेर्दा अबको बढीमा ४५ दिनभित्रै १४ अर्ब २५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजीसहित नयाँ कम्पनीहरू आउने छन् । गत भदौ १० गते सार्वजनिक सूचना जारी गर्दै बीमा समितिले प्रतिकम्पनी ७५ करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुने गरी लघु बीमाको लाइसेन्स खुल्ला गरेको छ । सात वटा लघु बीमा कम्पनीमा कुल ५ अर्ब २५ करोड रुपैयाँ लगानी हुनेछ । तथापि, दरखास्त आव्हानको आज २२ औँ दिन बितिसक्दा समेत समितिमा लघु बीमा कम्पनीका लागि एउटै आवेदन परेको छैन । 

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले कम्तीमा एउटा नयाँ स्टक एक्सचेञ्ज थप्ने गरी लाइसेन्स वितरणको तयारी गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले न्यूनतम चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुनुपर्ने भनेको छ । एउटा नयाँ स्टक एक्सचेञ्ज सञ्चालनमा आएपछि पुँजी बजारमा मध्यस्थता सेवा प्रदान गर्ने ३ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको अर्को कम्पनी थपिनेछ ।

बोर्डले आजै सार्वजनिक सूचना मार्फत धितोपत्र बजारका लागि मध्यस्थता सेवा प्रदान गर्ने अर्को सेवा प्रदायक कम्पनी सेयर ब्रोकरको लाइसेन्सको आवेदन समेत खुल्ला गरेको छ । न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेर खुल्ला गरिएको धितोपत्र दलाल (ब्रोकर) लाइसेन्सका लागि दरखास्त आह्वान गरिएकोमा कम्तीमा १० वटा नयाँ कम्पनी थपिने अनुमान छ । यसो भएमा २ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी भएका नयाँ ब्रोकर कम्पनीहरू स्थापना हुनेछन् ।

तीन वर्गमा बाँडिने धितोपत्र दलालको अनुमति पत्रका लागि बोर्डले सीमित ब्रोकरको काम गर्नेका लागि २० करोड रुपैयाँ न्युनतम चुक्ता पुँजी तोकेको छ भने पूर्ण कार्य गर्ने धितोपत्र दलालका लागि ६० करोड रुपैयाँ र धितोपत्र व्यापार पनि गर्ने (स्टक डिलर) का लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ । नयाँ थपिने कम्पनी सिमित ब्रोकर सेवाको अतिरिक्त मार्जिन ट्रेडिङ वा स्टक डिलरको पनि काम गर्ने गरी आए भने यो क्षेत्रमा थप हुने लगानी निकै बढी हुनेछ ।

धितोपत्र बोर्डले कमोडिटी मार्केटलाई समेत लक्षित गर्दै पछिल्लो समय वस्तु विनिमय बजार सञ्चालन कम्पनीका लागि समेत लाइसेन्सको दरखास्त आह्वान गरेको छ । जसमध्येबाट कम्तीमा २ कमोडिटी एक्सचेन्ज सञ्चालनमा आउने छन् ।

कमोडिटी एक्सचेन्जको न्यूनतम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ र २ अर्ब रुपैयाँ हुने भनिएको छ । चुक्ता पुँजी २ अर्ब रुपैयाँ भएका २ वटा नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आएभने सो क्षेत्रमा पनि ४ अर्ब रुपैयाँ चुक्ता पुँजी भएका थप कम्पनी खडा हुनेछन् ।

यसरी सरकारले चुनावकै मुखमा भटाभट लाइसेन्स वितरण गर्दै वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने कम्पनीको लागि मात्रै अबको ४५ दिनभित्र १४ अर्ब ७५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजीसहित दुई दर्जन हारहारमा कम्पनीहरू खडा हुनेछन् । कमोडिटी एक्सचेन्जले थप ब्रोकर खडा गर्ने भएकोले त्यसरी खडा हुने ब्रोकरको लागि पनि पुँजी थपिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप