सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा आत्महत्या न्यूनीकरण अभियान सुरु

आइतबार, ०२ असोज २०७९, २१ : ४८
आइतबार, ०२ असोज २०७९

लुम्बिनी प्रदेशमा आत्महत्या न्यूनीकरण अभियान सुरु गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आइतबार बुटवलमा आयोजना गरेको आत्महत्या रोकथामसम्बन्धी देशव्यापी सचेतना कार्यक्रममा यो अभियानको घोषणा गरिएको हो ।

अभियानको शुभारम्भ गर्दै प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले आत्महत्या सामाजिक समस्या बन्दै गएको बताए । आर्थिक तथा विभिन्न पारिवारिक कारण व्यक्तिले आत्महत्याको बाटो रोज्ने गरेकाले सचेतना जगाएर यसको नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । 

मन्त्री शर्माले यसको नियन्त्रणका लागि सङ्घ र प्रदेश मिलेर निश्चित योजना बनाएर अभियानका रुपमा अघि बढाउन आवश्यक रहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्यायले नेपालमा आत्महत्याको दर उच्च रहेको तर लुम्बिनीमा यो वर्ष केही कम देखिएको बताए । 

उनका अनुसार लुम्बिनीमा यो वर्ष एक हजार ३४१ र गत आर्थिक वर्ष एक हजार ४०८ आत्महत्याका घटना रहेको जानकारी गराए । “आफैँले आफैँको हत्या गर्नु आत्महत्या हो । पारिवारिक र सामाजिक तनावका कारण व्यक्तिले आत्महत्या गर्छ”, उनले भने ।

आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले आत्महत्या मन व्यवस्थापनसँग जोडिएको विषय भएकाले योग र ध्यानबाटै यसको नियन्त्रण हुने बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक सिद्धी विक्रम शाहले आत्महत्या व्यक्तिको सोचको परिणाम भएकाले सोचमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । कार्यक्रममा मनोरोग विशेषज्ञ डा असिम रेग्मीले कसैले फरक व्यवहार देखायो वा आफूलाई हानि पु¥याउने काम ग¥र्यो भने त्यसलाई सामान्यरुपमा नलिन आग्रह गरे ।

प्रहरीका अनुसार आत्महत्या गर्नेमा नेपाल सातौँ स्थानमा रहेको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा आत्महत्याका घटना रहेको प्रहरीको तथ्याङ्क छ । लुम्बिनीमा सबैभन्दा बढी १६ देखि २५ वर्ष उमेर समूहका व्यक्तिले आत्महत्या गरेको पाइएको छ ।

कसैले मर्न वा मार्न चाहेको कुरा गर्नु, आत्महत्या गर्ने मध्यमको खोजी गर्नु, निरास हुनु, रिसाउनु, झर्किनु र अचानक फरक व्यवहार देखाउन थाल्यो भने त्यस्तो व्यक्तिमा समस्या छ भन्ने बुझ्नुपर्ने प्रहरीको भनाइ छ ।

यो अभियानअन्तर्गत, स्थानीय तह, सामाजिक सङ्घसंस्था, विद्यालय तथा सबै सरोकारवालासँग समन्वय गरिने प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप