बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपालबाट ३० करोडको पानी विदेश निर्यात

आइतबार, ०२ असोज २०७९, २० : ३९
आइतबार, ०२ असोज २०७९

नेपालबाट गतवर्ष रु ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८/०७९ मा नेपालबाट रु ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट पीडित व्यवसायीले चाडपर्वको मुखमा तरलताको अभाव झेल्नुपरेको बताए । कोरोनाको समयमा व्यक्तिको घरघरमा पुगेर सेवा प्रदान गरेका पानी व्यवसायलाई राज्यले बेवास्ता गरेको उनको भनाइ थियो ।

खानेपानीको गुणस्तर मापन गर्न खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क महङ्गो भएको भन्दै त्यसलाई चाँडो घटाउन उनले माग गरे ।

सङ्घका अध्यक्ष ध्रुवबहादुर गौतमले खाद्य स्वच्छता ऐन व्यवसायीमैत्री नभएको भन्दै यसलाई तत्काल सच्याउन माग गरे । अति आवश्यक वस्तुका रूपमा रहेको पानी व्यवसायीलाई ऐनले अपराधीको रूपमा हेरेको उनको भनाइ थियो । अध्यक्ष गौतमले ट्राफिक प्रहरीले पानी व्यवसायीलाई दुःख दिने गरेको गुनासो गरे ।

नेपालबाट चीन, हङकङ, कतार, दुबई, अमेरिका, अष्ट्रेलियालगायतका देशमा पानी बिक्रीवितरण हुँदै आएको सङ्घका सचिव एवं हिमालयन वेभरेज प्रालिका सञ्चालक भरत बुढाथोकीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप