नेताहरु भन्छन्–संविधान र संघीयता कार्यान्वयनमा ठूलो उपलब्धि हासिल भयो
नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र संघीयतालाई संस्थागत गर्ने विषयमा संविधान जारी भएको आठ वर्षमा ठूलो उपलब्धि हासिल भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणापछि भएको निर्वाचनबाट गठित सदनले विभिन्न राजनीतिक उथलपुथलका घटनाकाबीच संविधान अनुकूल बनाउन पर्ने सबै कानुनतर्जुमा गर्दै पूरा अवधि चल्नुलाई पनि उपलब्धिकारुपमा हेरिएको छ ।
नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, “यसबीचमा देखिएका केही अस्थिरता र व्यवधानलाई चिर्दै संसद् कानुन निर्माण गर्दै अघि बढ्न सफल हुनुलाई महत्वपूर्ण उपलब्धिकारुपमा लिन सकिन्छ ।” उनले संविधानका सात वर्षमा भएका अभ्यास र स्थानीय तहको निर्वाचन परिणामलाई दृष्टिगत गरी राजनीतिक दलले त्यसबाट पाठ सिकेर आगामी दिनमा निष्ठावान्, कामकाजी र ऊर्जावान् उम्मेदवार दिन ध्यान दिन सुझाव दिए ।
एमालेसहितका कम्युनिष्ट पार्टीलाई जनताले बहुमतको सरकार निर्माण जनादेश दिएकामा दलभित्रको आन्तरिक झगडाले जनताको सार्वभौम सम्पन्न संसद् दुई पटक विघटन गरिए पनि जनताको दबाब र अदालतको निर्णयबाट पुनःस्थापना भएको थियो । प्रमुख सचेतक भट्टराईले भने, “जनतालाई निराशा बाँडेर होइन, उत्साहित बनाएर जानुपर्छ, भविष्य उज्जवल छ, देश निर्माण गर्न सकिन्छ, राजनीति दल र प्रणालीप्रति भरोसा राखेर विकास र समृद्धिको अभियानमा एकताबद्ध हुनुपर्छ ।”
पूर्वमन्त्री हृदयेश त्रिपाठीले आवधिक निर्वाचन समयमा हुनु भनेको संविधान र संघीयता कार्यान्वयनको प्रवल पक्ष भएको बताए । उनले भने, “संविधानले उठाएका मूलभूत विषयलाई सम्बोधन गर्न जिम्मेवार राजनीतिक दलले ती मुद्दालाई निर्वाचन घोषणापत्रमा समेटेर अघि बढेमा नतिजा स्वस्थ्य जनक नै आउने छ ।” नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले मानवअधिकार, सामाजिक न्याय तथा मुलुकको भूपरिवेशका आधारमा वर्तमान संविधानलाई उत्कृष्ट संविधानकारुपमा ग्रहण भएको बताए ।
एमालेका नेता प्रदीप ज्ञवालीले जनतालाई धेरै अधिकार प्रदान गरेको वर्तमान संविधान लोकतन्त्रको संस्थागत विकासका सन्दर्भमा ऐतिहासिक उपलब्धिको दस्तावेज भएको धारणा राखे । उनले भने, “लोकतन्त्र आफैँमा निर्माण र सुदृढ हुँदै जाने प्रक्रिया हो । केही अवधिसम्म परिपक्क हुन दिनुपर्छ । संविधानले परिकल्पना गरेको समृद्ध, सुखी र सम्मुन्नत समाज निर्माण गर्नु हो । आगामी निर्वाचनले त्यसतर्फ अघि बढ्ने महत्वपूर्ण कार्यदेश दिनेछ ।” संविधान कार्यान्वयन र कानून निर्माणका हिसाबले सात वर्षको अवधि उपलब्धिमूलक बताउँदै नेता ज्ञवालीले संविधानसँग बाझिएका पुराना कानुनलाई संशोधन मात्र नभई नीति र कार्यक्रमसमेत सर्वसम्मतिले पारितको घटना सुनाए ।
नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले संविधानमाथि सङ्कट र व्यवस्थामाथि चुनौती खडा भएको परिस्थितिमा सदन पूरा कार्यकाल चल्नु भनेको संविधान र लोकतान्त्रिक व्यवस्थाको जग बसेको पुस्ट्याइँ गर्छ भने । उनले भने, “यसबीचमा राष्ट्रियता, स्वाधीनता र लोकतन्त्रका विषयमा महत्वपूर्ण काम भएकाले समग्रतामा सफल दिशातर्फउन्मुख छ ।” लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले भने संविधानलाई सवल र सुदृढ तुल्याउन संशोधन अत्यावश्यक रहेको विचार प्रकट गरे । नेपाली जनताको सात दशक लामो संघर्ष र बलिदानको उपलब्धिकारुपमा गठन भएको संविधानसभाद्वारा जारी संविधान विश्वका उत्कृष्ट संविधानको कोटीमा पर्दछ । विसं २०७२ असोज ३ गते जारी संविधानमा भाग ३५, धारा ३०८ र अनुसूची नौ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी