जितवाहन कथा

person explore access_timeअसोज २, २०७९ chat_bubble_outline0

‘लो रि, पवनहरिह काथा सुने बैठह, यापन दुधपुत लेले । (ल है व्रतालुहरु आफ्ना लालाबाला समेत कथा सुन्न बस)’– धनुबाण तेर्साउँदै, फलाक्दै तीन पटकसम्म जग्गेको फन्का लगाउँछन् गाउँका सम्हनिया (कटुवाल) बाले  । अनि जग्गे बिचमा उभिएको पिपलको हाँगामा धनु–बाण सिउरिन्छन् ।


धेरै सामग्रीले सजिएको हुन्छ जग्गे । पीपलको हाँगालाई जग्गेको बिचमा गाडेर पीपलको रुखको परिकल्पना गरिन्छ । बाँसका चोइलाबाट बनाइएको चराको गुडझैँ देखिने वस्तु पिपलको हाँगामा झुण्ड्याइएको हुन्छ । सोही गुँडमा चिलको परिकल्पना गरी बनाइएको माटाको डल्लो पनि राखिएको हुन्छ । स्याल्नीको प्रतीक माटोको डल्लोलाई भने त्यहीँ पिपल फेदमुनि राखिएको हुन्छ । सबै व्रतालुहरु सोही जग्गे वरपर कथा सुन्न भनी बस्छन् ।



केही छिनमै जिम्दार बा आएर आमुन्ने सामुन्ने हुने गरी बस्छन् । अनि सुरु हुन्छ, तिनका मुखारबिन्दबाट जितियाको कथा ।



एकादेशमा उचरिङवा दानो (दानव) ले गाउँ बसाउँदै थियो । आफ्नो घर बनाउन घरसाङ्हा ल्याउन ऊ वनतिर जाँदै थियो । वन पुग्दा नपुग्दै वरै एक खोला आइपुग्छ । सोही खोलामा मुसरिया दानो नुहाइरहेको हुन्छ । उचरिङवा दानोलाई खोला तर्ने मेसो गरेको मुसरिया दानोले देख्छ र बोलाउँदै भन्छ, ‘कल्की से उचरिङवा दानो कहाँ जाँदैछौ ?’

खोला तर्दै गरेको उचरिङवा दानो टक्क रोकिएर भन्यो, ‘कल्की से मुसरिया दानो मोई वन जाँदै छु, घरसाङ्हा ल्याउनको खातिर ।’

— ‘मोर लागि दतियोन ल्याइदेऊ है ।’

— ‘यापनो घरको खातिर खाम्हा, बेलसी, खर, पाट ल्याउँदैमा धरमर हुन्छ । अनि कसरी तेरो लागि दतियोन ल्याउँ म ?’

— ‘ल्याएनस् भने यति कुरा बुझ् । तेरो घरसाङ्हा काटेर दतियोन बनाउँछु म ।’

उसको कुरा बेवास्ता गर्दै उचरिङवा दानो खोलो तर्यो । वन पुगेर आफ्नो घर बनाउन चाहिने जति सामग्री बोकेर फर्कियो । खोला किनारमा मुसरिया दानो कुरेर बसेको थियो । नभन्दै उचरिङवा दानोले दतियोन ल्याएको हुँदैन । अनि दुबैबिच भनाभन सुरू भयो । आक्रोशित हुँदै दुवै पैठेजोरी खेल्न थाले । धडाधड कुस्ती, मुक्केबाजी पनि सुरु भयो ।

अन्ततः उचरिङवा दानोले मुसरिया दानोलाई हराएर उसको छाला काढ्यो । छाला काढेर भुइँमा बिछ्यायो । उसँग अरु डराएर उसको गाउँको क्षेत्रफल विस्तार हुँदै सहरमा पनि परिणत भयो । त्यही सहरमा राजाको पदमा हरदत्त कुँवर दरिए । हरदत्तका छोरा शिवदत कुँवरको बिहे हुने प्रसंगबाट कथाले मूल रुप लियो ।

राजाले आफ्ना नजिकका सबै प्रजालाई मदिरा बनाउनका लागि कनिका पठाएका हुन्छन् तर आफ्नै नजिक आँगन जोडिएकी छिमेकी मस्वासी बूढीलाई फँचका अर्थात् कनिका पठाउन भुलेका हुन्छन् । भोलिजस्तो विवाह, आज मात्रै ती बूढीलाई फँचका पठाइन्छ । सो फँचका, सुकाईवरी पकाए पश्चात् मात्र मदिरा बनाउनका लागि योग्य हुन्छ । तर दुर्भाग्य, मस्वासी बूढीले फँचका सुकाउने बेलामै झरी पर्न सुरु गर्यो । त्यतिञ्जेलसम्ममा गाउँका सबैले दरवारमा मदिरा पठाइसकेका हुन्छन् ।

लगातारको झरीले गर्दा मस्वासी बूढीबाट मदिरा बन्न असम्भव देखियो । मस्वासीलाई जसरी हुन्छ मदिरा बनाउनु थियो । फँचका सुकाउनकै लागि मात्रै भएपनि उनको आँगनमा घाम चाहिएको थियो । उनमा छटपटाहट बढ्यो । सूर्य भगवान्सँग सेज भाकल गर्न बाध्य भइन् । सूर्य भगवान्बाट बूढीको अनुनयको कदर भई मस्वासी बूढीकै आँगनमा मात्रै घाम लाग्यो । अनि मात्र फँचका सुकाउन सफल भइन् ।

जसै असम्भव सम्भवमा परिणत भयो । फलस्वरुप दरवारमा मदिरा पठाएर खुसी भइन् । तर आफूले सूर्य भगवानलाई सेज भाकल गरेकोमा भित्रभित्रै डराइरहेकी थिइन् । भाकल गरेअनुरुप आफू सुत्ने ठाउँ, घर आँगन लिपपोत गरी चोख्याउनुपर्ने भयो । किनकि स्वयं भगवान् त्यहाँ प्रकट भई उनीसँग एकरात बिताउने छन् । त्यसैको बन्दोवस्तको लागि आफू सुत्ने खटियामा दरी बिछ्याइन् । सोमाथि सुर्ती, तमाखु, पान, बिंडी, सुपारी आदि राखिन् । भगवान आउने बाटोमा खरानी छरिन् ।

मस्वासी बूढी डरले आफू छिमेकीका घरमा बास बस्न गइन् । यता भगवान् मध्यरातमा मस्वासी बूढीको आँगनमा प्रकट भए । छाप्रोभित्र प्रवेश गरे । तर मस्वासी बूढीलाई देखेनन् । त्यसपछि खटियामाथि राखिएको पान, सुपारी, बिँडी, तमाखु, खाईवरी भगवान बाहिरिए ।

सूर्यनारायणले सोचे– ‘मस्वासी बूढी भएको भए मनोकांक्षा पुरा हुने गरी केही बरदान दिने थिएँ तर छैनिन् । ठीकै छ, केही न केही त दिएरै जानुपर्छ ।’ त्यसपछि तिनै बूढीको छाप्रो पछाडितिर गएर मुत्र बिसर्जन गरे अनि अलप भए ।

एकाबिहानै मस्वासी बूढी आफ्नो छाप्रोमा आइन् । देखिन्, आपूmद्वारा छरिएका खरानीमा खराउका डामहरु । जसबाट भगवान् आएको प्रमाणित भयो । यसै प्रयोजनको लागि उनले खरानी छरेकी थिइन् । भगवान् आएका तर आपूm छाप्रोमा नरहेकोले ती बूढी मनमनै दुःखी भइन् । पछुतो मान्दै, बिहानको खाना बनाउने तयारीमा जुटिन् । तर तिहुन पाइनन् । छिमेकमा तिहुनको लागि भनसुन गरिन् । कहीँ कसैले पत्याएनन् । उनी छाप्रो पछाडि गइन् । देखिन्, लहलहाउदै गरेका हरिया लट्टेका साग । अरु दिन नेदेखेका ती साग अकस्मात् देखेर बूढी छक्क परिन् । टिपेर केलाईवरी पकाएर भातसँग खाइन् ।

दिन बित्दै गयो । मस्वासी बूढीको पेट बढ्न थाल्यो । गाउँलेहरुले सुँइघुँई गर्न थाले । बूढी बिचलित हुन थालिन् । माथिबाट सूर्य भगवान्ले सबै हेरिरहेका थिए । कुनै अनिष्ट कदम पो उठाउने हो कि भनी भगवान्लाई पनि सुर्ता भयो । भगवान बूढीको सपनामा आए, ‘छाप्रो पछाडि उम्रेको साग नै तिम्रो लागि बरदान थियो । तिम्रो पेटको सन्तान त्यसैको उपज हो । त्यसलाई सम्हालेर राख, तिम्रो लागि एकदिन गाछी झै साथी र हाथीको लाठी बन्ने छ  ।’

 सपनामा बूढी भरमाइन् । भगवान्को बोलीलाई उनले आकाशबाणी झैँ महसुस गरिन् । बूढी बिलखबन्द हुँदै बिउँझिइन् र भगवान्ले भरमाएको सपनी पुरा गर्नतर्फ उन्मुख भइन् । फलस्वरुप एउटा बालकको कुमारी आमा बनिन् । जुन बालक समयको रफ्तार भन्दा चाँडो बढ्दै गयो । बालक अत्यन्तै चमत्कारी, तेजस्वी, प्रतापी र वीर भएको खुलासा हुँदै गयो ।

एकदिन गोठालो जाँदा गोठालाहरु धनुवाँण हान्ने होडवाजी गर्दैथिए । आ–आफ्ना धनुबाट एउटा चिन्हमा बाण बर्षाउँदै थिए । तर कसैले पनि त्यो चिन्हमा बाण प्रहार गर्न सकिरहेका थिएनन् । जुन परैबाट मस्वासी बूढीका छोराले देखिरहेको थियो । ती बालक नजिक गई भन्न थाले, ‘मर्केफेनी एक मौका दे न रे । मोई पनि प्रयास गरी हेर्छु ।’

“यति सुनेपछि सबैले हाँसेर खिल्ली उडाउदै भने, ‘हामीले त सकेका छैनौं । तँ कुन मर्दको बेटा होस् रे ! हामीसँग मुकाबिला गर्न खोज्ने ?’

‘कथिक मर्दको बेटा रे ! ए, इय त बिना बापक नणेठ (फ्याँकिएको) बेटा पो त ! तोँई (तँ) जाबो नाथे छुसी, पउलाले (बिना बाउको सन्तानले) के सक्छस् रे ! अलि उता जा,” भन्दै अर्कोले घचेट्यो ।

अरू गोठाला केटाहरू अट्टाहास गर्न थाले ।

‘दे न दे रे एकचोटी हेरो । इयो कपुतले धनुबाण सही निसानामा हान्न सक्छ कि सक्दैन ! हाम्पनि हेरो न रे,’ भन्दै त्यो हुलको एउटा नाइके केटोले नाकको पोरा फुलाउँदै आफ्नो धनुबाण थमाइदियो ।

जब मस्वासी बूढीको छोराले बाण प्रहार गर्यो । त्यहाँका सबै गोठालाहरु चकित भए । निसाना ठिक ठाउँमा लागेको थियो । त्यसपछि त झन् के खोज्छस् कानो, आँखो भैहाल्यो ! सबै गोठालाहरु ऊ माथि नै खनिए ।

‘ए पउला, (कपुत) ! तोर इयो हिम्मत ! तोँरसे इयो कसरी सम्भव भयो हँ रे ?’

त्यस्तैमा नाइके केटोले उसको कठालो समात्दै भन्यो, ‘हाम्ले गर्न नसकेको काम तोँई (तँ) कसरी गर्न सकिस् रे ? तोँई कुने होस् ? तोर कथी पहिचान छ रे ? कुन लडभङ्गाको हवस होस् ? लो कह् ! तोँइलाई था छैन भने जा तोर महतारीलाई (आमा) सोध् । तोर बाउ को हो ?”

 

साँच्चै कटुसत्य ! को हुन् मेरा बा ? अहिलेसम्म खोई मैले देखेको ! बाको माया कस्तो हुन्छ ? खै मैले भोगेको ? मेरो पहिचान के हो ? गम्भीर सोचमा डुब्दै त्यो बालक आपूm आफै धनुबाणरुपी प्रश्न बन्यो । घरमा पुगेपछि गोठालामा भएका बृत्तान्त रुँदै आमालाई सुनायो । गोठालाहरुका सबै प्रश्नका बाणहरु मस्वासी बूढीका छातीमा बर्सिए । आखिर ती बूढीका मुटु छिया छिया भइगए । भरमार पीडाका सिस्काबाट सत्यतथ्य छरपष्टिन थाले, ‘तोर बाप उनै हुन्, जो आगोभैँ भएर उठ्छन् र उसैगरी डुब्छन् ।’ आकाशतर्फ देखाउँदै ‘उह् उनै हुन् तोर बाप, सूर्य भगवान् ।”

बालक हैरान हुँदै बोले, ‘मोई भेट्न चाहन्छु । मोर सबे प्रश्नका जबाफ उनैसे सुन्न चाहन्छु ।’ हठ गरे बालकले । मस्वासी बूढीले छोरालाई जति सम्झाए पनि धर पाइनन् । आखिर पठाउन बाध्य भइन् ।

बिहान सबेरै, बाटा छेउमा उम्रेका साग र कनिकाबाट बनेका खाजाको पोको बोकी मस्वासी बूढीका छोरा घरबाट बाहिरिए । लामो बाटो पार गर्दै गर्दा ती बालक, बालक रहेनन् केटोमा परिणत भए अनि केटोबाट वयस्क हुँदै युवकमा पनि ।

यसैबिच बाटामा ती युवक, अनेक समस्यामा पिल्सिएका नरनारी, जीव–जन्तु, वनस्पति आदिसँग जम्काभेट हुँदै, तिनीहरुका बिलौना सुन्दै विभिन्न सन्देश बोकेर आफ्ना पिता सूर्य भगवान्सँग भेट गर्न सफल भए ।

दर्शन गर्दै सूर्य भगवानका दाहिने जाँघमा बसे । स्वयं आफ्नो नाम र पहिचान मागे । बाटामा भेटिएका बिभिन्न समस्याका निराकरण र तिनका लागि उपयोगी सन्देशहरु माग गरे । सूर्य भगवान्ले आफ्ना छोरा ती युवकको नामकरण गर्दै जगत उपयोगी सन्देश दिए । भगवानले उनको नाम जितवाहन रहेको र जितिया पर्वको दिनमा यही नामबाट आस्था अनि विश्वासपूर्वक व्रत बसेमा व्रतालुहरुका मनोकांक्षा पुरा हुने वताए ।

पिताबाट आफ्नो नाम जितवाहन र पहिचान प्राप्त भएपछि ती युवक फुर्किदै घर तर्फको बाटो समाए । फर्किदै गर्दा बाटामा भेटिएका सबैको समस्याको समाधान बताउँदै आफ्ना पिता सूर्य भगवान्का सन्देश सुनाए । र, खुसी खुसी घर फर्के ।

आखिरीमा मस्वासी बूढीका छोरालाई उनको आफ्नै आँट, साहास र दृढ अठोटले पराक्रमी, तेजस्वी अनि विजयी बनायो । तिनै तेजस्वी युवकका पराक्रमको गाथा र सूर्य भगवान्ले पठाएको सन्देश बमोजिम सबै राज्यवासी जनमानसले जितिया पर्व मनाउँदैछन् हालसम्म पनि । यो परम्परा सदियौदेखि चल्दै आएको हो । त्यसैले आफ्नो रीतिरिवाज, संस्कृति जोगाउदै जानुपर्छ, संस्कार छोड्नु हुँदैन ।

 यति कथा कहेपछि वरपर कथा सुन्न बसेका सबैतिर हेरे जिम्दार बाले । सबैले मासको दालरुपी अक्षेता जग्गेतिर छर्किन्छन् । जिम्दार बाले लोटाबाट पानी पिउँदै पुनः कथालाई अगाडि बढाउँछन् ।

+

यही जितवाहनको नाममा राजा हरदत्त कुँवरका राज्यमा रहेका सम्पूर्ण नारीहरुले झैँ नजिकैको जङ्गल छेउमा बस्ने पोथी चिल र स्याल्नीले पनि जितिया व्रत बसेका हुन्छन् । यी दुबैले जङ्गल छेउकै खोला नजिकै दुधाशङ्ख पिपलको हाँगा र फेदमा आफ्ना बासस्थान बनाएका हुन्छन् । सबै नारीलेझैँ ती दुबैले पनि उपवासको अघिल्लो दिन नुहाई धुवाई गरी चोखो खाना खाएका हुन्छन् ।

उपवासको दिन, एकाबिहानै हरदत्त कुँवरको चोला बदलियो । गाउँ शोकमग्न बन्यो । तैपनि गाउँका नारीहरु उपवासमा थिए । चिलो र स्याल्नीले पनि केही नखाई आस्थापूर्वक उपवास वसे । दिनभरी दुबैले लुकेर गाउँ गाउँ चहार्दै जितिया पर्वको झम्टा, बदहा गीतको रमाइलोमा समय ब्यतित गरे । साँझ परेपछि बदहा र जितियाका गीत गुनगुन गर्दै दिदीबहिनी आ–आफ्ना बासस्थानमा फर्के ।

उता त्यही नजिकै खोलामा हरदत्त कुँवरको शव जलिरहेको थियो । स्याल्नीको ओडारसम्म लासको गन्ध आइरहेको थियो । व्रत बसेकी स्याल्नी अब भोकाउन थालिन् ।

— “अरी चिलोदिदी रात कस्के काटके री ? बरु भुखवा बिस्रावके, बदहा गाओ न ! (ए चिल दिदी रात कसरी काट्ने खै ? बरु भोक बिर्साउन बदहा गीत गाऔँ न !)”

— “बन्तई सिरिनीया बहिनी गाओ न तौ ! (भैहाल्छ नि ! गाऔँ न स्याल्नी बहिनी ।)”

“जब स्वामी जइबे पुरुबे रे बनिजिया

हरे ओतहिसे यानी रे दिहे टिकुली रे सनेसवा ।।

जाहुँ जुग जियबो रि धनि पलटी घर रे आई

हरि ओतहि से यानि रे देबो टिकुलि रे सनेसवा ।।

जाहुँ स्वामी जईबे रे पछिए रे बनिजिया

हरे ओतहुसे यानि रे दिहे कजरा सनेसवा ।।

जाहँु जुग जियबो रे धनि पलटी घर आई

हरि ओतहिसे यानि रे देबो कजरा रे सनेसवा ।।

जब स्वामी जइबो रे उतरे बनिजिया

हरे ओतहिसे यानि रे दिहे चुरिया रे सनेसवा ।।

जाहँु जुग जियबो रि धनि पलटी घर रि आई

हरि ओतहि से यानि रे देबो चुरिया सनेसवा ।।

जब स्वामी जइबे दखिने बनिजिया

हरे ओतहिसे यानि रे दिहे सिनुर रे सनेसवा ।।

जाहँु जुग जियबो रि धनि पलटी घर रि आई

हरि ओतहि से यानि रे देबो सिनुर रे सनेसवा ।।”

दुबै दिदीबहिनी राती एकापसमा आ–आफ्नै स्थानबाट जितियाको बदहा गीत गाउँदै रात गुजारेर बसिरहेका थिए । घरिघरी गप्पीसप्पी पनि मार्दै थिए । मध्यरात भयो । रात छिप्पी सकेकोले जल्दा जल्दैको लास छोडेर गाउँलेहरू गाउँ फर्केका थिए ।

यता स्याल्नी भोकले चुरचुर भएकी हुन्छे । रुखमाथि गुँडमा बसेकी चिलो दिदी जागै छिन् कि निदाई सकिन् भनेर जाँच्न स्याल्नीले ‘अरी चिलो दिदी ! चिलो दिदी री !!’ भनी पुकारिन् । गुँडकी चिलो जागै भएपनि नसुनेझैँ गरिन् । उसलाई आफ्नी बहिनी स्याल्नीको चर्तिकला हेर्नु थियो ।

चिलो नबोलेपछि स्याल्नीलाई दिदी निदाइसकेको आभास भयो । र, सुटुक्क ओडारबाट बाहिरिइन् । खोलामा झम्लङ्ङ फाल हानिन् । जिउ भिजाइन् । अनि जल्दै गरेको लासमाथि जिउ झट्कारिन् । बारम्बार त्यसो गरेर चिताको आगो निभाइन् । अनि लासलाई ओडारमा ल्याई पेटभरी खाइन् । अघाएर डकारिन् । यो सबै चिलोले हेरिरहेकी हुन्छिन् ।

+

केही समयपछि दुबै दिदीबहिनीको चोला बदलियो । राजाका पोखरीमा ती दुबै फुल भई उम्रे । चिलो रातो गुलाब भई फक्रिइन् भने स्याल्नी सेतो कर्चीको फुल । एकदिन राजा र मन्त्री पोखरीमा स्नान गर्दै गर्दा ती फुललाई देखे । राजाले रातो गुलाब र मन्त्रीले सेतो कर्चि फुललाई आ–आफ्ना कोठामा सजाए ।

जब राजा र मन्त्री राती निदाउथे । ती दुई दिदीबहिनीले सुन्दर कन्या रुप धारण गरी आ–आफ्ना राजा, मन्त्रीका सेवामा जुट्थे । एक रात दुवै राजा र मन्त्रीले सुटुक्क चाल पाए । फुलबाट सुन्दर बाला धारण गरी राजा र मन्त्रीको सेवामा जुटेपश्चात् सधैंझैँ दरवारको सरसफाई, चुलोचौको गर्दै गर्दा राजा र मन्त्रीले आ–आफ्ना फुललाई बल्दै गरेको पानसमा झोसेर नष्ट गरे । ती बालाहरु पुनः फुलमा परिणत हुन सकेनन् र दुबैजना राजा र मन्त्रीका अर्धाङ्गिनी भई बसे ।

चिलो “रानी” बनिन् भने स्याल्नी “मन्त्राणी” । दिन वित्दै गयो । रानीका सातजना राजकुमार जन्मे । सकुशल र हृष्टपुष्ट भई हुर्के तर मन्त्राणीका सन्तान जन्मदै मर्दै गरे । रानीका सात राजकुमार सकुशल तर आफ्ना सातवटै सन्तान नरहेकाले मन्त्राणीलाई सही नसक्नु भयो । आफ्नी दिदी रानीसँग निहुँ खोज्न थालिन् ।

‘होई न होई तोँइले नै मोर (मेरो) सन्तान खाकी होस् । तँ बोक्सी होस् ।’ भनी आरोप लगाउन थालिन् । रानीले बहिनीलाई धेरै सम्झाई बुझाई गरिन् । तर पनि रानीलाई दोषी करार गरिरहिन् । मन्त्राणीलाई जति सम्झाएपनि नमानेपछि आफ्ना राजकुमारहरु सुम्पिन तयार भइन् । तैपनि मन्त्राणीले निहुँ खोजी रहिन् । रानीले आपूmहरुका पूर्व जन्ममा भएका घटना सुझाउन खोजिन् । विगत खोतल्दै बुझाउन खोजिन् । तै पनि बुझिनन् ।

आखिर केही उपाय लागेन । रानीले गाउँका सबै गाउँलेलाई भेला गराइन् । जमिन खन्नका लागि फरुवा र दुईजना रुख चढ्न सक्ने ब्यवस्था गरिन् । राजपरिवार र सम्पूर्ण जनता जङ्गलतिर उर्ले । खोला तरेपछि जङ्गल सुरु हुँदा हुँदैको दुधाशङ्ख पिपलको फेदमा पुगे । जहाँ पूर्व जन्ममा ती दुबैको बासस्थान हुने गथ्र्यो ।

सोही पिपलमाथि दुई जनालाई रुख चढ्न अह्राइन्, जहाँ चिलोको गुँड हुने गथ्र्यो । र, दुईजनालाई पिपलको फेद खन्न लगाइन्, जहाँ स्याल्नीको ओडार हुने गथ्र्यो । दुबै काम एकसाथ भयो । पिपल माथिबाट चिलको गुँड सकुशल झारियो । त्यहाँ मासका दाल हरिया भई मौलाएका थिए भने ओडार खन्दा हड्डी नै हड्डी मात्र भेटिए ।

रानीले आफ्नी बहिनी मन्त्राणीलाई त्यो सबै औल्याउँदै उसले पूर्व जन्ममा गरेको कर्तुतलाई चित्रपटमा देखाएझैँ गरी छर्लङ्ग पारिन् । मन्त्राणीलाई, आपूm रीतिरिवाज र धर्मपालना गरी विधिवत व्रत नबस्नाले यो हविगत भएको हो भन्ने प्रष्ट भयो । जसले तिनलाई घोर आत्मग्लानी बनायो । जुन उनले सहन गर्न सकिनन्, मन्त्राणीको छाती फाटेर देहावसान भयो ।

अन्त्यमा, जिम्दार बाले सबै ब्रतालुलाई कुकर्म गरेमा कुभलो हुने र असल कर्म गरेमा भलो हुने सन्देश दिन्छन् र समापन गर्दै कहन्छन्,

‘सुनलहराके सोनक माला,

हुकलहराके हुक्काक माला,

कहलहराके काठक माला,

बोल भैया राम राम ।’

सम्हनिया (कटुवाल) उठेर पिपलको हाँगामा सिउरिएको धनुबाण झिक्छन् । अनि धनुमा बाणको ताँदो हालेर चारैतिर तेर्साउँदै जग्गेलाई तीन फन्को घुम्दै फलाक्छन्, ‘लोरी पवनहरिह यापन यापन दुधपुत लेले उठह । (ल व्रतालुहरू आ–आफ्ना लालाबालासहित उठ, कथा समापन भयो ।’

मनोज थारू ‘अज्ञात’ टुकी उपन्यासका लेखक हुन्

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।