शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डका प्रवक्तालाई प्रश्नः सेयर ब्रोकर लाइसेन्स कतिवटा दिन लागिएको हो ?

आइतबार, ०२ असोज २०७९, ११ : २१
आइतबार, ०२ असोज २०७९

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले सेयर ब्रोकरको लाइसेन्स दिने भएको छ । लाइसेन्स दिनको लागि बोर्डले सार्वजनिक सुचना नै प्रकाशित गरेको छ । बोर्डले ३० दिनभित्र लाइसेन्सको लागि निवेदन दिन भनेको छ । आज (असोज २ गते) प्रकाशित सार्वजनिक सुचनामा निवेदन दिने अन्तिम दिन सार्वजनिक विदा परे त्यसको भोलिपल्ट पनि निवेदन दिन पाइने भनिएको छ ।

बोर्डले आज प्रकाशित गरेको ब्रोकर लाइसेन्स दिने सम्बन्धी सुचनामा कतिवटा लाइसेन्स दिने भन्ने खुलाएको छैन । त्यसैकारण रातोपाटीले बोर्डका प्रवक्ता रुपेश केसीलाई सोधेको थियो– सेयर ब्रोकर लाइसेन्स कतिवटा दिन लागिएको हो ?

यो प्रश्नको जवाफमा उनले यतिवटा लाइसेन्स दिन लागिएको हो भनेर संख्या तोकेनन् । भने– ‘फ्रि इन्ट्री, फ्रि एक्जीट’को अवधारणामा गइएको छ, यतिवटा लाइसेन्स दिने भनेर संख्या तोकिएको छैन, तोकिएको मापदण्ड पूरा गर्ने सबैले सेयर ब्रोकरको लाइसेन्स पाउँछन् ।

केही समय पहिलादेखि नै बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्यो भन्ने आवाज उठिरहेको छ । सरकारले कानुन संशोधन गरेर बैंक, वित्तीय संस्था, बीमा कम्पनीसम्मले पनि सहायक कम्पनी खोलेर सेयर ब्रोकरको काम गर्न पाउने बाटो खुल्ला गरेको छ । यस्तै, अहिले संचालनमा रहेका ब्रोकर कम्पनी जस्तै विधिबाट पनि लाइसेन्स लिन पाइन्छ । 

बोर्डले प्रकाशित गरेको सुचना अनुसार निवेदन दिने जति पनि कम्पनीले ब्रोकर लाइसेन्स पाउने भएपछि यस्तो लाइसेन्स लिने कम्पनीको संख्या धेरै पनि हुन सक्छ । यदि १०० वटा निवेदन पर्यो भने र ती सबै योग्य रहेछन् भने ब्रोकरको लाइसेन्स पाउँछन् भन्ने प्रश्नमा केसीले पाउने बताए । ‘संख्या नतोकेपछि कानुन अनुसार निवेदन दिने सबैले लाइसेन्स पाउँछन्,’ केसीले भने । 

कति चाहिन्छ पुँजी ?

बोर्डले अहिले तीन प्रकारका ब्रोकरको परिकल्पना गरेको छ । सिमित ब्रोकर सेवा प्रदान गर्ने कम्पनीको लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकिएको छ । यस्ता कम्पनीहरुको अहिले न्यूनतम चुक्ता पुँजी २ करोड रुपैयाँ छ । अहिले संचालनमा रहेका कम्पनीहरुलाई चुक्ता पुँजी बढाएर २० करोड रुपैयाँ पुर्याउन ३ वर्षको समय दिइएको छ । नयाँ कम्पनीले भने २० करोड रुपैयाँ पुँजी अहिले नै पुर्याउनु पर्छ ।

यस्तै, सिमित ब्रोकर सेवा सहित मार्जिन ट्रेडिङ, लगानी परामर्श र लगानी व्यवस्थापन सेवा पनि प्रदान गर्ने हो भने त्यस्ता ब्रोकरको चुक्ता पुँजी ६० करोड रुपैयाँ हुनुपर्ने भनिएको छ । स्टक डिलरको पनि कार्य गर्ने गरी ब्रोकर लाइसेन्स लिन चाहेमा त्यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्नेछ । चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ भएको ब्रोकरले सिमित ब्रोकर सेवा, मार्जिन ट्रेडिङ, लगानी परामर्श, लगानी व्यवस्थापन र स्टक डिलरको पनि काम गर्न पाउने छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप