आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कमोडिटी एक्सचेञ्ज र नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि यस्ता छन् शर्त

आइतबार, ०२ असोज २०७९, १० : ३०
आइतबार, ०२ असोज २०७९

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले वस्तु विनियम बजार (कमोडिटी एक्सचेञ्ज) र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को लाइसेन्स खुल्ला गरेको छ । बोर्डले सार्वजनिक सूचना प्रकाशित गरी कमोडिटी एक्सचेञ्ज र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुल्ला भएको जानकारी गराउँदै आवेदन माग गरेको छ । अहिलेसम्म नेपालमा कमोडिटी एक्सचेञ्ज छैन भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अहिले संचालनमा भएपनि सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन लागेको हो ।

सरकारले अघिल्लो साता मात्रै नियमावली संशोधन गर्दै नयाँ लाइसेन्स खुलाउन सकिने बाटो खोलेको थियो । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एव अन्तराष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीको हित संरक्षण गर्न नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागिएको बोर्डको भनाई छ । नयाँ स्टक एक्सचेञ्ज खोल्न चाहनेले सुचना प्रकाशित भएको मिति (असोज २ गते) देखि ४५ दिनभित्र आवेदन दिन भनिएको छ ।
नयाँ स्टक एक्सचेञ्जको लागि ५ वटा शर्त

बोर्डले प्रकाशित गरेको सार्वजनिक सुचनामा नयाँ स्टक एक्सचेञ्जको लागि ५ वटा शर्त राखिएको छ । ती शर्तहरुमा असोज २ गतेदेखि ४५ दिनभित्रमा निवेदन दिनुपर्ने, निवेदकको नाम ठेगाना स्पष्ट खुल्ने गरी व्यवसायिक कार्ययोजना समावेश गरी खामबन्दी रुपमा पेश गर्नुपर्ने, तोकिएको म्यादभित्रै (असोज २ गतेदेखि ४५ दिनभित्र) निवेदन दिनुपर्ने, आएका निवेदन स्वीकृत गर्ने नगर्ने अधिकार बोर्डमा हुने र धितोपत्र बजार संचालन नियमावली २०६४ एवं धितोपत्र बजार संचालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस गर्ने सम्बन्धी निर्देशिका २०७९ मा उल्लेख भए बमोजिमका शर्तहरु पूरा भएको हुनुपर्ने बोर्डले भनेको छ ।

कमोडिटी एक्सचेञ्ज स्थापनाका शर्तहरु

बोर्डले वस्तु उत्पादकलाई बजारसम्म बहुँच पुर्याउन, वस्तुको मूल्य आविष्कारमा सघाउन र मूल्य स्थिरता कायम गर्न, लगानीकर्तालाई लगानीको वैकल्पिक उपकरण प्रदान गर्न कमोडिटी एक्सचेञ्ज स्थापना गर्न लागिएको जानकारी दिएको छ । यसका लागि बोर्डले ७ वटा शर्त तोकेको छ । 

शर्तहरुमा सुचना प्रकाशित भएको मिति (असोज २ गते) देखि ४५ दिनभित्रमा निवेदन दिनुपर्ने, सिलबन्दी गरिएको २ प्रति व्यवसायिक कार्ययोजना पनि समावेश गरेर निवेदन दिनुपर्ने, यसअघि निवेदन दिएका निवेदकले पनि पुन निवेदन दिनुपर्ने, निवेदकमध्येबाट बोर्डले उपयुक्त ठहर्याएका २ निवेदकलाई कमोडिटी एक्सचेन्ज संचालनको अनुमति दिने, रित नपुगेका र म्यादपछि आएका निवेदन उपर कुनै कारबाही नहुने, आएका निवेदनबाट कसलाई अनुमति दिने कसलाई नदिने भन्ने अधिकार बोर्डमा हुने र अन्य शर्तहरु वस्तु विनियम बजार २०७४ र वस्तु विनिमय बजार संचालन अनुमति प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका २०७८ मा उल्लेख भए बमोजिम हुने बोर्डको सूचनामा उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप