राजधानीका मुख्य अस्पतालमै छैनन् जेरियाट्रिक वार्ड
सरकारले जेरियाट्रिक केयर सेन्टर सञ्चालन निर्देशिका र मापदण्ड कागजी रुपमा तयार पारे पनि व्यवहारिक रुपमा लागू गर्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दीर्घ रोग, प्राकृतिक प्रकोप, दुर्घटना बुढ्यौलीका कारण आवश्यकता अनुसार स्वास्थ्य सेवा तथा स्याहार माग गर्ने ज्येष्ठ नागरिकलाई जेरियाट्रिक केयर सेन्टरमा स्वास्थ्य सेवा उपलब्ध गराइने मापदण्ड तयार पारेको हो ।
यद्यपि मन्त्रालयले जेरियाट्रिक वार्ड स्थापना गरिएको भनेकै अस्पतालहरुले व्यावहारिक रुपमा भने अझै यस्तो वार्ड सञ्चालन गरेका छैनन् । यहाँसम्म कि, जेरियाट्रिक बेडसमेत नियममा आधारित भएर सञ्चालन नगरेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयले जेरियाट्रिक वार्ड सञ्चालन गरिएको भनिएका १४ अस्पतालमा बीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठान, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको नाम पनि छ । तर ती अस्पतालमा जेरियाट्रिक वार्ड व्यावहारिक रुपमा सञ्चालन भएको छैन ।
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले जेरियाट्रिक वार्ड बनाउने प्रक्रियामा रहेको बताए । अस्पतालमा उपचार गर्न पुग्ने ज्येष्ठ नागरिकलाई आवश्कताका आधार सेवा दिइराखेको उनको जिकिर छ । उनले भने, ‘उहाँहरुलाई रोगअनुसारको उपचार गर्ने हो । जेरियाट्रिक वार्ड भएमात्रै सेवा पाउनुहुन्छ भन्ने हुँदैन, आवश्यक सेवा दिइरहेका छौँ ।’
शुक्रराज ट्रपिकल तथा सरुरोग अस्पतालमा जेरियाट्रिक वार्ड नभए पनि ज्येष्ठ नागरिकहरुलाई सेवा दिइरहेको सूचना अधिकारी नवराज गौतमको भनाइ छ । जेरियाट्रिक वार्ड सञ्चालन नगरिए पनि सेवा प्रदानमा कुनै भेदभाव नगरिएको उनले बताए ।
यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा पनि जेरियाट्रिक वार्ड स्थापना गरिएको छैन । अस्पतालमा उपचार गराउन आउने वृद्धवृद्धालाई विशेष ख्याल गरेर सेवा दिँदै आएको सेन्टर सूचना अधिकारी अर्जुन दुलालको जिकिर छ । जेरियाट्रिक मैत्री बेडहरु ट्रमा सेन्टरमा भएकाले वार्ड सञ्चालन नभए पनि सेवा दिइरहेको उनले बताए । गत वर्षमात्रै ६६० जना ज्येष्ठ नागरिकलाई उपचार गरिएको उनले सुनाए ।
उता, ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने २०७२ सालदेखि जेरियाट्रिक वार्ड सञ्चालनमा रहेको निर्देशक डाक्टर रवि शाक्यले बताए । उनका अनुसार जेरियाट्रिक वार्डमा १० वटा बेड छ । ज्येष्ठ नागरिकलाई प्रभावकारी सेवा प्रवाहका लागि जेरियाट्रिक वार्डसँगै खाली भएको स्थानमा जेरियाट्रिकका लागि बेड थप्ने योजना बनाएको डा. शाक्यले बताए ।
उनले भने, ‘जेरियाट्रिक वार्डमा सधैँ बिरामी भरिभराउ हुन्छन्, यसै वर्षदेखि जहाँजहाँ खाली छ, त्यहाँ ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग, लगायतका बिरामीलाई अझै सहज हुने गरी सेवा सञ्चालन गर्ने तयारीमा छौँ ।’
नेपालमै जेरियाट्रिसियन कम भएकाले जेरियाट्रिक तालिम लिएका डाक्टर तथा नर्सबाट सेवा दिइरहेको उनले बताए । ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानले ज्येष्ठ नागरिकको सवालमा जेरियाट्रिक वार्ड, केयर सेन्टर निर्देशिका र मापदण्ड कागजी रुपमा बनाइए पनि व्यावहारिक रुपमा कार्यान्वयन गर्न राज्यले बेवास्ता गरेको गुनासो गरे ।
स्वास्थ्य मन्त्रालयका अनुसार, २०७०/७१ देखि जेरियाट्रिक वार्ड स्थापना तथा सञ्चालन निर्देशिकाबमोजिम जेरियाट्रिक बेड स्थापना गरी हाल १६ वटा अस्पतालमा ज्येष्ठ नागरिकलाई निःशुल्क एवम् सहुलियतपूर्ण स्वास्थ्य वा उपलब्ध गराउँदै आएको उल्लेख छ । सोही अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्ममा सातै प्रदेशका २४ वटा अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन गर्ने भनिएको थियो । राजधानीका चार अस्पतालसहित २४ अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन गरिएको भने पनि पूर्णमा मापदण्ड पालना गरेर सञ्चालन नगरिएको स्वास्थ्य मन्त्रालयकै अधिकारीहरु बताउँछन् ।
सरकारले विशिष्टकृत जेरियाट्रिक सेवा प्रदान गर्ने उल्लेख गरे पनि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले विशिष्टिकृतको परिभाषासमेत प्रस्ट नभएको बताउँछन् ।
यता स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले देशभरका सबै जिल्ला, प्रदेश र केन्द्रका अस्पतालमा जेरियाट्रिक वार्ड स्थापनाका लागि बजेट पठाएको जनाएको छ ।
नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाका जेरियाट्रिक तथा लैङ्किक हिंसा व्यवस्थापन शाखाका प्रमुख शर्मिला पौडेलले अस्पतालको क्षमताको आधारमा जेरियाट्रिक वार्डका लागि बजेट पठाइएको बताइन् । देशभरका ८८ वटा अस्पतालमा १२ देखि १५ लाखका दरले बजेट विनियोजन भएको उनले सुनाइन । केही ठूला अस्पताललाई २५ लाखदेखि १ करोडसम्म बजेट पठाइएको उनको भनाइ छ ।
तत्काल वार्ड नै सञ्चालन गर्न जनशक्ति, बजेट व्यवस्थापनमा कठिनाइ हुने भएकाले कतिपय अस्पतालले जेरियाट्रिक वार्ड नखोलेर जेरियाट्रिक बेड राखेको उनले बताइन् । ५० भन्दा बढी बेड भएका अस्पतालमा जेरियाट्रिक वार्ड स्थापनालाई प्राथमिकता दिएको प्रमुख पौडेलले सुनाइन् ।
जेरियाट्रिक केयर सेन्टरका सेवाहरु यस्ता हुन्छन्
जेरियाट्रिक केयर सेन्टरमा मापदण्डअनुसार प्रवर्द्धनात्मक सेवामा योग, आयुर्वेदिक सेवा, शारीरिक अभ्यास, खेलकुदजन्य गतिविधि, पोषण सेवा, व्यक्तिगत सरसफाइ, हेरचाह स्वास्थ्य शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ ।
प्रतिकारात्मक सेवाहरुमण जेरियाट्रिक केयर सेन्टरमा स्याहारकर्ताका लागि तालिमको व्यवस्थापन, परामर्श सेवा, जेरियाट्रिक खोप सेवा, ज्येष्ठ नागरिकलाई लाग्ने रोगहरुको स्क्रिनिङ र सपोर्टिभ स्याहार सेवा, अस्पतालबाट डिस्चार्जमा उल्लेख भएका औषधिहरुको निरन्तरता, प्राथमिक उपचार, ट्युबमार्फत खाना वा औषधि खुवाउने सेवा, अक्सिजन सेवा, ट्राकियोस्टोमी स्याहार, बाह्य पिसाब नली स्याहार, ओछयाने घाउ स्याहार, अल्जाइमर तथा डिमेन्सिया सम्बन्धी सेवा आदिको व्यवस्था गर्नुपर्ने हुन्छ ।
पुनर्स्थापनात्मक सेवामा फिजियोथेरापी, अकुपेशनल थेरापी, अक्युपञ्चर सेवा, स्पीच तथा स्वालोविङ थेरापी, क्यान्सर रोगको निको हुन नसक्ने अवस्था, जटिल अवस्थामा पुगेका र निको हुन नसक्ने दीर्घ रोगहरुको स्याहारसुसार, जनरल बहिरंग सेवा आदि सञ्चालन गर्नुपर्छ ।
जेरियाट्रिक केयर सेन्टरसम्बन्धी मापदण्डहरु
जेरियाट्रिक केयर सेन्टर बनाउन निर्देशिकामा उल्लेख गरिए अनुसार मापदण्ड हुनुपर्छ । प्रति पच्चीस शय्याको जेरियाट्रिक केयर सेन्टरका लागि एक जना जेरियाट्रियन वा एमडीजीपी तथा पच्चीस शय्याको केयर होमका लागि एक जना जेरियाट्रिक नर्सिङमा स्नातकोत्तर उत्तिर्ण वा जनरल नर्सिङमा स्नातकोत्तर उत्तिर्ण गरी जेरियाट्रिक नर्सिङ विषयमा तालिम प्राप्त गरेको नर्सिङ प्रमुख हुनुपर्ने छ ।
५० देखि २०० शय्यासम्मको केयर होमका लागि जेरियाट्रिक नर्सिङमा स्नातकोत्तर उत्तिर्ण जेरियाट्रिक नर्सिङ विषयमा तालिम प्राप्त नर्सिङ प्रमुख हुनु पर्नेछ ।
यस्तै, पूर्वाधार, ज्येष्ठ नागरिकमैत्री वातावरणका साथै महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था हुनुपर्छ । फोहोर व्यवस्थापन, जेरियाट्रिक बहिरंग सेवा, सोधपुछ तथा गुनासो कक्ष, सेवा सञ्चालनमा नर्सिंङ डयूटी स्टेशनबाट प्रत्येक बिरामीको प्रत्यक्ष निगरानी हुने व्यवस्था गर्नपर्ने हुन्छ । उक्त सुविधा नभएमा प्रत्येक बिरामीको शय्यामा कलबेल राख्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या