बेनी–जोमसोम सडक सास्ती र जोखिम
पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्र नेपालीका अनुसार जलेश्वर, राहुघाट, बैसरी, नौनीबगर, जलथले, रुप्से र काभ्रेभिरको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको हो । “कुन ठाउँमा कति बेला पहिरो खस्छ थाहै हँुदैन”, उनले भने, “खसेको पहिरो पन्छाउँदै सवारीसाधनलाई गन्तव्यमा पठाउँदै गरिएको छ ।” राहुघाटमा पहिरो खसेर सडक साँघुरिने र हिलोमा फस्ने समस्या छ ।
बैसरीमा सडक माथिबाट केही दिनयता निरन्तर पहिरो झरिरहेको छ । पहिरो खस्न रोकिएको समयमा सवारीसाधन पार गराउने गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको नौनीबगर, जलथले, रुप्से र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा पनि पहिरोको समस्या छ । यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । बीच बाटेमै अलपत्र पर्नुपर्ने अथवा गाडी परिवर्तन गर्नुपर्ने समस्या छ ।
जोमसोमबाट शनिबार बेनी आइपुग्न काठमाडौँका तीर्थ श्रेष्ठले पहिरोका कारण पूरै दिन लागेको बताए । “अघिपछि जोमसोमबाट चार घण्टामै बेनी आइपुगिन्थ्यो”, उनले भने, “यसपालि पहिरोले बिहान ६ बजे हिँडेको साँझ ७ बजेमात्र बेनी आइपुगियो ।”
राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम सडक स्तरोन्नतिको क्रममा रहेको छ । मुस्ताङको घाँसा देखि जोमसोम खण्डको पुल नभएको ठाउँ बाहेकका ठाउँमा सहज यातायात सञ्चालन भइरहेको छ ।
भिरालो र कमजोर भूगोल भएको म्याग्दी खण्डमा विस्तार गरिएको सडक भत्किएर हिलाम्मे बनेको छ । कालोपत्र गर्ने तयार भएको सडक पनि पहिरोले साघुरिएको छ । कतिपय ठाउँमा ट्रक र ठूला वस एकतर्फी मात्र आवत जावत गर्न सक्छन् ।
बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक विभाग र ठकेदार कम्पनीका डोजर लगायत उपकरणलाई तयारी अवस्थामा राखेर पहिरो पन्छाउने र यातायात सञ्चालन गर्ने गरिएको बताए ।
म्याग्दीको रुप्सेबाट मुस्ताङको घाँसासम्मको खण्डमा धेरै पहिराको समस्या देखिएको उहाँको भनाइ छ । दुई वर्षअघिको बाढीले रुप्से र घाँसाको खहरेखोलामा निर्माणाधीन पुलको जगनै बगाएको थियो । बेगखोला र रुप्सेमा बाढी आउँदा सवारीसाधन आवतजावत गर्न सक्दैनन् ।
काठबेनीमा दिवङ्गत पितृलाई सोह्रश्राद्धमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजनको चाप बढ्न थालेको छ । यसैगरी मुस्ताङ भ्रमणको याम पनि सुरु भएको छ । सडकको समस्याले मुस्ताङमा उत्पादन भएको स्याउ र आलुलगायत कृषि उपज निकासीमा समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानलाई हराउन नेपालले १०५ रन बनाउनुपर्ने
-
पीएल सिंहलाई अन्तिम श्रद्धाञ्जली, तस्बिरहरू
-
अर्थ समितिको बैठक मंगलबार ११ बजे बस्ने
-
दक्षिण कोरियामा यूनविरुद्धको महाभियोगमा सुनवाइ सुरु
-
न्युजिल्यान्डविरुद्धको तेस्रो टेस्ट क्रिकेट : भ्रमणकारी टोली इङ्ल्यान्ड हारतर्फ उन्मुख
-
डीआईजी अर्जुन चन्द अवकाशमा, ३ डीआईजी पद रिक्त