बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अवैध रुपमा भारतबाट आउने केरा रोक्न नेपाली किसानको माग

शनिबार, ०१ असोज २०७९, २२ : ०९
शनिबार, ०१ असोज २०७९

खुला रुपमा भारतबाट नेपाल भित्रिने केरा रोक्न माग गर्दै पश्चिम नवलपरासीका केरा उत्पादक किसानले आन्दोलन सुरु गर्ने भएका छन् । राज्यले अवैध रुपमा आउने भारतीय केरा नरोक्दा नेपाली किसान धरासायी भएको भन्दै नवलपरासी केरा उत्पादन संघले आन्दोलन गर्ने बताएको हो ।

संघले भदौ ९ गते जिल्ला प्रशासन कार्यालय नवलपरासीमा १६ गतेसम्म समस्या समाधान गर्न अनुरोध गरेको भएपनि त्यसतर्फ कुनै सुनुवाई नभएको संघले जनाएको छ । त्यसपछि संघले कृषि तथा पशुपंक्षी मन्त्रालयमा समस्या समाधानका लागि आग्रह गरेकोमा मन्त्रालयले समेत कुनै वास्ता नगरेका कारण आन्दोलनको घोषणा गरेको हो । 

शनिवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष लख्खुप्रसाद यादवले आन्दोलनको पहिलो चरणमा केरा प्रभावित क्षेत्रका गाउँ विकास समितिहरुमा ताला लगाई हुलाकी राजमार्ग अवरुद्ध गर्ने र त्यसपछि पनि समस्या समाधान नभए पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी भारतीय केरा बोकेका गाडी नियन्त्रणमा लिने जस्ता कार्यक्रम रहेको बताए । पश्चिम नवलपरासीका प्रतापपुर, सुस्ता, सराबल लगायतका गाउँ विकास समितिमा विगत केही वर्षदेखि किसानहरुले उखुको विकल्पमा केरा खेती गर्दै आएका छन् ।  

पश्चिम नवलपरासीमा करिव १८ सय बिगाहमा केरा खेती हुँदै आएको छ । प्रतिदिन ८० देखि ९० गाडी केरा बिक्री हुने गरेको भएपनि सोही संख्यामा केरा खेतमा बाँकी रहने गरेको संघले जनाएको छ ।  भारतीय केरा प्रतिकोसा ८ रुपैयाँमा बिक्री हुने गरेको भएपनि नेपाली केरा ३ रुपैयाँमा पनि बिक्री नभएको यादवले बताए ।

समयमा केरा बिक्री नहुँदा बोटमा पाकेर झर्न थालेको छ । बोटमा पाकेर झर्न थालेपछि झन किसानको नोक्सानी बढ्न थाल्छ । राज्यले नेपाली किसानले उत्पादन गरेका वस्तुको बजारीकरण र बजार ब्यवस्थापन नगर्दा नेपाली किसान समस्यामा पर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप