आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

वर्तमान व्यवस्थाको विकल्प छैन : बागमती प्रदेश प्रमुख शर्मा

शनिबार, ०१ असोज २०७९, २१ : ४१
शनिबार, ०१ असोज २०७९

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले वर्तमान राजनीतिक व्यवस्थाको विकल्प नभएको बताएका छन् । बागमती प्रदेश सचिवालयले आयोजना गरेको बिदाइ एवं शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान व्यवस्थाको विकल्प नभएकाले सबै मिलेर यसलाई राम्रो र बलियो बनाउनुपर्ने बताए ।

प्रदेश प्रमुख शर्माले सङ्घीयता विरोधी कुराको कुनै औचित्य नरहेकाले उक्त कुरामा रुमलिन नहुने जानकारी दिए । उनले प्रदेश सरकारले छोटो समयमा धेरै उपलब्धि हासिल गरेकाले सफल भएको बताए । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले केन्द्र र स्थानीय सरकारको अभ्यास पुरानो भए पनि प्रदेश सरकारको अभ्यास नयाँ भएको र यसले नै सङ्घीयता कार्यान्वयन गर्ने बताए ।

उनले मन्त्रालय विस्तार गर्दा विषयगत कार्य गर्न सहज भएको र देखिने काम सुरु भएको बताए । प्रदेश सरकारको सिंहदरबार एकै स्थानमा राख्नका लागि हेटौँडामा ५५ बिघा जमिन प्राप्त गर्ने र भौतिक संरचना निर्माणकार्यको सुरु केही समयमा नै हुने जनाए ।

मुख्यमन्त्री पाण्डेले हेटौँडा अस्पतालमा केही समयभित्रै मिर्गौला प्रत्यारोपणजस्ता जटिल शल्यक्रिया सुरु गरिने जानकारी दिए । यसैगरी प्रदेश राजधानी र सङ्घीय राजधानी जोड्ने सडकखण्ड पनि निर्माणाधीन रहेको जनाए । पूर्व सरकारको राम्रा कामको निरन्तरता कायम राखेको र अनावश्यक योजना भने हटाइएको उनको भनाइ छ ।

कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले काम गरेन वा प्रदेश सरकार काम छैन भनेर निर्वाचनमा जान नैतिकताले नदिने बताए । उनले विविध कारणले लक्ष्यअनुरुप कार्य नभएको भए पनि उल्लेख्य कार्य गर्न प्रदेश सरकार सफल भएको धन्यवादसमेत दिए ।

उनले जनप्रतिनिधिलाई जनताले कति कानुन बनाउनुभयो भन्ने प्रश्न नगर्ने तर कति आयोजना बनाउनुभयो भन्ने प्रश्न गर्ने कारण पनि जनप्रतिनिधि कानुन बनाउनुभन्दा भौतिक निर्माणमा सांसदहरूको चासो रहने प्रस्ट्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप