बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सहज रूपमा चिनी उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीलाई चिठ्ठी

शनिबार, ०१ असोज २०७९, २० : २८
शनिबार, ०१ असोज २०७९

राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै सहज रूपमा चिनीको उपलब्ध गराउन अनुरोध गरेको छ । मञ्चले आज पत्र लेख्दै नेपाली बजारमा तस्करीको चिनी पर्याप्त मात्रामा आइरहेको र सो चिनी महँगो मूल्यमा बिक्री भइरहेको जनाएको हो ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार हाल नेपालमा आउने ६० प्रतिशत चिनी अवैध बाटो हुँदै आउँछ । भारत सरकारले चिनीको निर्यात बन्द गरेको हुँदा नेपाल आयात हुने चिनी अवैध मार्गबाट आउने मञ्चले जनाएको छ ।

सरकारले दसैँ, तिहार तथा छठ लक्षित सुपथ मूल्यका पसलहरू सञ्चालन गरे पनि उक्त बजारमा चिनीको उपलब्धता छैन । सरकारले प्रसस्त प्रयास गरे पनि मन्त्रालयहरू बिचमा समन्वय नहुँदा दसैँमा चिनी आउन नसकेको महर्जनको भनाइ छ ।

नेपाल सरकारको आपूर्ति मन्त्रालयले चाडबाडलाई लक्षित गरी सहुलियत दरमा चिनी उपलब्ध गराउनको लागी साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल खाद्य व्यापार कम्पनीलाई क्रमशः ३० र १० हजार मेट्रिक टन चिनी आपूर्ति गर्नको लागी छूट मूल्यमा आयात गर्न सिफारिस गरेकोमा अर्थ मन्त्रालयले बेवास्ता गर्दा अहिले बजारमा प्रति किलो ११० रुपैयाँमा किन्न उपभोक्ता बाध्य भएको छ ।

स्वदेशी उद्योगसँग मौज्दातमा ११ हजार मेट्रिक टन मात्र चिनी मौज्दात रहेको भनी रहँदा एकोहोरो रूपमा बजारमा चिनी पर्याप्त छ र भाउ बढ्नु पर्ने कुनै कारण छैन भनी अडान लिएर बजार भाउ बढाउने खेल अर्थ मन्त्रालयबाट भइरहेको छ। मञ्चले गरेको अध्ययनको क्रममा भारतले निर्यातमा प्रतिबन्ध लगाई सकेको चिनी आपूर्ति नेपालमा पर्याप्त आपूर्ति भई रहनुको कारण नेपालको दक्षिणी सीमावर्ती क्षेत्रबाट तस्कर भई आउने चिनीको परिमाण दैनिक ३०० मेट्रिक टनको हाराहारीमा रहेको पाइएको छ । 

वैद्य रूपमा चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्दै आएकोमा यसरी अवैध बाटोबाट आयात गर्दा सरकारलाई ठुलो परिमाणमा राजस्व गुमिरहेको बताइएको छ । यस विषयमा तत्काल नेपाल सरकारको ध्यानाकर्षण गर्दै आम नेपाली जनतालाई सहुलियत दरमा चिनी उपलब्ध गराउने वातावरण बनाई दिन हुनको लागी प्रधानमन्त्री देउवा समक्ष मञ्चले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप