सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

बधाई किन ?

शनिबार, ०१ असोज २०७९, १९ : १७
शनिबार, ०१ असोज २०७९

मेरो नाम सिफारिसमा परेकोमा 
तिमीले के पायौ र बधाई भन्यौ ? 
अँह केही पाएको छैनौ  
तिमीलाई दिन केही सकिन 
र, पनि बधाई मलाई किन ? 

तिम्रो योगदानलाई माटोमा मिलाएर
ख्वामितको चाकडी गरेको मात्र हुँ 
म पार्टीमा छानिएँ 
फेरि बधाई किन ? 

मलाई चुनाव जितेकोमा बधाई किन ?
मैले जित्दा तिमीले हारेका छौ 
कहिल्यै भनेनौ– जिम्मेवारी पुरा गर 
ममाथि साङ्लो लगाउनु पथ्र्यो नीतिको  
सिसिफसलाई जस्तै कठोर सजाय दिएर ।

म मन्त्री भएकोमा बधाई किन ?
यो जित हैन 
नीति जिम्मेवार भएको भए
मिटरब्याजी साहुहरू 
किन असनका साँढे बनेर 
ढलक ढलक ढल्किन्थे 

पार्टीमा मेरो पदोन्नति भयो
तिमीले गर्न नसकेको मैले के गरें ?
अनि बधाई किन ? 
मेरा कुकामहरू धेरै छन् 
तिम्रो गाउँमा डोजर चलाएर
पहिरोको खेती गरेको छु
गाउँमा तिमीले पढ्ने स्कुल बिगारेर
मेरी छोरी विदेश गएकोमा बधाई किन ?

म मन्त्री नेपालको 
छोराको दीक्षान्तमा विदेश गएकोमा बधाई किन ?
म मेरो देशको छहरालाई बिर्सेर 
पैसा खर्च गर्न थाइल्याण्ड गएकोमा बधाई किन ?
एकै ठाउँ दुई पटक 
शिलान्यास गरेकोमा बधाई किन ?
गाउँमा भैंसी गोठ सार्ने, 
बाटो बनाउन बजेट पारेकोमा बधाई रे 
आखिर मेरो काम के थियो ? 

मेरो पार्टी छाडेर 
तिम्रो पार्टीमा आएकोमा बधाई 
मलाई जन्मदिन मनाउन 
टोकियो पुगेकोमा बधाई 
एनिभर्सरी मनाएकोमा बधाई 
मन्दिर गएकोमा बधाई 
मोबाइल किनेकोमा बधाई 
म सुत्दा नि बधाई 
उठ्दा नि बधाई 
नियम मिच्दा पनि बधाई 
गुँड बनाउँदा पनि बधाई 
ट्राफिक नियम मिच्दा पनि बधाई 
मुद्दा दिंदा पनि बधाई 
मुद्दा जित्दा पनि बधाई 
यस्तै छ हजुर,
मैले तिमीलाई के गरें र मलाई बधाई ? 
फिल्म हेर्दाको फोटो राख्दा पनि बधाई 
ख्वामितको चाप्लुसी गर्दा पनि बधाई 
बधाई धेरै बरबरायो–
एक्काइसौं शताब्दीको दास प्रथामा 
हे गणतन्त्र, 
बधाईको खेती नगर
अधिकार र जिम्मेवारीको कुरा गर 
बरु, टुकुचालाई घामको मुख हेर्न देऊ ।
घामको मुख हेर्न देऊ ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप