सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

गोापलदास पत्रकारिता पुरस्कार थापा र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार विद्रोहीलाई

शनिबार, ०१ असोज २०७९, १८ : १२
शनिबार, ०१ असोज २०७९

यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अग्रज पत्रकार हरिबहादुर थापालाई प्रदान गरिने भएको छ । काउन्सिलले ५३ औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्ति र संस्थामध्ये थापालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  पुरस्कारको राशी एकलाख ५१ हजार रुपैयाँ रहेको छ । 

त्यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार माधव विद्रोहीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि एकलाख १० हजार रुपैयाँ रहेको छ ।  काउन्सिलले प्रदान गर्ने पुरस्कारमध्ये यी दुई ठूला पुरस्कारसहित विभिन्न विधाका पुरस्कारको निर्णय भदौ ३१ मा बसेको बैठकले गरेको हो ।

संसदीय मामला, प्रशासकीय संयन्त्र, जलविद्युत लगायतका क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार थापा कान्तिपुर दैनिकको पूर्व सम्पादक, अन्नपूर्ण पोष्ट दैनिकको पूर्व सम्पादक र हाल ई–कागज अनलाइनको प्रधान सम्पादक हुन् । उनी भ्रष्टाचारको शल्यक्रिया, विदेशी सहायताका विसङ्गति, दलीय द्वन्द्व, रजगज, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्रजस्ता पुस्तकका लेखक समेत हुन् ।  

 यसैगरी प्रेस काउन्सिल आचारसंहिता पुरस्कार अन्नपूर्ण दैनिक र वीरगंजको आवाज एफएमलाई प्रदान गरिने भएको छ । यसवर्षको प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार पत्रकारहरु सुरेन्द्र काफ्ले, दिलबहादुर छन्त्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारीले पाउनुहुने भएको छ । भाषागत पत्रकारिता पुरस्कार टेकराज थामी,  क्रियाशील पत्रकारिता पुरस्कार दामोदरप्रसाद दवाडी,  एकराज पाठक, मनोज जोशी, सुरेश धामी, विमल योगी (विनोद), श्यामनाथ कुँवर, भुपराज खड्का, पुस्कर बुढाथोकी, कृष्ण केसी, र नकुल अर्यालले पाउने भएका छन् ।  

त्यस्तै, युवा पत्रकारिता पुरस्कारबाट प्रदीप परियार, रविन्द्र काफ्ले, शम्भु दङ्गाल, हरिबोल आचार्य, जीवन लामा, टपेन्द्र कार्की, दशरथ घिमिरे,  केशर रोका, मकर श्रेष्ठ, खगेन्द्र भण्डारी, डिबी बुढा, राजेन्द्र धामी, महेश केसी र हिमा चेम्जोङ पुरस्कृत हुने भएका छन् ।

साहित्यिक पत्रकारिता पुरस्कार मायामितु न्यौपाने, महिला सशक्तीकरण पत्रकारिता पुरस्कार सञ्चिता घिमिरे, सरिताश्री ज्ञवाली, रमा केसी, र शारदा गैरेले पाउने भएका छन् ।  समावेशी पत्रकारिता पुरस्कार अजय गोर्खाली, प्रवीणकुमार शर्मा, हेमबहादुर (कमल) राना र सिराज खानलाई दिइने भएको छ ।

र,विधागत पत्रकारिता पुरस्कार विजयरत्न तुलाधर, आनन्द श्रेष्ठ, र जीवन पराजुलीलाई दिइने भएको छ । यसवर्ष प्रेस काउन्सिल नेपाल वर्ष कर्मचारी पुरस्कारबाट वितरण सम्परीक्ष अधिकृत रहमतुल्ला मिया र मिडिया अनुगमनकर्ता लोकराज भट्टलाई प्रदान गरिने भएको छ । यस्तै कर्मचारी प्रोत्साहन पुरस्कार मिडिया अनुगमनकर्ता सम्झना पौडेल र कार्यालय सहयोगी विष्णुप्रसाद न्यौपानेलाई दिइने भएको छ । यसवर्ष २० वर्ष सेवा अवधि पुरा गरेका हलुका सवारी चालक देवीबहादुर रानालाई दीर्घ सेवा पदकबाट सम्मानित गरिने भएको छ ।

यही असोज ६ गते काउन्सिलको ५३ औँ वार्षिकोत्सव समारोह सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप