शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

स्थानीय तहहरूलाई बजार अनुगमन गर्न आग्रह

शनिबार, ०१ असोज २०७९, १६ : ५७
शनिबार, ०१ असोज २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले स्थानीय तहहरूलाई बजार अनुगमन गर्न आग्रह गरेका छन् । शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाडवाड लक्षित सुपथ मूल्य पसलको उद्घाटन गर्दै मन्त्री बडूले दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरू आइरहेको र चाडपर्वको बेलामा बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि हुने भएकाले तिनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने बताएका हुन् । 

उनले मन्त्रालयले जनशक्ति बढाएर अनुगमन बढाइरहेको भए पनि मन्त्रालयको एकल प्रयास मात्र सम्भव नहुने बताए । उनले बजार अनुगमनका लागि प्रदेश र स्थानीय तहको अधिकार बढेको भए पनि ती तहहरूबाट अपेक्षित र प्रभावकारी रूपमा अनुगमन हुन नसकेको जिकिर गरे । उनले भने – ‘नेशनल ट्रेडिङ र खाद्य संस्थान एक ठाउँमा आइसकेपछि यसको सम्पत्ति धेरै बढेको छ । भौतिक सम्पत्ति धेरै बढेको छ तर त्यसको क्यास सम्पत्तिमा तपाइहरू रूपान्तरण गरेर त्यसको व्यापारिक लाभ लिन सक्ने योजना तयार गर्नुस् । सही अभिलेखीकरण हुन सकिरहेको अवस्था होइन भन्ने सुनिरहेको छु । यसलाई छिटोभन्दा छिटो अभिलेखीकरण गर्नुस् । र यो सम्पत्तिको सदुपयोग जनताको सेवामा, सस्तो सेवा दिन सकौँ । सस्तो सेवा धेरै ठुलो परिमाणमा दिन सकियो भने नाफा पनि कमाउनुहुन्छ । यसको परिमाण बढाउनुस् । अनुगमन पनि हुनुपर्ने अवस्था छ ।’     

मन्त्री बडूले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा बिक्री वितरण गर्ने खाद्यवस्तुको सङ्ख्या र सहुलियत बढाएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४१ जिल्लाका ४५ वटा शाखाहरूमा एकै पटक सुपथ मूल्य पसल उद्घाटन भएर सञ्चालनमा आएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप