मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक प्रमाणीकरण नभए गणतन्त्र नै धरापमा पर्ने यादवको चेतावनी

शनिबार, ०१ असोज २०७९, १६ : २९
शनिबार, ०१ असोज २०७९

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसद्ले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्ध विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन् । संघीय संसद्को दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयकले स्वतः ऐनको रूप लिने दाबी गर्दै उनले सो विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नु नमिल्ने तर्क समेत गरेका हुन् । 

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने चेतावनी समेत दिए । उनले भने, ‘कुनै पनि पार्लियामेन्टले दोहोर्‍याएर पारित गरेपछि त्यो स्वतः ऐनको रूपमा लिन्छ । यसले संसदीय मर्यादाकै खिल्ली उडेको छ । संसद्ले पारित गरिसकेपछि तिनलाई प्रमाणीकरणबाट रोक्न मिल्दैन । यदि त्यसो गर्ने हो भने संसद्ले पारित गर्दै जाने तर त्यो प्रमाणीकरण नहुने हो भने के हाल हुन्छ, लोकतन्त्रको, संघीय व्यवस्थाको ? त्यसकारणले म भन्छु–संघीय व्यवस्था, संसदीय लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्न गएको छ । धरापमा पर्न जाँदैछ । यसका संकेतहरु देखिएका छन् । यसप्रति सचेत रहन जरुरी छ ।’

अध्यक्ष यादवले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी समेत गर्नु भयो । मधेसी, आदिवासी, जनजातिलगायतका सबै समुदायको स्वामित्व हुने गरी संविधान संशोधन गर्ने काम गर्न प्रतिनिधिसभाले गर्न नसकेको उनको गुनासो थियो । अध्यक्ष यादवले भने, ‘आज पनि संविधान संशोधन गरेर संघीयता सम्बन्धी, प्रदेशका क्षेत्राधिकार र सीमाङ्कनलगायतका विषयमा छलफल गर्नुपर्ने, संशोधन गर्नुपर्ने, शासकीय स्वरुपका सम्बन्धमा बहस गर्नुपर्ने थियो । निर्वाचन प्रणालीका सम्बन्धमा बहस, छलफल भएर संशोधन गर्नुपर्ने थियो । त्यस्तै न्याय प्रणालीका सम्बन्धमा समावेशिताका सम्बन्धमा लगायतका विषयहरू संविधान संशोधन गरेर अगाडि बढ्नु पर्दथ्यो । तर, त्यसो हुन सकेन । यो दुर्भाग्यको कुरा हो । एउटै संसद् बरु उल्टै असंवैधानिक तरिकाले सम्मानित सर्वोच्च अदालतले समेत असंवैधानिक तरिकाले संसद् पटक पटक भंग गरिएको, एउटै सरकारले एउटै संसद्लाई पटकपटक भंग गरेको इतिहास नेपालमै कायम भयो ।’

अध्यक्ष यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरेर मुलुकमा प्रतिगामी कदम चालेको तर त्यसलाई सत्तारुढ पाँच दलको गठबन्धनले रोक्न सफल भएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप