बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई प्रचण्डको प्रश्न– ‘जे पनि बोल्दिने ?’

शनिबार, ०१ असोज २०७९, १४ : ५१
शनिबार, ०१ असोज २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेको प्रतिगमनको व्याख्याप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिगमनको व्याख्या गर्नुभयो, लोकतन्त्रको व्याख्या गर्नुभयो, मलाई आश्चर्य लाग्यो जसले जे भने पनि हुने रहेछ ।’

उनले भने, ‘संविधानसभाबाट संविधान घोषणा भएपछि देशमा राजनीतिक स्थायित्व हुनेछ र देश समृद्धितर्फ जानेछ अपेक्षा गरिएको थियो । तर, दुर्भाग्यवश त्यसो हुन सकेन । पाँच वर्षसम्म संसद् अविच्छिन्न सञ्चालन हुनेछ र संविधानले निर्देशित गरे अनुसार नै हामी स्थायित्व र समृद्धिको यात्रा जानेछौँ भन्ने सबैको अपेक्षा थियो । तर, तीन वर्ष पुग्दा नपुग्दै संविधानको भावना र मर्मअनुसार सरकार लाग्न सकेन ।’

ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिएको उनको आरोप थियो । ‘सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म त्यसलाई विघटन गर्न पाइँदैन भनेर हामी सबैले सचेत रूपमा व्यवस्था गरेको होइन ?,’ उनले प्रश्न गरे, ‘सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै संविधानको भावनाविपरीत सत्तारुढ दलको बैठक बस्दाबस्दै त्यसबारे चर्चा पनि नगरी हठात् प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन नभएर के हो ? उहाँले अहिलेको निर्वाचन पनि प्रतिगमन हो त ? भनेर प्रश्न गर्नुभयो । यो तुलना गर्नेको पनि हद हुन्छ । हामी यहाँ बस्ने केही नबुझ्ने भन्ने ठान्नुभएको हो कि नेपाली जनता भेडै छन् भन्ने ठान्नुभएको हो ? अहिले संविधानद्वारा निर्देशित भावअनुसार हामीले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संघ र प्रदेशको निर्वाचन गर्दैछौँ ।’

प्रचण्डले निर्वाचन घोषणा गर्ने कुरालाई आफूले प्रतिगमन नभनेको तर संविधान मिचेर हुँदै नभएको अधिकार प्रयोग गर्ने कुरालाई प्रतिगमन भनेको स्पष्ट पारे ।  ‘त्यतिबेला हामीसँग बहुमत थियो अत्यधिक थियो । पार्टीभित्र छलफल चलिरहेको थियो । तर एकाएक केले उत्प्रेरित गर्‍यो संसद् विघटन गर्न  ? प्रतिपक्ष दलको नेताले दिएको लजिक भनेको मलाई पार्टीभित्र काम गर्न दिइएन त्यसैले संसद् विघटन गरे भन्ने छ । तर पार्टीभित्र विवाद हुन्छ । पार्टीभित्र विवाद हल गर्ने आफ्नै मान्यता छ । पार्टीभित्रको विवादले यो सार्वभौम संस्थालाई प्रहार गर्ने अधिकार कसले दियो ? अनि भयो सरकारलाई परमादेश भन्ने अधिकार कहाँबाट प्राप्त भयो ?’

उनले गठबन्धन सरकारले संविधानको भावना र मर्मअनुसार नै स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको र प्रदेश र संघको निर्वाचन नै त्यसरी नै सम्पन्न गर्ने तयारीमा सरकार जुटेको जानकारी दिए । यस्ता बेला अन्य कुरामा चर्चा परिचर्चा गर्नेभन्दा पनि आउँदो निर्वाचनलाई स्वच्छ र धाँधलीरहित बनाउन र सफलतापूर्वक सम्पन्न गर्न दलहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप