बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ढुंगालाई पुज्ने तर मान्छेलाई लात हान्दै हिँड्ने संस्कार बदल्नुपर्छ : प्रचण्ड

शनिबार, ०१ असोज २०७९, १२ : ५७
शनिबार, ०१ असोज २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिएका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालयमा १० औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उचनिच बनाएर मानिसहरूलाई फुटाउनेतिर लैजाने बताए । उनले विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजाने उल्लेख गर्दै विज्ञानको बारेमा देशमा ठुलो बहस चलाउन आवश्यक रहेको बताए । 

उनले नेपालमा तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार रहेको उल्लेख गर्दै नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न नसकेको बताए । उनले भने, ‘विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजान्छ । अध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उचनिच बनाएर मानिसहरूलाई फुटाउनेतिर गएको छ । मैले अहिले यसमा डिबेट ठुलो गर्न लागेको होइन । हामीकहाँ त अब तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने संस्कार छ नि । मैले फेरि धर्मलाई नेगेटिभ भनेको होइन है । चुनावको बेला छ, प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन् त । तर विज्ञान, प्रविधि दिवस भएकाले मैले त्यसलाई अपमान नगरीकन भनेको हो । हामी घरैपिच्छे पूजा गर्दै हिँड्ने मान्छेलाई पूजा गरे, गरिबलाई पूजा गरे कति राम्रो हुन्थ्यो । यो डिबेट हाम्रो समाजमा नै राम्रो डिबेट गर्नुपर्ने विषय छ ।’

उनले थपे, ‘हामीलाई विद्वानहरुले पनि ज्ञान मर्दछ, हाँसेर, रोई विज्ञान मर्दछ भनेर सिकाइयो, बालकृष्ण समको त्यो सही होइन । ठूलै साहित्यकारले भनेपनि त्यो कुरा सही छैन । यो संस्कारले हाम्रो समाजमा विज्ञान प्रविधिको विकासलाई अवरोध गरेको छ । एक जमाना थियो, मानिसले बुझिसक्नु थिएन । प्रकृति के हो, किन चट्याङ किन पर्छ, भन्नेकुरा त्यतिबेलाका मान्छेलाई बुझिसक्नु थिएन । त्यसैले माथि कोही छ, सञ्चालक कोही छ, त्यसको करामत हो भन्दिएपछि त्यसलाई खुसी पारे बाढी, आगो, डढेलो लाग्दैन, महामारी रोगव्याधी आउँदैन भनेपछि एउटा बाच्ने आधार बनाए । विभिन्न तरिका अपनाए । त्यो अज्ञानतामा आधारित छ । थाहा नपाएर हो । त्यसले कुनै जमानामा मानिसलाई बचायो । विज्ञान प्रविधि आफैँ त कसैको पनि हुँदैन । सबैको हुन्छ , यसले विभेद गर्दैन । तर प्रयोग कर्ताले त्यसलाई दुरुपयोग र सदुपयोग दुवै गर्दछन् । भयानक दुरुपयोग पनि हुनसक्छ, भयानक सदुपयोग पनि हुनसक्छ । समाज र  राष्ट्रको समृद्धिको ठुलो माध्यम हुन्छ भन्ने पनि प्रमाणित छ र अझ भयानक विभेद पैदा गर्नको लागि दुरुपयोग पनि गर्न सक्छन् मान्छेले ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप