आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

नयाँ घरमा दसैँ मनाउन पाउँदा खुसी छन्, ‘विपन्न समुदाय’

शनिबार, ०१ असोज २०७९, ०८ : ५७
शनिबार, ०१ असोज २०७९

नयाँ घर बनेपछि खुसीले गद्‌गद् छन्, तनहुँ भानु नगरपालिका–४ का गोरे नेपाली । छाप्रोमा बस्दाको समयमा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डरबाट अब  नेपाली मुक्त भएका छन्।

‘जनता आवास कार्यक्रम’ अन्तर्गत गण्डकी प्रदेश सरकारले दुई कोठे पक्की घर बनाइ दिएपछि उनको डर र चिन्ता हटेको हो । विगत लामो समयदेखि कच्ची र जोखिम घरमा बस्न बाध्य भएका यहाँका विपन्न समुदायका व्यक्तिको ढिलै भए पनि अनुहारमा खुसी छाएको छ । इँटाको गारो रङ्गीन जस्तापाताले छाएको सुरक्षित घरमा यसपालिको दसैँ मनाउन पाउँदा खुसी लागेको नेपाली बताउछन्  । नयाँ घरमा बस्ने सपना सपना पूरा भएको उनको भनाइ छ । 

जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ४६ सुरक्षित घर बनाएपछि गरिब तथा विपन्न घरपरिवारमा खुसी छाएको छ । वर्षौंदेखि छाप्रोमा बस्दै आएका घर परिवार नयाँ घर पाउँदा विपन्न समुदायका मानिस निकै खुसी छन् । जिल्लाका १० वटै पालिकामा विपन्न समुदायका लागि घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर तथा जनता आवास कार्यक्रमका संयोजक हिमाल आचार्य बताउछन् । घर निर्माणपछि दुई सय ११ नयाँ घरमा सरिसकेका छन् भने ७१ जना दसैँसम्ममा सर्ने तयारीमा रहेको उक्त कार्यालयलले जनाएको छ ।  

आव २०७५÷७६ मा जनता आवास कार्यक्रम हस्तान्तरण गरिएपछि उक्त कार्यालयमार्फत घर निर्माण कार्य सुरु गरिएको हो । जिल्लाको देवघाट गाउपालिका–५ की सन्तमाया बोटे पनि नयाँ घरमा दसैँ मनाउन पाउने भएपछि खुसी लागेको बताए  । घर पाउँदा वर्षायाममा ढुक्कले बस्न पाएपछि छाप्रोमा बस्दा खेप्नुपरेको पीडा अन्त्य भएको उनको भनाइ छ। निर्माण गरिएका घरमध्ये दुई सय ११ ले पूरै किस्ता लगेका र ७५ ले अन्तिम किस्ता लैजान बाँकी रहेको कार्यालयका सूचना अधिकारी इञ्जिनियर धनमाया मिश्र जानकारी दिन्छन्।

रु नौ करोड पाँच लाख ९५ हजार बजेट विनियोजन भएकामा  आवास निर्माणका लागि घरको डिजाइनसहित प्रदेश सरकारले रु तीन लाख ३२ हजार पाँच सय उपलब्ध गराएको थियो । सम्बन्धित लाभग्राहीले १० प्रतिशत लागत सहभागिता जनाउनुपर्ने प्रावधान थियो । पालिकामार्फत भवन निर्माण गर्दा लाभग्राहीलाई सम्झौता गर्न, रकम भुक्तानी लिन तथा अनुगमन गर्न सजिलो भएको कार्यालय प्रमुख सिनियर इञ्जिनियर दिनेशकुमार घिमिरे बताउछन् । 

जग्गा जमिन भएका तर घर बनाउने रकम नभएका गरिब, दलित तथा लोपोन्मुख परिवारलाई उक्त कार्यक्रममा समावेश गरी निःशुल्क घर निर्माण गरिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप