बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

हुनेवाली श्रीमतीलाई पत्र

शनिबार, ०१ असोज २०७९, ०६ : ४५
शनिबार, ०१ असोज २०७९

प्रिय हुनेवाला श्रीमती,

मानिस जन्मेदेखि नै सम्बन्धका जालोहरूले बाँधिने कुरा तिमीलाई अवगतै होला । उमेरसँगै क्रमशः सम्बन्धहरू पनि वर्षा यामको च्याउझैँ बढ्दै जान्छन् । ती मध्ये कतिपय सम्बन्ध त पूर्वनिर्धारित नै हुन्छन् । जस्तै बुबाआमा, काका काकी, मामा माइजु, दाजु बैनी आदि । 

तर जीवनको सबैभन्दा ठुलो सम्बन्ध जोसँग पुरै जीवन बिताउनुपर्ने हो, जोसित हरेक दुःख सुख साट्नुपर्ने हो । त्यो मान्छे को कुनै अत्तोपत्तो हुँदैन । न भूगोलमा यकिन गर्न सक्छु, न गुगलमा । त्यो मान्छे अरू कोही नभएर तिमी हो तिमी । एक मिस्ट्री हौ तिमी ।

थाहा छैन, तिमी कहिल्यै भेटिएको छौ कि नाई मसँग । ब्ल्याक ब्युटी छौ कि ह्वाइट ब्युटी ? माइक्रोमा चढ्दा शीर निहुराउन पर्छ कि मजाले अट्छ ? खाइलाग्दो ज्यान छ कि स्लिम छौ ? घण्टाको सुईले फन्को नमार्दै पुग्ने ठाउँमा छौ कि अन्य जिल्ला वा प्रदेशमै छौ ?

अं साँच्ची, अहिले चैँ के गर्दै छौ तिमी ? कतै यही लेख पो पढ्दै छौ कि ? या कतै आफ्नै दुनियाँमा रम्दैछौ ? मलाई थाहा छैन र हुने पनि कुरा भएन । यी मनमा खेल्ने सतही विचार हुन् । र, माथिका प्रश्नहरूको उत्तरले खासै अर्थ पनि राख्दैन । अर्थ राख्छ त केवल तिम्रो स्वभावले । तिम्रो हृदयको भाव, जसले दुई मिटर परैबाट मेरो प्रेमको आभा महसुस गर्न सकोस्, मलाई बुझ्न सकोस् ।

प्रिय, सबैभन्दा महत्वपूर्ण कुरा तिमी आफूजस्तै बन्नु । अरूलाई असर नपारिकन खुसी हुनु । यसो गर्यो भने तिम्रो विवाह पछिको जीवन पिँजडाको चरीजस्तो हैन, आकाशमा स्वतन्त्र उडिरहेको चरीजस्तो हुनेछ । थाहा छ, जब तिमी खुसी हुनेछौ, एक असल श्रीमती, जिम्मेवार आमा र उदाहरणीय छोरी हुनेछौ ।

तिम्रा आफ्नै ईच्छा आंकाक्षा होलान् । मस्तिष्कमा समाजले बनाइदिएको चित्र होला, एउटा श्रीमान्को । चिन्ता पो लाग्छ होला कस्तो पर्ला भनेर । विचार फरक होलान्, केही फरक पर्दैन, मन मिले पुगिहाल्छ । 

मलाई थाहा छ त्यो इन्टलेक्ट भन्दा, त्यो मस्तिष्क भन्दा भावना धेरै शक्तिशाली छ । हेर, संसारमा सर्वगुण सम्पन्न कोही छैन । परिस्थिति र परिवेशअनुसार हरेक मान्छे राम्रो र नराम्रो दुइटै छ । त्यसैले कहिलेकाहीं गल्ती हुँदा एक अर्कालाई सम्झाई बुझाई गरौंला । गल्ती नगर्नु ठुलो गल्ती हो । यो भन्दा पनि ठुलो गल्ती हो, गल्ती दोहोर्‍याउनु । त्यसैले, गल्ती होलान्, फेरि नगरौँला । ठाकठुक होला सानातिना तर सबै परालको आगो जस्तो बनाऔंला ।

अनि तिमी आधुनिक छौ या परम्परागत ? दुवैका सकारात्मक र नकारात्मक पक्ष होलान् । तिमी यी दुवैको मध्यम बिन्दु बन्नु । समय परिस्थितिअनुसार सोच आधुनिक चैँ बनाउनु । आधुनिक मतलब पश्चिमाहरूको संस्कृति अंगाल्नु भनेको हैन है । छोटो कपडा लगाएर हिँड्नु पर्छ भनेको हैन नि । मैले भन्न खोजेको समाजका रूढिवादी प्रवृत्ति र अन्धविश्वासलाई न अंगाल्नु भनेको हो ।

आधुनिक भनेको शनिबार डिस्को, बार जाउँला भनेको हैन, मेडिटेसन हलतिर जाऔंला भनेको हो । अचेल बिहे गर्दा चलिरहेका नानाभाँती देखावटीमा आधारित नभई आवश्यकताअनुसार मनाऔंला । फजुल खर्च गरेर हैन, बरू सन्तानको भविष्यको निम्ति डिम्याट खोलेर पोर्टफोलियो बनाऔंला । ताकि पछि गएर ‘फाइनान्सियल फ्रिडम’ प्राप्त गर्न सकियोस् र पैसालाई लिएर कहिल्यै किचलो नहोस्, हाम्रो परिवारमा ।

यो जमानामा नपढेको को पो छ र ? तिमीले नि धेरै पढ्यौ हौला । तिम्रो नि सपना होलान्, जसको तिलाञ्जली दिएर घरको गृहिणी मात्र बन्न तिम्रो श्रीमान्ले बाध्य पार्ने छैन । म मात्रै बाहिरको काम गर्छु, श्रीमतीले घरकै काम मात्र गर्नुपर्छ भन्दैन । यसो गर्दा तिमीले पैसा मात्र कमाउने हैन, स्वाभिमान र आत्मसम्मान पनि कमाउने छौ । म पनि तिमीलाई घरको काममा सघाएर अझै माया र अपनत्व कमाउने छु । 

र, म भन्न चाहन्छु, पुरुषवाद भरिएको समाजमा अपवाद बन्ने छ हाम्रो परिवार । बुबाको पुरूषवाददेखि नै आजित भएर निराशाका बादल छोएको आमाको अनुहार देख्दा नै लागेको थियो, मेरो सन्तानले यस्तो कहिल्यै अनुभव गर्न नपरोस् । 

त्यसैले परिवर्तन म आफैबाट गर्नेछु । खाना पकाउँदा, घर सफा गर्दा, भाँडा माझ्दा, तरकारी किन्न जान पर्दा होस् या अन्य घरका सामान्य काम गर्दा हाम्रा छोराछोरीले बुबाआमा दुबै खोज्नेछन् । 

उही तिम्रो जीवनसाथी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप