सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कथा : कामरेड शरणको शालीन कला

शनिबार, ०१ असोज २०७९, ०६ : ३७
शनिबार, ०१ असोज २०७९

                                                                       पुण्य कार्की   

आज शरण कामरेडको आलिसान बङ्गला देखेर चित खाएँ । काठमाडौँको छातीमा अति वैभवको जीवन बाँचेका रहेछन् उनी । आफू त बनको चरी बनमै रमाउँछ भनेझैँ गाउँमै रमेर बसियो । काठमाडौँ पनि विरलै आएको छु । गोडा पचासेक उमेर भयो अहिले । यस उमेरसम्म आइपुग्दा जम्माजम्मी दुईचोटि यस खाल्टोमा पाइला राखेको छु । 

पहिलो चोटि आफू पन्ध्र सोह्र वर्ष उमेर हुँदा काठमाडौँ आएको थिएँ । त्यतिखेर मेरो बुबा गाउँको नामुद खसी खरिते हुनुहुन्थ्यो । हरेक सालको दसैँमा असी नब्बे ओटा खसीको झुण्ड धपाएर हिँडेरै बाह्र पन्ध्र दिनमा काठमाडौँ आइपुग्नु हुन्थ्यो । दसैँको फूलपातीदेखि अष्टमी नवमी दिनसम्म खसी बेचेर रात साँझ गरेर टीकाको दिन वा त्यसको भोलिपल्ट पर्सिपल्टसम्म गाउँ फर्किनु हुन्थ्यो ।

त्यो साल खसीको बगाल अलिक ठूलै पनि थियो । फेरि कोशी पारीका जखमले खसी धेरै संख्यामा बटुल्नु भएको थियो । खसीको रेखदेख र एक्लै अँइच्याउन अप्ठयारो भयो क्यार !

“हिँड् केटा तँ पनि नेपाल ! खसी धपाउन !” बुबाले यसो भनेपछि म फुरफुर भैहालेँ । 

   त्यो बेलासम्म गाउँका धेरै मान्छेले काठमाडौँलाई काठमाडौँ नभनेर नेपाल भनी पुकार्थे । खकनवाला धोक्रे झोलामा बाटामा पकाइखान सामल तुमल नुन भुटुन खाजाका पोका पन्तुराको मरिकुच्चे भारी बोकेर बाटो लागेका थियौँ । सुनकोशी किनारै किनार सात आठ दिन हिँड्यौ होला । त्यसपछि रोशी खोला, दाप्चा हुँदै धुलिखेल निकालेका थियौँ खसी । 

  फूलपातीको साँझसम्म खसी बेची सकेर त्यसै दिन नाइट गाडी चढेर हामी घर फर्क्यौँ । बसबाट उत्रेर दुई दिनको पहाडी बाटो छिचोलेर दशमीको दिन बिहानै गाउँ आइपुग्यौ । त्यो बेलाको काठमाडौँ सहर घुम्ने सपना त सपनामै सीमित रह्यो । किनभने घुम्ने फुर्सतै रहेन । सबैतिर झ्याप्प दसैँले छोपिसकेको थियो । कतिखेर खसी बिक्री भैसक्छन् र घर कुद्नुको हतारोमा हुनुहुन्थ्यो बुबा । 

    मलाई झिनो सम्झना छ, साँझ खस्ने बेलामा हामी बसपार्क पुगेका थियौँ । पूर्व आउने सबै गाडी छुटिसकेका थिए । संयोगवश एउटा गाडी टायर मर्मत गर्नुपर्ने कारणले बाँकी रहेछ । भित्र सीटको त कुनै गुन्जाइस थिएन । बीच भागको मान्छे ओहोर दोहोर गर्ने ठाउँमा पनि मुडा राखेर प्याकम् प्याक भैसकेको थियो ।

कन्टेक्टरले भन्यो, “हुडमा जाने भा ठाउँ खाली छ ।”

बुबाले भन्नुभयो,“अब हुटमै भएपनि त जानुपर्यो ।”

यसरी जीवनमा पहिलोचोटि मैले गाडी चढेको थिएँ । त्यसमा पनि खुल्ला हुटमा । पहिले त कम्ती डर लागेन । तर, बुबाले मलाई रातभरि नै आफ्नो काखमा सुताउनु भयो । अलिकति पनि दायाँबायाँ हुन दिनुभएन । बुबा त त्यो रात सुत्नु भएन नै, म चाहिँ उहाँको काखमा निदाएछु । 

      +++++                       

ठेलमठेल मानिसको बगुन्द्र हुल र गुजुमुज्ज घरको एउटा कुरूप जंगल; त्यो बेला देखेको काठमाडौँको धमिलो चित्रमात्र बाँकी छ, स्मृतिको फलकमा । त्यसपछि काठमाडौँ आइराख्ने खासै काम पनि परेन भन्दा हुन्छ । एउटा न एउटा  काम र उद्देश्यले आइने हो । 

मेरो जीवन सपाट रूपमा गाउँघरमै सीमित रहेर बित्यो । आफ्नै खेतीपाती, वनपात र गाउँकै सुखदुःखमा सहभागी भएर यो उमेर सम्मका हिउँद, वर्खा गुजारियो । 

गाउँमा पाँच कक्षा भन्दा माथिको स्कुल थिएन । चिठी लेखपढ गर्न र अंक दुनाईको सामान्य हिसाब किताब जानेपछि पर्याप्त पढेको ठानिन्थ्यो । शिक्षाको महत्त्व पनि थाहा थिएन । विकट पहाडी गाउँमा शिक्षा आर्जनको उचित व्यवस्था पनि थिएन । त्यसैले होला, धेरै ठूलो सपना पनि देखिएन । ससाना सपनामै रमाएर बसियो । 

छयालीस सालमा बहुदलीय व्यवस्था आएपछि भने गाउँघरको राजनीतिमा थोरबहुत सक्रिय बनेँ । धेरै मान्छेहरू कि त काँग्रेस पार्टीमा, कि त कम्युनिष्ट पार्टीमा संगठित भए । त्यतिखेरै हो शरण कामरेड पहिलोचोटि हाम्रो गाउँमा झुल्किएका ।

 शरण कामरेडलाई लिएर आउने मान्छेले उनको बारेमा एक किम्वदन्तीको पात्रको रूपमा हामी माझ चित्रण गरेका थिए । मानौं उनी यो समाजको अन्याय अत्याचार रूढिवादलाई अन्त्य गर्न झुल्केका देवदूततुल्य मानिस हुन् । उनका अनेकन् चमात्कारिक किस्साले विमोहित भएर म त्यस वामपार्टीमा संगठित भएको थिएँ ।

मलाई गाउँका ठूलाबडाले दीनहीन गरीब उपर गरेको शोषण उत्पीडनप्रति गहिरो घृणा थियो । कम्तीमा समाज शोषणबाट मुक्त भयो भने गरीबले पनि शान्तिको सास फेर्न पाउँछन् । आखिर खान लाउन त काम गर्नैपर्छ ।

कुनैपनि राजनीतिले व्यवस्थाले बसी बसी खान दिने होइन । मानिसले मानिस उपर गर्ने अन्याय अत्याचार र विभेद चाहिँ हट्नैपर्छ । यो मेरो हृदयको आवाज थियो । आफू विधिवत वामपन्थी नुहँदै यो धुन घरी घरी मनमा गुन्जिरहन्थ्यो ।

जव शरण कामरेडको सत्सङ्ग हुन थाल्यो । जव उनको सान्निध्यमा घनिभूत रूपमा जोडिएँ । त्यसपछि धेरै अक्कलका तालाहरु खुल्दै गए । केही चिज पढेर, केही देखेर, सुनेर, केही चिज व्यवहारको पाठशालामा पसेर थाहा पाइयो । सुरु चरणमा म आफ्नो टोलको कार्यकर्ता बनें । समयक्रममा मेरो पदोन्नति भयो या विकास भयो । म ईलाकास्तरीय कार्यकर्ता बनें । त्यो पनि तत्कालीन जल्दोबल्दो वामपार्टीको ।

कामरेड शरणहरुले मभित्र एक सपना भरिदिएका थिए । मेरो सरल चित्तमा एक आकाँक्षाको बीज उमारिदिएका थिए । त्यही सपना पुरा गर्ने आवेगमा म आँधी भएर लागिरहेको थिएँ । म निष्पाप मनले लागेको थिएँ । कुनै छलकपटपनि थिएन । कुनै वैयक्तिक स्वार्थको निहित दाउ पनि थिएन ।

फेरि शरण कामरेड आफैँ सादगीपनका जिउँदो उदाहरण थिए । उनको सरलता र विनम्रताले म मात्र होइन, हजारौँ कार्यकर्ताको मन जितेको थियो । बोली र व्यवहारमा मिठास र रसिलोपन मात्र थिएन । स्वभावमा मिजासिलोपन थियो । जसले आम कार्यकर्ताहरू उनीसित विमोहित बन्थे ।

हाम्रो गाउँ रहेको क्षेत्रबाट उनले दुईचोटी संसदीय चुनाव जिते । उनले जनसाधारणको लवाइ खुवाइलाई कहिल्यै छोडेनन् । जिल्ला आउँदा, गाउँ डुल्दा कहिल्यै भड्किलो पोशाक लाएनन् । अरुबेला पनि सामान्य खादी खाँडी कपडाका कमेज सुरुवालमा गाउँ पस्थे । अझ चुनावको बेला त कतै न कतै फाटेका, उध्रिएका अलिकति भएपनि च्यातिएका लुगा लगाएर भोट मागिहिँड्थे । हामी उनका सहयोगी कार्यकर्ताको रूपमा अगिपछि रहन्थ्यौँ ।

अर्काे पार्टीले चुनाव जित्न आफ्नो कार्यकर्ता समर्थकहरूको लागि कहीँ भाले काट्ने, कहीँ खसी या पठ्याक्री ढाल्ने, कहीँ राँगा, सुँगर काट्ने काम गर्थे । मासु रक्सी चिउराको वालछ्याल बनाउँथे । तर, शरण कामरेडले चुनाव जित्न कहिल्यै फुजुल खर्च गर्नुपरेन । आफ्ना कार्यकर्ताहरू पनि कतिसम्म त्यागी भने कहिल्यै पनि मासुभातको माग गरेनन् । 

उनीहरु भुटेका मकै खाएर खटे । मकैको फ्याप्लो र च्याङ्ला खाएर अभियानमा हिँडे । उनीपनि कहिल्यै मीठो मसिनो नखोज्ने, जनताले दिएको ढिडोँ रोटोमै रमाउने । चुनावी भाषणमा उनी फजुल खर्च गर्ने विरोधी पार्टीको धज्जी उडाइदिन्थे । अझैपनि शोषक सामन्तहरु गरीबका भोटलाई रक्सी र मासुमा किन्न खोजिरहेका छन् भनी कटाक्ष गर्थे ।

कामरेड शरणले महँगो कपडा लाएको कहिल्यै देखिएन । झुत्रे झामे्र भेषमै जनसाधारण बीच घुलमिल भइरहे । जसले गर्दा आम शोषित, पीडित, दलित र विपन्न जनसमुदायले हाम्रो मुक्तिका असली अभियन्ता यिनै रहेछन् भन्ने ठाने । हाम्रो वर्गलाई हित गर्ने योद्धा यिनै हुन् भन्ने सोचे ।

जब जब गाउँ आए खाडी र खद्दरमै आए । अर्धानु कमेज सुरुवात लाउनु, फित्ता गाँसेका चप्पल टेक्नु एउटा फ्याङ्ले झोला दोकाँधे बनाइ भिर्नु यिनको सनातनी विशेषता थियो । यही पहिरन र सादगीपनले जनमनमा अपार श्रद्धाको फूल फुल्यो । उनको सरल जीवनले पार्टी कार्यकर्ताको आँखाको पुतली बने ।

      +++++                           

यो पालिको काठमाडौँ यात्रामा जब उनको गगनचुम्बी महल देखेँ । महलमुनि मर्सिडिजको ग्यारेज देखेँ । काठमाडौँमा त उनी के खद्दरका कमेज सुरुवाल लाउँथे । टाइ सुटमा सजिएर जिउमा खुस्बू उडाउँदै कारमा हुँइकिदाँ रहेछन् । गाउँ जाँदा लाउने थोत्रे मैला एकजोर कपडा त पोको पारेर झोलामा थन्क्याउँदा रहेछन् । 

ओहो ! आज धेरै वर्षपछि मन मथिङ्गलमा टाँगिएको भ्रमको पर्दा हट्यो । मान्छे उनी कहाँ साधारण गरीब रहेछन् र ? उनी त भित्रभित्रै अर्कै वर्गमा यो फड्को हानिसकेका रहेछन् । ती लुगा, ती चट्टी र त्यो झोला त देखाउन प्रयोग गरिएका वस्तु न रहेछन् । रूपमा एक थोक देखाएपनि सारतत्व अर्कै अर्कै रहेछ ।

ठूलै छाङ्गाबाट गिरे सरह भएँ । तर, मलाई लाग्यो हामी जस्ता बकम्फुसे भाट कार्यकर्ताको नियति नै यही हो । अहिले त म आफूलाई हनुमान छाप कार्यकर्ता भन्न थालेको छु । विवेक र आलोचनात्मक चेत गुमाएपछि कार्यकर्ता नेतागणको अमुक दास बन्छ । नजानेर दास हुनु एउटा कुरा हो । तर, जानी जानी लाचारीवश दास बन्नु एक कायरता सम्झेको छु मैले ।

माथिका नेताको ढाेंगी व्यवहार चिन्न सकिएन भने, उनीहरूका पाखण्डी व्यवहार पर्गेल्न सकिएन भने हामीले युग युग दुःख पाइरहने छौँ । नयाँ दासको रूपमा यति सुन्दर जीवन बुत्याउने छौँ । यो मेरो आजको निष्कर्ष हो ।

जनता र कार्यकर्तालाई एक सरल सादगी जीवनको नाटक देखाउँदै भित्रभित्रै अकुत वैभव रच्ने शरणहरू कति होलान् मेरो राजनीतिक आकाशमा ? यस प्रश्नले मलाई फनफनी घुमाइरहेको छ । हामी उपर कहिलेसम्म यस्तो छलकारी व्यवहार चलिराख्छ होला ? यिनका आडम्वर र धूर्त शैलीले कहिलेसम्म डङ्क मारिराख्छ होला ? यिनै प्रश्नहरुले निरन्तर म बिथोलिएको छु म ।

   +++++                        

काठमाडौंबाट फर्केपछि महिनौँ मेरो मन एक खिन्नतामा डुबिरह्यो । विषाद निराशामा तड्पिरहँे । मैले कठोर संकल्प गरें, अब कुनै पाखण्डीको तमासे दास बन्न केही जरुरी छैन । कसैले देखाएको तमासा बुझेर पनि घोर तमिस्रामा भड्किराख्नु अर्काे खालको हुतिहारापन हो । 

अझ पनि शरण कामरेडले मेरो वर्गको मुक्ति ल्याउँछन् भनी सोच्नु त्यहाँ भन्दा ठूलो भ्रम केही हुँदैन । क्रान्ति र आमूल परिवर्तनको स्वाङ गर्नु त उनको एक शालीन कला हो । यसै ढर्रामा बगिरहने कि यसबाट मुक्त हुने ? पेचिलो सवालले जवाफ खोजिरहेको छ ।

 तर, एक विकल्पमा जानैपर्छ मैले । अन्ततः म ढाेंगी कामरेडको कार्यकर्ताबाट मुक्त रहने संकल्प गरें । 

आफूभित्र मन्थन चलिराखेको वखत पार्टीका जिल्ला सचिवले मिटिङमा आउन खवर पठाए । जवाफमा मैले एक वाक्यमात्र लेखी पठाएँ–“माफ गर्नुस्, अब म पार्टीमा छैन कामरेड !”

हाइलाइटः

जनता र कार्यकर्तालाई एक सरल सादगी जीवनको नाटक देखाउँदै भित्रभित्रै अकुत वैभव रच्ने शरणहरू कति होलान् मेरो राजनीतिक आकाशमा ? यस प्रश्नले मलाई फनफनी घुमाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप